नेपालगन्ज २७ भदौ : पन्नालाल गुप्ता विक्रम सम्वत सन् १९८६ सालमा नेपालगन्जमा जन्मिएका हुन् । पिता वेचनलाल र माता यशोदाको कोखबाट जन्मिएका गुप्ता सानैदेखि चिन्तनशील थिए ।
जब गुप्ता थाहा पाउने भए देश र नेपाली जनतालाई कसरी राणा शासनको थिचोमिचोबाट शोषण, दमनबाट मुक्त गराउन सकिन्छ भनेर सोँचिरहन्थे । पढाईमा त्यतिकै रुची राख्ने गुप्ताले नेपालगन्जमा पढ्नका लागि कुनै पनि विद्यालय नभएकाले पढन पाएनन् ।
विक्रम सम्वत १९९३ सालमा नेपालगन्जमा जुद्ध शमशेरको सवारी भएपछि संस्कृत विद्यालयको स्थापना भयो । तर, त्यस विद्यालयमा वाहुनका छोराछोरी बाहेक अरुले पढ्न पाएनन् । अन्य जातिका मान्छे पढ्ने विद्यालय नभएपछि नेपालगन्जका मंगल प्रसाद शास्त्रीले निजी विद्यालय खोले ।
‘उमेर धेरै भइसकेको थियो तर, विद्यालय नभएकाले कहिँ पनि पढ्न पाइएको थिएन । सबैको पिडालाई बुझेर शास्त्रीजीले निजी विद्यालय खोलेपछि त्यसैबाट ८ कक्षा पास गरेका थिए गुप्ताले । कक्षा पास गरिसकेपछि फेरी गुप्ताले पढ्नका लागि विद्यालय पाएनन् । त्यसै समयमा नारायण विद्यालय खुल्यो, अनि त्यसमै भर्ना भए गुप्ता पनि ।
एक घण्टा मात्रै पढाई हुन्थ्यो ट्यूशन जस्तै, जसरीतसरी पढ्नै पर्ने बाध्यता थियो । हाइस्कूल पास नारायण विद्यालयबाट गरेका हुन् उनले । वि. सं. २००० मा बुबा वेचनलालको मृत्यु भएपछि पढ्नमा अति रुची राख्ने गुप्ताको पढाईमा केही ठेस् लाग्यो ।
स्थानीय नारायण विद्यालयमै पढाई हुने हिन्दी विश्व विद्यालय प्रयागबाट विसारत पास हुदैँ गुप्ताले हिन्दी भाषाको साहित्य रत्नमा डिग्री पास गरेका थिए । त्यसपछि गुप्ताले स्थानीय टण्डन राईस मिलमा लेखापढीको जागिर खाए, त्यसपछि पञ्चायत विरोधी गतिविधीमा सक्रिय भए ।
गुप्ताले २००३ सालदेखि २००७ सालसम्म दिउँसो जागिर गर्ने र रातभरी तत्कालिन राज्य विरोधी पर्चा पम्पलेट फाल्ने काम गरेका थिए । दाजु महाविर पनि आन्दोलनमा सक्रिए भएकाले पञ्चायती व्यवस्थाको विरोध गर्दै गुप्ता पनि प्रजातान्त्रिक आन्दोलनमा कडा रुपमा उत्रिए ।
त्यसपछि गुप्ताले वि.सं. २०११ सालमा दाजु महाविरले हिन्दी भाषामा नयाँ सन्देश मासिक पत्रिका प्रकाशित गरेपछि त्यसमै पञ्चायत विरोधी लेखहरु आफुले लेख्न शुरु गरेका थिए । प्रशासनले रोक लगाएकाले सो पत्रिका लखनऊबाट प्रकाशित हुन्थ्यो ।
नयाँ सन्देशदेखि पत्रकारिता यात्रा शुरु गरेका गुप्ता झन्–झन् सक्रिय रुपमा पत्रकारिता गर्न थाले । राईस मिलमा म्यानेजर पनि भईसकेका थिए । दिउँसो काम गर्ने र रातभरी पत्रिकामा समाचार, लेखहरु लेख्ने काम गर्थे । वि.सं. २०१८ सालमा हिन्दी र नेपाली भाषामा अनुराधा मासिक पत्रिका प्रकाशित भएपछि त्यसमा पनि गुप्ताले काम गरे ।
वि.सं. २०३१ सालमा आफ्नै दाजु महाविरले नेपालगन्जबाट नेपाली भाषाको किरण साप्ताहिक पत्रिका प्रकाशित गरेपछि त्यसमै गुप्ताले सहायक सम्पादक भएर काम गर्न थाले । पत्रकारिताका दौरानमा निकै आरोह–अवरोह पार गरिसकेका गुप्ताले २०३३ साल देखि प्रजातन्त्रका पक्षमा र पञ्चायतका विरुद्ध आक्रामक तरिकाले लेख्न थालेको यसअघि बताएका थिए ।
‘शासकलाई जनताका सामु उभ्याउनु पर्छ’ भन्ने बर्दिया मैनापोखरबाट आएको पाठक पत्र प्रकाशित गरेपछि २०३५ सालमा तत्कालिन प्रशासनले उनलाई पक्राउ गरेको थियो ।
