एकै वर्ष करीब दुई करोडको खसीबोका बिक्री


सेतोखरी सेतोखरी   आइतबार, भदौ २३, २०८१
एकै वर्ष करीब दुई करोडको खसीबोका बिक्री

आफूले पालेका खसीबाख्राको विक्री गर्दै राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ टेपरीका किसान ।

नेपालगन्ज २३ भदौ : बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेको एक महिला सहकारीले एकै वर्षमा करीब दुई करोडको खसीबोका बिक्री गरेको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०-०८१ मा एक करोड ८१ लाख बढीको खसीबोका बिक्री गरेर आर्थिक कारोबार गरेको हो ।

गत आर्थिक वर्ष २०८०-०८१ मा एक करोड ८१ लाख ३ हजार ८०९ रुपैयाँ बराबरको खसीबोका बिक्रीवितरण भएको उक्त महिला सहकारी संस्थाका प्रबन्धक दिव्या गुरुङले बताईन ।

उनका अनुसार सो आर्थिक वर्षमा ३१ हजार ७१० किलोग्राम तौल बराबरका एक हजार १७ वटा खसीबोका बिक्री भएका थिए । जुन बिक्रीबाट एक करोड ८१ लाख ३ हजार ८०९ रुपैयाँ बराबरको आर्थिक कारोबार भएको हो । सोही आर्थिक वर्षमा एक हजार ३० किलोग्राम बराबरका ७३ वटा ब्याड बाख्रा पनि बिक्री भएको थियो । जसबाट तीन लाख ५५ हजार ३५० रुपैयाँ आम्दानी भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसैगरी आर्थिक वर्ष २०७९–०८० मा २५ हजार ३४० किलोग्राम बराबरका ९ सय २ वटा खसीबोक्रा बिक्री भएकोमा उक्त वर्ष खसीबोका बिक्रीबाट एक करोड ३० लाख ७५ हजार ७०८ रुपैयाँको कारोबार भएको थियो ।

उक्त सहकारीमा ५९ वटा समूह छन् । ती समूहका किसानहरुबाट खसीबोका तथा बाख्रा खरिद गरिदै आएकोछ । भने ऋणसमेत उपलब्ध गराइन्छ ।

चाडबाडका बेला खसीबोकाको माग बढी हुने र सोही समयमा नै वर्षभरीको कारोबार हुने गरेको प्रबन्ध गुरुङले बताइन् । हाल सहकारी आबद्ध किसानसँग ५ सय २५ रुपैयाँ प्रतिकिलोका दरले खसीबोका खरिद गर्ने र १० देखि १५ रुपैयाँ प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरिएकोछ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका –६ टेपरी लगायतको क्षेत्र खसीबाख्रा पालनको पकेट क्षेत्रका रुपमा रहदै आएकोछ । सो क्षेत्रमा ब्यापारी र उपभोक्ता स्वयम किसानकै घर पुगेर खसीबाख्राको खरिद गर्ने गरेकाछन् ।