उजुरी परेकोले गणेश बस्नेतसँग सोधपुछ गर्न खोजिएको होः साइबर ब्युरो


सेतोखरी सेतोखरी   बिहीबार, भदौ २७, २०८१
उजुरी परेकोले गणेश बस्नेतसँग सोधपुछ गर्न खोजिएको होः साइबर ब्युरो

नेपालगन्ज २७ भदौ : नेकपा (एमाले) को भ्रातृ संस्था प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतसँग नेपाल प्रहरीको साइबर ब्युरोले केही विषयबारे सोधपुछ गर्न खोजिएको बताएको छ ।

बिहीबार बागबजारस्थित कार्यक्रमस्थल पुगेर ब्युरोको टोलीले प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेको भन्दै विरोध भइरहेको छ । बस्नेत जनता टाइम्स अनलाइनका सञ्चालक पनि हुन् ।

उक्त अनलाइनमा प्रकाशित समाचारको विषयमा उजुरी परेपछि प्रहरीले उनीसँग सोधपुछ गर्न लागेको हो । उनीसँग साइबर ब्युरोले केही विषयमा सोधपुछ गर्न खोजेको प्रवक्ता एवं एसपी दीपकराज अवस्थीले बताए ।

‘केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले हामीले उहाँसँग कुराकानी गर्न खोजेका थियौं,’ उनले भने ।  बस्नेतविरूद्ध साइबर ब्युरोमा उजुरी परेपछि सोधपुछ गर्न खोजेको उनको भनाइ छ ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल पत्रकार महासंघलगायतले बस्नेतलाई पक्राउ गर्न खोजेकोमा विज्ञप्ति निकालेर विरोध जनाएका छन् । 

महासंघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति निकालेर संप्रेषित समाचारप्रति परेका उजुरी या गुनासो हेर्ने काम प्रेस काउन्सिल नेपालको भएको उल्लेख गरेका छन् ।

काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरेको भन्दै उनले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको बताएका हुन् । ‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।