भकुण्डो हुँ थोत्रो टुट–फुट भा’को नचलने
कुनामा फ्याँकेको म भुससरि कैल्यै नफलने ।
कसैले कैल्यै छैन नजर नि ला’को मन पनि
सबै गाली दिन्छन् हरबखत रद्दी र’छ भनी ।१।
जवानै हुँदा ती सब जन त माया गरदथे
उफारी बेस्मारी मकन कति हावा भरदथे ।
सिकाएँ खेलाडी बनन–नव आफै म रगडी
जिताएँ खेल् सारा हरतरह तोडी गडबडी ।२।
फुटाले खेलेरै सय पटक बिर्से जब गए
नचिन्ने अर्काको गुनजस नि मूर्खैसरि भए ।
थिए रङ्गैशाला–भरि विगत मेरा दरशकै
नआएरै ऐले नजिक पनि जान्छन् भरसकै ।३।
नफाटी जर्सी, खेल् रङकलर फेर्यौ मनपरी
न भो लेखाजोखा नत कदर मेरो तनभरि ।
कतै गोडा कैले कर अनि त खेल्यौ खुस भई
नजानू बिन्ती यो हजुरकन कैल्यै भुस भई ।४।
सधैँ धर्मै लाग्ला नबिरसनु, बिर्सेपछि खती
पिए ह्विस्की ताने ककड अनि बिग्रिन्छ नि मती ।
म आफै टालूँला नि तनमन फाटो बरु तुनी
फिरोस् बुद्धि छिट्टै हजुर अब मेरो बह सुनी ।५।
(शिखरिणी छन्द : छैठौँ र एघारौँ अक्षरमा विश्राम)