काँग्रेस बाँकेले थाल्यो चार महिने पार्टी सुदृढीकरण अभियान


सेतोखरी सेतोखरी   मंगलबार, असोज १, २०८१
काँग्रेस बाँकेले थाल्यो चार महिने पार्टी सुदृढीकरण अभियान

नेपालगन्ज १ असोज : नेपाली काँग्रेस बाँकेले चार महिने पार्टी सङ्गठन सुदृढीकरण अभियान सुरु गरेको छ । गत भदौ २४ गतेदेखी पुष मसान्तसम्म अभियान सुरु भएको थियो ।

‘जेष्ठ नागरिक, महिला र युवाको योगदान : पार्टी सङ्गठन सुदृढीकरण र बाँके काँग्रेस अभियान’ नामक चार महिने अभियानका लागि ८१ वटै  वडामा जिल्ला प्रतिनिधि नियुक्त गरिएको छ ।

आज (मंगलबार) एक औपचारिक कार्यक्रमका साथ अभियानको शुभारम्भ गरिएको हो । जिल्लाका ८१ वटा वडाको सांगठनिक अवस्थाको जानकारी लिई नेपाली काँग्रेसका नेता, वडा तथा टोल तहका ज्येष्ठ नागरिक, महिला तथा युवाले पार्टीमा आफ्नो भूमिका र सक्रियताको विश्लेषण र पार्टी संगठनको अवस्थाको विश्लेषण गरेका छन् । 

पार्टी सङ्गठनलाई मजबुत बनाउने र एकताबद्ध बनाउने अभियानको मुख्य उद्देश्य रहेको पार्टी अध्यक्ष नारायणप्रसाद गौडेले बताए । स्थानीय तहबात सेवा प्रवाह प्रणालीमा पहलकदमी, विकास, सामुदायिक स्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र सुधार, भ्रातृ तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाउने, जनताको गुनासो सुन्ने र समाधानका लागि पहल गर्ने आदि यस अभियानको उद्देश्य रहेको छ । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

काँग्रेसको दोस्रो जिल्ला सम्मेलनले यो अभियानको प्रस्ताव पारित गरेको प्रवक्ता डिल्ली गिरीले बताए । अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काँग्रेस केन्द्रिय सदस्य मैकुलाल वाल्मीकीले पार्टीलाई मजबुत बनाउन आग्रह गरे । 

विशेष अतिथि लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनले पार्टी बलियो भए मात्रै प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्न सकिने बताउँदै आपसी मतभेद, वैमनस्य र तिक्तता त्यागेर संगठन निर्माणमा लाग्न आग्रह गरे । पुनलले काँग्रेस बाँकेको गतिविधि लोभलाग्दो भएको बताए । 

नेपाली काँग्रेस बाँकेका निवर्तमान सभापति किरण कोइरालाले चार महिनाको अभियानबाट पार्टीलाई पुनर्जीवित गर्ने विश्वास व्यक्त गरेका गरिन् ।

वडामा खटिएका प्रतिनिधिले वडा कार्यसमितिको बैठक बोलाउने, वडा कार्यसमितिको कानून बमोजिमको काम र कर्तव्य, कानून बमोजिम सम्मेलन भएको हो वा होइन, सक्रिय सदस्यता नवीकरणको अवस्थाबारे जानकारी दिनेछ ।

कार्ड वितरण, संस्थामा देखिएका समस्याहरू, सुधार गर्नुपर्ने समस्याहरू आदि पार्टी अध्यक्ष गौडेलले वडामा खटिएका जिल्ला प्रतिनिधिसँग समन्वय गरी क्षेत्रीय कार्यसमितिलाई जिम्मेवारी पत्रसहितको जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

सभापति गौडेलले अभियानको अन्तिममा ८१ वटै वडामा एकै दिन वडा सम्मेलन गरेर अभियानको समापन गर्ने कार्ययोजना रहेको बताए । 

काँग्रेस बाँकेका सभापती गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्णबहादुर कार्कीले स्वागत गरेका थिए । भने कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।