स्तरउन्नतिका नाममा जुँगे महादेवलाई ‘बन्धक’

उपमहानगरपालिका र ठेकेदार ग्रेटर नेपाल कन्सट्रक्सनको चरम लापरबाही


सेतोखरी सेतोखरी   आइतबार, भदौ २३, २०८१
स्तरउन्नतिका नाममा जुँगे महादेवलाई ‘बन्धक’

नेपालगन्ज २३ भदौ : पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा रहेको ऐतिहासिक जुँगे महादेव मन्दिर र पुलको स्तरउन्नतीको नाममा जुँगे महादेवलाई ‘बन्धक’ बनाइएकोछ ।

नेपालगन्ज उपमहानगरपालिकाले ठोस योजनाबिनै पुरानो संरचना भत्काएर मन्दिर र पुलको स्तरउन्नतीको नाममा जुँगे महादेवको मुर्तीलाई ‘बन्धक’ बनाएर काम थालेको भए पनि लामो समय बितिसक्दा समेत काम अघि बढ्न सकेको छैन ।

यसले गर्दा स्थानीय बासिन्दा र धार्मिक अगुवाहरु आक्रोशित भएका छन् । उनीहरुले उपमहानगरपालिकालाई मन्दिरको ‘अपमान’ गरेको आरोप लगाएका छन् ।

सम्भवतः विश्वमै एकमात्र नेपालगन्जको बागेश्वरी मन्दिरमा रहेको जुँगा भएको महादेवको मुर्ती स्तरउन्नतीका नाममा डोरीले बाँधेर ‘बन्धक’ झैं मन्दिर परिसरमा राखिएकोछ । मन्दिर आउने दर्शनार्थीले महादेव बाँधिएको देख्दा अकमक्क पर्ने गरेकाछन् । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

जीर्ण अवस्थामा रहेको मन्दिर स्तरउन्नती गरिने भएपछि त्यहाँ राखिएको ऐतिहासिक जुँगे महादेवको मूर्तिलाई बागेश्वरी मन्दिर परिसरकै एउटा कुनामा थन्क्याइएको छ । मन्दिरमा पुग्ने दर्शनार्थीले जुँगे महादेवको सहज रुपमा पूजा गर्न पाएका छैनन् ।

नेपालगन्ज उपमहानगरपालिका र ठेकेदार कम्पनीको चरम लापरबाहीले पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा रहेको ऐतिहासिक जुँगे महादेव मन्दिर र पुलको स्तरउन्नतीको काम अलपत्र परेको हो ।

स्थानीय ललितकुमार रौनियार भन्छन् ‘जुँगे महादेवमाथि अपमान भएको छ, यसमा नेपालगन्ज उपमहानगरपालिकाको एकदमै लापरबाही देखिन्छ ।’ आफूहरूले मन्दिर र पुलको स्तर उन्नतिको काम छिटो सम्पन्न गर्ने विषयमा पटक–पटक उपमहानगरपालिकाको ध्यानाकर्षण गराउँदा समेत केही प्रगति देखिएको छैन । 

जुँगे महादेव मन्दिरको जीर्णोद्धारको काम समयमा सम्पन्न नहुँदा स्थानीयहरु सामाजिक सञ्जाल र चौतारामा चर्को आलोचना समेत गरिरहेका छन् । स्थानीयले बारम्बार काम छिटो सम्पन्न गर्न माग गरे पनि उपमहानगरपालिका र ठेकेदार कानमा तेल हालेर हाइसन्चोमा बसेकाछन् । 

नेपालगन्जका स्थानीय युवा एवम सामाजिक सञ्जाल नेपालगन्ज ग्यालरीका महेश श्रेष्ठ जुँगे महादेव मन्दिर र पुलको स्तरउन्नतिको काम ढिलो हुनुमा उपमहानगरपालिका मुख्य जिम्मेवार रहेको बताउँछन् । सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोख्दै उनले लेखेका छन्, ‘जुँगे महादेव मन्दिरको स्तर उन्नतिको काममा ज–जसले लापरबाही गरेका छन्, यसको मुल्यांकन अवश्य हुनेछ ।’ मन्दिरको समयमा स्तरउन्नति नगरेर जुँगे महादेवलाई ‘बन्धक’ पारिएको उनको टिप्पणी छ ।

