गाई बाँध्न नदिएको झोंकमा ग्रिनबेल्टका पाँच रुख काटियो


सेतोखरी सेतोखरी   मंगलबार, भदौ २५, २०८१
गाई बाँध्न नदिएको झोंकमा ग्रिनबेल्टका पाँच रुख काटियो

नेपालगन्ज २५ भदौ : बाँकेको कोहलपुर नगरपालिका–१० रामनगरमा सडकको बीच भाग (ग्रिन बेल्ट)मा रोपिएका बिरुवा एक व्यक्तिले काटिदिएका छन् । बिरुवा काटेर भागेका उनको खोजी भइरहेको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष गौराकुमारी अधिकारीले स्थानीय लीला भुसालले पाँच वटा समीका बिरुवा काटिदिएको बताइन् । उनका अनुसार भुसाल फरार छन् र उनका भाइले दाजुलाई नगरपालिकामा उपस्थित गराउने बाचा गरेका छन् ।

‘१०–१२ वर्ष लगाएर हुर्काएका समीका बिरुवा कस्तो राम्रोसँग हुर्किएर झ्याङ्ग परेका थिए । सनकको भरमा उनले पाँचटा बिरुवा काटेर सोत्तर बनाइदिएका छन्’, वडाध्यक्ष अधिकारीले भनिन् ।

वडाध्यक्ष अधिकारीका अनुसार लीला भुसालले सडकको बीच (ग्रिन बेल्ट) भागका ती रूखमा गाई बाँध्ने गर्दथे । सोमबार दिउँसो नगर प्रहरीले गाईको दाम्लो काटिदिएको थियो । त्यसैको झोंकमा भुसालले सोमबार राति रूख नै काटिदिएको वडाध्यक्ष अधिकारीले बताइन् ।

Kanti Aarogya Hospital Nepalgunj

‘सीसीटीभी फुटेजमा छोराले रुख काटिरहेको र आमाले घरबाट हेरिरहेको देखिन्छ’ उनले भनिन्, ‘लिलाले गाई बाँध्न नदिएको रिस पोखेछन् ।’ उनले पाँच वटा रूख काटिएको अवस्थामा रहेको र एउटा आरीले काट्दाकाट्दै छोडेको देखिएको जानकारी दिइन् ।

मङ्गलबार बिहान नगरपालिकाका जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी र प्रहरीहरुले रूख काटिएको स्थानको अवलोकन गरेका थिए । ‘रूख काट्ने व्यक्ति भाग्नुभयो । घरमा जाँदा उहाँ हुनुहुन्नथ्यो’ वडाध्यक्ष अधिकारीले भनिन्, ‘उहाँको भाइले दाइलाई उपस्थित गराउने भन्नुभएको छ ।’