बैजनाथ २८ भदौ : बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर–७ पेडारीको वडा कार्यालयले नवनिर्मित भवनबाट सेवा दिन सुरु गरेएको छ ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही र वडा नम्बर–७ का वडा अध्यक्ष दिनेश थारुले नवनिर्मित भवनको संयुक्तरुपमा उद्घाटन गर्दै सेवा प्रारम्भ गरे ।
नवनिर्मित भवन उद्घाटनका क्रममा बोल्दै गाउँपालिका अध्यक्ष शाहीले आफ्नै घरआँगनबाटै सेवाहरु प्राप्त गर्न वडा कार्यालयको भवन निर्माणमा सहयोग गर्ने सबै राजनितिक दलहरुलाई धन्यवाद दिँदै यो व्यवस्थाको संरक्षण गर्नुपर्ने बताए ।
बैजनाथ गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रमलाई यहाँहरुले निकै उत्साहपूर्ण तरिकाले लिएको र सबैको सहभागितामा सफल र सक्षम भएको भन्दै आफू खुसी भएको गाउँपालिका अध्यक्ष शाहीले प्रतिक्रिया दिए ।
गाउँपालिका र वडा कार्यालय जोड्नका लागि दशैँतिहार लगत्तै पक्की सडक निर्माणको काम सुरु हुने भन्दै वडाबासीलाई विकास निर्माणमा विवाद सिर्जना नगर्ने अध्यक्ष शाहीले आग्रह समेत गरे ।
‘विवाद भएमा काम नहुने र बजेट फ्रिज हुने डर हुन्छ त्यसैले यहाँहरुकै सहमतिका आधारमा बजेट आएको हुन्छ । त्यसलाई सर्वसम्मत रुपमा कार्यन्वयन गर्न हामी सबै लाग्नुपर्छ’ अध्यक्ष शाहीले बताए ।
यस्तै बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विश्वराज ढकालले एक करोड ५ लाखमा वडा कार्यालयको उक्त भवन निर्माण भएको बताए । विएल एन कन्ट्रक्सनले ठेक्का पाएको उक्त भवनको सम्झौता अनुसार समयमै काम सम्पन्न भएकोमा प्रमुख प्रशासकीय अधिकृत ढकालले धन्यावद दिए । उनले वडाबासीलाई सम्पूर्ण प्रशासकीय काममा कुनै ढिलासुस्ती नुहुने र भए आफूलाई जानकारी दिन आग्रह गरे ।
सोक्रममा बैजनाथ गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष देवबहादुर रावतले गुणस्तरीय र प्रभावकारी ढङ्गबाट बैजनाथ गाउँपालिका र वडाहरुमा काम भइरहेको बताउँदै सर्वसाधरणलाई सेवाको लाभ लिन आग्रह गरे ।
बैजनाथ गाउँपालिका वडा नम्बर–७ का वडा अध्यक्ष तथा भवन उद्घाटन कार्यक्रम सभापति दिनेश थारुले वडाबासीलाई आफ्नै भवनबाट सेवा दिन पाउँदा निकै खुसी भएको बताए ।
निर्वाचनका बेला जनतासँग गरेको वाचा क्रमिकरुपमा पुरा गर्दै गएको बताउँदै वडाअध्यक्ष थारुले वडाको समस्या आफ्नो समस्या भएको भन्दै ती समस्या समाधानका लागि आफू निष्पक्षरुपमा खटेको बताए ।
वडा कार्यालय उद्घाटन कार्यक्रममा वडाका सम्पूर्ण पार्टीका नेतृत्व सहित वडाबासीहरुको उल्लेख उपस्थित रहेको थियो ।