नेपालगन्ज २८ भदौ : बागलुङको गलकोट नगरपालिका वडा नम्बर–२ भुङखानीमा भएको गाउँपालिकाको जिप दुर्घटनामा परि तीन जनाको ज्यान गएकोछ । रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष र उनकी आमासहित सोही गाउँपालिकाका वडा अध्यक्षको ज्यान गएकोछ ।
यो पनि पढ्नुहोस् बागलुङ दुर्घटना : पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु
शुक्रबार बिहान भएको दुर्घटनामा उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढा, उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर–२ का अध्यक्ष करिब ४० वर्षीय जसबहादुर श्रीपालीको पनि मृत्यु भएको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले जानकारी दिए ।
दुर्घटनामा जिप चालक भूमे गाउँपालिका वडा नम्बर–३ का प्रेम पुन घाइते भएका छन् । काठमाडौंबाट फर्कदै गरेका उनीहरू सवार जिप बागलुङमा दुर्घटनामा परेको हो ।
उपाध्यक्ष बुढा गत भदौ १८ गते आमालाई लिएर उपचारका लागि काठमाडौं गएकी थिइन् । ‘उपाध्यक्षज्यू दाँत दुख्यो भनेर उपचार गर्न जानु भएको हो । उहाँले आमालाई पनि स्वास्थ्य परीक्षण गर्न सँगै लैजानु भएको रहेछ,’ अध्यक्ष घर्तीले भने ।
वडाध्यक्ष श्रीपाली पनि कामकै सिलसिलामा भदौ १९ गते काठमाडौं गएका थिए । वडा नम्बर १, २ र ३ का अध्यक्षहरू योजना माग गर्न काठमाडौं गएको भए पनि अरू वडाध्यक्ष अर्कै सवारी साधनमा फर्किएका थिए । तर, वडा नम्बर–२ का अध्यक्ष श्रीपाली भने उपाध्यक्ष बुढासँगै जिपमा फर्कदै थिए ।
उपचार गराएर घर फर्कदैँ गरेका उपाध्यक्ष, उनकी आमा र वडा नम्बर–२ का अध्यक्षको मृत्युको खबरले आफूहरू मर्माहत भएको अध्यक्ष घर्तीले बताए।
‘हामी घटनास्थलतर्फ जाँदैछौं, कल्पनाबाहिरको दुर्घटना भयो,’ उनले भने, ‘गाउँपालिकाले दुई जना प्रतिनिधि र परिवारका सदस्य गुमाएको छ ।’
गत बिहीबार उपाध्यक्षले आफूलाई फोन गरेको र बिहीबार फर्कने जानकारी गराएको उनको भनाइ छ । ‘वडाध्यक्षसँग भने हिजो बेलुकी ९ बजेतिर कुरा भएको थियो, उहाँले उपाध्यक्षज्यूसँगै आफू पनि आइरहेको जानकारी गराउनु भएको थियो,’ उनले भने ।
उपाध्यक्ष र वडाध्यक्ष २०७९ को चुनावमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई निर्वाचित भएका थिए ।
जिप दुर्घटनाका घाइते चालक प्रेमको पनि अवस्था गम्भीर रहेको छ । उनको धौलागिरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी छ ।
शुक्रबार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङमा उनीहरू सवार जिप दुर्घटनामा परेको थियो । बागलुङको गलकोट नगरपालिका वडा नम्बर–२ को भुखानीमा रा १ झ २०० नम्बरको सरकारी जिप दुर्घटनामा परेको थियो ।
अप्ठेरो भिरमा गाडी दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको थियो । त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि खटाइएको थियो । चालक निदाएका कारण जिप दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
यसैबीच, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तीन जनाको ज्यान जाने गरी बाग्लुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उनले आफ्नो पार्टीका महिला नेता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उनकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर–२ का अध्यक्ष जसबहादुर श्रीपालीको बाग्लुङमा भएको सवारी दुर्घटनामा निधन भएको खबरले स्तब्ध बनाएको बताएका छन् ।
अध्यक्ष दाहालले उनीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।