नेविसंघको कोषाध्यक्ष हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी चित्रलेखा अस्ट्रेलियाको राजदूतमा सिफारिस


सेतोखरी सेतोखरी   बुधबार, भदौ २६, २०८१
नेविसंघको कोषाध्यक्ष हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी चित्रलेखा अस्ट्रेलियाको राजदूतमा सिफारिस

नेपालगन्ज २६ भदौ : सरकारले नेपाली काँग्रेसकी केन्द्रिय सदस्य एवम पूर्वउपसभामुख चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीस्तरीय सुविधा पाउनेगरी यादवलाई अस्ट्रेलियाको राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।

अब यादवको नाम प्रस्तावित राजदूतको रूपमा संसदीय सुनुवाइ समितिमा जानेछ । समितिले अनुमोदन गरेमा उनी अस्ट्रेलियाको लागि नेपाली राजदूत बन्नेछिन् । मन्त्रिपरिषद् बैठकले १६ साउनमा १८ देशका लागि राजदूत सिफारिस गर्दा समावेशी नभएपछि सरकार आलोचित बनेको थियो । राजदूत सिफारिस गर्दा समावेशीता लागु गर्न नसकिएको प्रति संसदीय समितिमा उपस्थित भएर परराष्ट्र मन्त्री आरजु राणाले माफीसमेत मागेकी थिइन् ।

सरकारले राजदूत सिफारिस गर्दा दलित, मधेशी, मुस्लिम समुदायबाट परेका थिएनन् । मधेशी मूलबाट राजदूत नगराएको प्रति उठेको चासो सम्बोधन हुने गरी सरकारले यादवको नाम सिफारिस ग¥यो ।

सत्ता गठबन्धनमा भागबण्डा हुँदा अस्ट्रेलियाको राजदूत नेपाली काँग्रेसको भागमा परेको थियो । यसअघि अस्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस भएको थियो । तर, अन्तिममा रिजालको नाम फिर्ता भएको थियो । अहिले सोही ठाउँमा यादवको नाम सिफारिस गरिएको हो । 

Kanti Aarogya Hospital Nepalgunj

पार्टी सभापति शेर बहादुर देउवानिकट मानिएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भइसकेकी छिन् । उनी पार्टीको कोषाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेकी छिन् । २०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिईन् ।

सिराहामा जन्मिएकी उनी सुशील कोइराला प्रधानमन्त्री भएको बेला शिक्षामन्त्री भएकी थिइन । मधेस प्रदेशको भुगोलको महिला तर्फबाट केन्द्रिय सदस्यमा निर्वाचित भएकी उनले गीता यादवलाई पराजित गरेकी थिइन । संसदीय दलको प्रमुख सचेतक भइसकेकी उनलाई परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले राजदूतका लागि नाम सिफारिस गरेकी थिइन ।

लोकतान्त्रिक आन्दोलन र काँग्रेसको संगठन निर्माणमा लामो अनुभव संगालेकी उनले ६२–०६३ को जनआन्दोलनका क्रममा विघटति प्रतिनिधिसभाको सडकमा अधिवेशन चल्दा तत्कालिन उपसभामुख उनले सडकमै अधिवेशन चलाएकी थिइन् ।

तत्कालिन सभामुख तारानाथ रानाभाटले सो आन्दोलनलाई समर्थन नगरेकाले सडक संसदको सभामुख यादव भएकी थिइन् । जनआन्दोलनपछि संसद पुनःस्थापित भयो । तर, सभामुख भने यादव हुन पाइनन् । सभामुख तत्कालिन एमाले नेता सुवास नेम्वाङ सभामुख बनेका थिए । तत्कालीन समयमा यादवले आफूले साउथ एसियामै पहिलो सभामुख हुने अवसर गुमाउँदा निकै रोएको प्रतिक्रिया दिएकी थिइन ।

आन्दोलनपछि पुनर्स्थापित ऐतिहासिक प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता यादवले गरेकी थिइन् । ११ वैशाख ०६३ मा राजतन्त्रले घुँडा टेकेसँगै प्रतिनिधिसभा पुनर्स्थापना भएको थियो । आन्दोलनका बेला राजालाई साथ दिएका तत्कालीन सभामुख रानाभाटले १३ वैशाखमा राजीनामा दिए, त्यही दिन सुरु भएको संसद्को अध्यक्षता तत्कालीन उपसभामुख यादवले गरेको थिइन् ।

काँग्रेसको उच्च तहमा बसेर राजनीति गरेकी यादवलाई राजदूत बनाएर पठाएपछि उनको सक्रिय राजनीतिक करिअर अब के हुन्छ भन्ने जिज्ञासा उठेको छ । यादव आफैंले भने राजदूतको भूमिका निभाइसकेपछि पनि आफू सक्रिय राजनीतिमै रहने दाबी गरिन् ।

सिरहाबाट २०३६ सालदेखि काँग्रेसको राजनीतिमा संलग्न ५९ वर्षीया यादव सभापति शेरबहादुर देउवा पक्षीय हुन् । नेविसंघको त्रिभुवन विश्वविद्यायलयको कोषाध्यक्ष हुँदै उनी पार्टी राजनीतिमा प्रवेश गरेकी थिइन् । काँग्रेसकोे १४ औं महाधिवेशनमा मधेशबाट महिलातर्फको केन्द्रिय सदस्यमा निर्वाचित भएकी थिइन् ।