Bageswori_pokhari-1725806343.jpg
जुँगे महादेव मन्दिर र पुल स्तर उन्नति गर्नका लागि ठेकेदार कम्पनी ‘ग्रेटर नेपाल कन्सट्रक्सन’ नेपालगन्ज–१९, बाँकेले २०७९ चैत २ गते एक करोड ८ लाख ७३ हजार ८ सय ९९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदार कम्पनीले २०८० चैत २ गतेभित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने भएपनि अहिलेसम्म आधा काम पनि सम्पन्न गर्न नसकेको हो । तोकिएको समयभित्र काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीले आगामी २०८१ पुस १ गतेसम्म म्याद पाएको छ । 

एक वर्षभित्र कार्यसम्पादन गर्नुपर्नेमा त्यसो भएन । उपमहानगरपालिकाले कारबाही गर्नुको साटो ठेकेदारलाई म्याद थप गरेर आर्थिक लाभको गतिविधितर्फ उन्मुख देखिन्छ । उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले मन्दिर स्तरउन्नतीको कार्य प्रगति ठिक रहेको दाबी गरिरहेका छन् । 

‘कामको प्रगति ठिक छ, यो एकदमै कठिन काम हो, बाहिरबाट बोलेको जस्तो सजिलो छैन,’ उनले भने ‘कहिले पूजाआजा, कहिले भिडभाडले गर्दा ठेकेदारले काम नै गर्न पाएका छैनन् ।’ उनले आफ्नो बचाउ गर्दै ‘सफेद झुट’ बोलेका हुन् । किनभने मन्दिरजस्तो क्षेत्रमा पूजाआजा हुने र भिडभाड हुने भन्ने सामान्य कुराको हेक्का नराख्ने उनको कुसल नेतृत्व होइन् ।

तोकिएको समयभित्र काम गर्न नसक्ने ठेकेदारको ठेक्का तोड्नुभन्दा म्याद थप्नु नै उचित लागेको मेयर बिष्ट प्रतिक्रिया दिएका छन् । आगामी शिवरात्रीमा दर्शनार्थीले जुँगे महादेव मन्दिरमा पूजा गर्न पाउने गरी काम सम्पन्न हुने उनको दाबी छ ।

यता उपमहानगरपालिकाका इन्जिनियर भूपेन्द्र बोहराले अहिलेसम्म पुलको ढलान र पुर्वतर्फको घाट निर्माण कार्य सम्पन्न भएको बताए । अझंै तलाउको बीचमा रहेको मन्दिरको पिलर तथा छत ढलान कार्य फ्लोरिङ, रंगरोगन र अन्य फिनिसिङका काम बाँकी नै रहेको उनको भनाइ छ ।

बागेश्वरी मन्दिर परिसरमा साताब्यापी हुने महाआरतीमा सहभागी हुन आउने दर्शनार्थी, भक्तहरुले उजाडिएको बागेश्वरीको उक्त पोखरी र जुँगे महादेवको मुर्तीविनाको दृष्य न्यास्रो लाग्ने गरेको बताउँछन् ।

स्तरउन्नतीका नाममा बागेश्वरी मन्दिर परिसरको उक्त पोखरी फोहोर र दुर्गन्धले भरिएकोछ । उक्त पोखरीमा पानीका बोटल, वियरका बोटल, कपडा, प्लाष्टिकका सामान, गुट्खा र कण्डम समेत छरपस्ट फालिएका छन् । यसले धार्मिक आस्थामाथि प्रहार त भएको छ नै आफूलाई धार्मिक अगुवा भन्ने भनौदाहरु, बागेश्वरी मन्दिर समिति र उपमहानगरपालिकामाथि तिखो प्रहार गरेकोछ ।

नेपालगन्ज उपमहानगरपालिका र ठेकेदारको चरम लापरबाही, आर्थिक लाभ लिन जानीजानी कार्य सम्पादन ढिलो गर्दा हिन्दू धर्मावलम्बीहरुले साउन महिनाभरी पूजापाठमा सास्ती खेप्नु प¥यो भने तीज र आईतबार(आज) ऋषीपञ्चमीमा समेत बन्धक बनेको महादेवको पूजाअर्चन ागर्न बाध्य भए । यसले हिन्दूहरुको आस्था र धर्ममाथि प्रहार भएको दर्शनार्थी बताउँछन् ।