अष्ट्रेलियाको पर्थमा नेपाली संस्कृति र परम्पराको भव्य प्रदर्शनी गरिदैँ


सेतोखरी सेतोखरी   मंगलबार, भदौ २५, २०८१
अष्ट्रेलियाको पर्थमा नेपाली संस्कृति र परम्पराको भव्य प्रदर्शनी गरिदैँ

पर्थ (वेस्टर्न अष्ट्रेलिया) २५ भदौ : अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई एकजुट गराउन ‘नेपाल फेस्टिभल–२०२४’ हुने भएकोछ । आगामी सेप्टेम्बर १४ तारिखमा पश्चिम अष्टे«लियको पर्थमा ‘नेपाल फेस्टिभल–२०२४’ आयोजना गरिदैँछ । 

यो महोत्सवले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई एकजुट गराउँदै नेपालको संस्कृति, भेषभूषा र खानपानको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। 

नेपाल चिनाउने यस फेस्टिभलमा नेपालको प्रमुख धरोहरहरू बौद्धनाथ, धरहरा, सगरमाथा लगायतको प्रदर्शनी हुनेछ जसले सम्पूर्ण नेपाललाई प्रतिबिम्बित गर्नेछ ।

फेस्टिभलको आकर्षणमा नेपाली टिपिकल खानाको स्टलहरू, सांस्कृतिक कार्यक्रमहरू र झाँकी समावेश छन् । यदि तपाईं वेस्टर्न अष्ट्रेलियामा हुनुहुन्छ भने, यो महोत्सवमा सहभागी भई नेपालको संस्कृति र परम्पराको अनुभव लिन नबिर्सनुहोला ।

Kanti Aarogya Hospital Nepalgunj

दिनभर चल्ने कार्यक्रममा कलश यात्रासहितको परेड बिहान ११ बजे सुरु हुनेछ भने सांगीतिक प्रस्तुति दिउँसो ४ः३० बजेबाट प्रारम्भ हुने आयोजकले जनाएकोछ । नेपालका चर्चित कलाकारहरू बद्री पंगेनी, आस्था राउत, शिव मुखिया, र द एक्स ब्याण्डले उत्सवलाई थप सशक्त मनोरञ्जनात्मक बनाउनेमा विश्वास लिइएकोछ । 

फेस्टिभलमा नेपाली समुदायका साथै भारतीय, बंगलादेशी, भुटानी प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ । साथै, वेस्टर्न अष्ट्रेलियाका प्रिमियर, स्थानीय मेयर र राज्य सरकारका उच्च अधिकारीहरूको पनि उपस्थिति रहने आयोजकले जनाएकोछ।  

आयोजक एनआरएनए वेस्टर्न अष्ट्रेलियाका अनुसार, यो महोत्सवमा दश हजार भन्दा बढीको सहभागीता हुने अपेक्षा गरिएको छ । प्रमुख प्रायोजकमा अजि फाइनान्स एण्ड होम लोनको साथमा स्थानीय सरकारी निकायहरूको सहयोगमा आयोजना गरिने यो कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

फेस्टिभलको प्रचारप्रसार व्यापक रूपमा गरिएको छ, जसमा सार्वजनिक स्थानहरू र सवारी साधनहरूमा प्रचार सामग्रीहरू राखिएका छन् । बालबालिकाहरूका लागि विशेष मनोरञ्जनात्मक खेल उद्यानको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।