‘पञ्चायत विरोधी पत्रिका प्रकाशित गरेको भन्दै प्रशासनले पक्राउ ग¥यो, राजद्रोहको मुद्दा लगायो । नेपालगन्जबाट काठमाडौं पठायो । सूचना मन्त्रालयमा हाजिर गरायो ।’ –केही वर्षअघि गुप्ताले पत्रकारिताको अनुभव सुनाउंदै भनेका थिए ‘मैले पाठकको विचारलाई छापेको हुँ, अरु त केही गरेको छैन भनेर बयान दिए । तीन पटक तारेख लगाएर मलाई एक पटकलाई चेतावनी भन्दै छाड्यो ।’
विस २०३६ सालमा ऋषीकेश शाहको लेख छापेको भन्दै उनलाई प्रशासनले फेरी समात्यो । शाहले पञ्चायत विरोधी लेख लेखेका थिए । गुप्ताले पहिले र अहिलेका नेताको ईमान्दारितालाई तुलना गर्दै त्यतिबेला भनेका थिए –कुनै राजनेताले आफुले भनेको कुरा स्वीकारेको मैले देखेको छैन ।
बोल्ने बेला मिडियामा बोल्छन् अप्ठ्यारो परेपछि मैले यस्तो भनेकै होईन भन्छन्, तर, ऋषीकेश शाह यस्तो मान्छे थिए मैले जे भनेको हुँ पत्रिकाले त्यही छापेको हो, जे गर्नु छ मलाई गर्नुस् उहाँलाई केही नगर्नुस् भनेपछि प्रशासनले मलाई छोडिदियो ।
कुरा २०३७ सालको हो । त्यस समयमा गुप्ताले किरण साप्ताहिक पत्रिका एक–एक अक्षर जोडेर छाप्ने गर्दथे । अक्षर जोड्ने क्रममा एउटा अक्षर फुत्कीएपछि गुप्ताले नराम्रैसँग पीडा खेप्नु प¥यो ।
राष्ट्र पुकार पत्रिकामा छापिएको लेख साभार गरेर आफ्नो किरण साप्ताहिकमा छाप्दा गुप्ताले फेरी जेल सजाय भोग्नु प¥यो । ‘त्यतिखेर यस्तो आधुनिक अपसेट प्रेस थिएनन् । अक्षर जोडेर छाप्नु पथ्र्यो–केही वर्षअघिको भेटमा गुप्ताले भने –‘राष्ट्र पुकारमा श्री ५ को सरकार थियो । अक्षर मिलाउँदा ‘को’ खसेछ, ‘श्री ५ सरकार’ भयो । मैले पनि ख्याल गरिन पत्रिकामा छापिने वित्तिकै प्रशासनले मलाई पक्राउ गर्न आइहाल्यो । राजद्रोह भएको भन्दै राजकाज ऐन लगाएर प्रशासनले आफुलाई १५ दिनसम्म थुनेको गुप्ताले त्यही बेला बताएका थिए ।
उनले भनेका थिए –‘जाँचबुच, सरजिमिन ग¥यो, जिल्ला अदालतले छाड्यो तर, फेरी पुनरावेदन अदालतले समात्यो । २०४६ सालमा गएर मेरो मुद्दाको टुंगो लाग्यो ।’
उनको थुप्रै दशक पत्रकारिता र प्रजातन्त्र ल्याउनमा वितेको छ । गिरफ्तार हुनु र कुटपीट खानु उनका लागि सामान्य थियो । नेपाली काँग्रेसमा आस्था राख्ने गुप्ता पञ्चायत शासन विरुद्ध र प्रजातन्त्रका पक्षमा भूमिगत तरिकाले निकै आन्दोलन गरे ।
नेपाली पत्रकारिताको ईतिहासमा प्रेस स्वतन्त्रता सेनानीको उपाधी पाईसकेका गुप्ता अझैं नि सन्तुष्ट थिएनन् । ‘डेमोक्रेसीको मिशनको रुपमा मैले पत्रिका प्रकाशित गरेको थिएँ’–गुप्ताले तत्कालिन अवस्थामा भनेका थिए –‘डेमोक्रेसी माथि बारम्बार आक्रमण भईरहयो, मेरो पनि त्यसको रक्षाका लागि कलम चलि रह्यो ।’
नेपालको पत्रकारिता अझैं पनि निष्पक्ष र मर्यादित हुन नसकेको उनी बताउँदै आएका थिए । गुप्ता गोपाल दास पत्रकारिता पुरस्कार, प्रेस स्वतन्त्रता सेनानी लगाएत एक दर्जन भन्दा बढी पुरस्कारबाट सम्मानित भईसकेका थिए ।
बयोबृद्ध गुप्ताले नेपालगन्जबाट किरण साप्ताहिक पत्रिका आफैंले प्रकाशित गरिरहेका थिए । ९२ वर्षको उमेर भईसक्दा पनि गुप्ता साईकलमा चढेर विभिन्न कार्यक्रममा समाचार संकलनका लागि पुग्ने गदर्थे ।
फुर्सदको समयमा घरमा बसेर पत्रिकाका लागि समाचार, लेख तयार पार्ने उनको बानी थियो । उनै नेपाली पत्रकारिताका धरोहर ‘चाचाजी’ अर्थात पन्नालाल गुप्ताको ९२ वर्षको उमेरमा २०७६ माघ १५ गते बुधबार राती नेपालगन्जमा निधन भयो ।
आज भदौ २७ गते स्वर्गी चाचाजीको ९६ औं जन्मजयन्ती । उनी अब हामी माझ छैनन् तर, पत्रकारीतामा उनले दिएको योगदान र उनीप्रतिको हाम्रो श्रद्धा सबै अमर रहिरहनेछ ।