कर्णालीबाट बर्सेनि ८० प्रकारका जडीबुटी निकासी


सेतोखरी सेतोखरी   बिहीबार, भदौ २७, २०८१
कर्णालीबाट बर्सेनि ८० प्रकारका जडीबुटी निकासी

नेपालगन्ज २७ भदौ : कर्णाली प्रदेशबाट बर्सेनि ८० प्रकारका जडीबुटी निकासी हुने गरेको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन निर्देशनालयका अनुसार कर्णालीबाट वार्षिक ८० प्रकारका जडीबुटी निकासी हुने गरेको हो। प्रदेशबाट यार्सागुम्बा र जटामसी, पाँचऔँले चिराइतो, टिम्मुर, अमला, चिउरीलगायत जडीबुटी निकासी हुने गरेको छ।

यो वर्ष जडीबुटी निकासीबाट प्रदेश सरकारले रु एक करोड ५० लाख रकम राजस्व सङ्कलन गरेको जनाएको छ। वन निर्देशनालयका कर्णालीका वरिष्ठ वन अधिकृत सूर्य शर्माले कर्णालीबाट बर्सेनि चार हजार क्विन्टलसम्म जडीबुटी निकासी हुने गरेको जानकारी दिए।

यार्सागुम्बा र जटामसीबाट उठेको राजस्वको तथ्याङ्क आउन बाँकी रहेको भन्दै प्रदेश सरकारले जडीबुटीबाट रु तीन करोडजति आम्दानी गर्ने गरेको उनले बताए। कर्णाली प्रदेशबाट आर्थिक वर्ष २०७९÷८० मा ३२ हजार केजी जडीबुटी निकासी भएको थियो भने जडीबुटी निर्यातबाट रु दुई करोड ९४ लाख राजस्व सङ्कलन भएको थियो।

Kanti Aarogya Hospital Nepalgunj

यो वर्ष गत वर्षको तुलनामा राजस्वमा केही वृद्धि हुने अपेक्षा गरिएको भन्दै वरिष्ठ वन अधिकृत शर्माले यार्सा र जटामसीबाट उठेको राजस्वको तथ्याङ्क आएपछि मात्रै थाहा हुने उल्लेख गरे।

देशभरकै सबैभन्दा धेरै जटीबुटी पाइने कर्णाली प्रदेशले भनेअनुसारको आम्दानी अझै लिन सकेको छैन। प्रदेशमा पाइने जडीबुटीको प्रशोधन उद्योग नभएकाले आम्दानी लिन नसकिएको उनको भनाइ छ।

प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात हुने गरेको छ। ‘कर्णालीको हिमाली जिल्लामा पाइने यार्सागुम्बा, जटामसी, सिलाजितलगायतका जडीबुटी निर्यात भइरहेको छ’, उनले भने, ‘कर्णालीमा ८० प्रकारका विभिन्न बहुमूल्य जडीबुटी पाइन्छ। यसको उचित प्रयोग अब आवश्यक छ।’

वरिष्ठ वन अधिकृत शर्माका अनुसार पछिल्ला वर्षमा कर्णालीको मुख्य जडीबुटीका रुपमा रहेको टिमुर र रिठ्ठा युरोप निर्यात हुन थालेको छ। कर्णाली प्रदेश सरकारले आफ्नै लोगोमा ‘प्याकेजिङ’ र ‘ब्राडिङ’ गरेर टिमुर र रिठ्ठा युरोप निर्यात गर्न थालेको हो। -रासस