नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले यहाँ स्थित काञ्जी हाउसमा रहेका गाईहरु दैलेखको श्रीस्थानको जङ्गलमा उपमहानगरपालिकाले नै पठाएको बताएकाछन् ।
सेतोखरीसँग कुरा गर्दै मेयर राणाले भने–‘त्यहाँका स्थानीयले गाईपालनमा चासो देखाई उपमहानगरपालिकामा गाई पाउँ भनि निवेदन दिएका कारण केही गाई किसानहरुका लागि र केही श्रीस्थान जङ्गलमा छोड्नका लागि पठाइएको हो ।’
बिहीबार राती दैलेख लैजानेक्रममा सुर्खेतको कट्कुवा जङ्गल नजिक ट्रकमा लोड गरिएका गाईहरु मरेको जिकिर गर्दै मेयर राणाले भिरबाट खसालेर गौ हत्या गरिएको भन्ने कुरा निराधार भएको दावि गरेकाछन् । नेपालगन्जबाट लोड गरि पठाइएका ट्रकमा उपमहानगरपालिकाका कर्मचारी समेत गएको हुँदा त्यसरी भिरबाट खसाएर गौ हत्या गर्ने कुरै हुननसक्ने उनको भनाईछ ।
सुर्खेतको कट्कुवामा विहीबार राती नेपालगन्जबाट दैलेखका लागि लगिएका करिब ३ सय गाईमध्ये २२ वटा हत्या भएकोछ । कर्णाली प्रदेश प्रहरी प्रमुख पुर्णचन्द्र जोशीका अनुसार दैलेख लैजान लागिएका ठूलो मात्रका गाई कट्कुवा क्षेत्रमा शुक्रबार साँझ सम्म छरपस्ट देखिएका छन्, भने मरेका गाईको प्रारम्भिक अनुसन्धान गर्दा भिरबाट खसाएको हुनसक्ने देखिन्छ ।
जोशीका अनुसार विरेन्द्रनगर नगरपालिका अन्र्तगतको पशुसेवा शाखाका चिकित्सकहरुले मरेका गाईको पोस्टमार्टम गर्ने काम गरिरहेकाछन् । पशुसेवा शाखाका चिकित्सक नारायण न्यौपानेका अनुसार कट्कुवामा भिरबाट खसाई मारिएका भनिएका गाईको पोस्टमार्टम पछि आउने रिपोर्टका आधारमा घटनाका बारेमा यकिन थाहा हुनेछ ।
यसैबिच, गौ हत्याका विषयमा चौतर्फी आलोचना भएपछि नेपालगन्ज उपमहानगरपालिकाले एक प्रेस विज्ञप्ती निकाली सुर्खेतमा भिरबाट खसाई गौ हत्या गरिएको भन्ने गलत भएको भन्दै रोगी, विरामी र अशक्त गाईको स्वभाविक निधन भएको बताएकोछ ।
विज्ञप्तीमा दैलेख स्थित श्रीस्थान जङ्गलमा पठाइएका गाईको विच बाटोमै मृत्यु भएको घटनाले दुःखि बनाएको उल्लेख गर्दै उक्त घटनाको सत्यतथ्य छानविन गरि दोषिमाथि कारबाहीका लागि माग गरिएकोछ ।
उपमहानगरपालिकाका कार्यबहाक मेयर सुनिलसिंह हमालद्वारा शुक्रबार जारी विज्ञप्तीमा नेपालगन्जमा पशुचौपाया नियन्त्रण एकदमै चुनौतीका रुपमा रहेको उल्लेखछ ।
गौ हत्या घटनाले चर्को रुप लिएपछि शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले पनि एक विज्ञप्ती निकाल्दै गौ हत्या घटना क्रुर भएको भन्दै घटनामा संलग्नमाथि कारबाही हुनुपर्ने बताएकाछन् । उनले यस घटनामा तत्कालै प्रभावकारि रुपमा छानविन तथा अनुसन्धान अघि बढाईनुपर्ने बताए ।
केही साता अघि उपहानगरपालिकाका मेयर राणाको अध्यक्षतामा छाडा पशुचौपाया व्यवस्थापन समिति गठन भएको थियो । तर, विहीबार दैलेखमा गाई पठाउँदा उक्त समितिका पदाधिकारी तथा गाई बचाऊ अभियानका लागि करिब एक महिनादेखि सक्रियरुपमा लागेका नेपालगन्ज ग्यालरीका पदाधिकारीहरुलाई कुनै जानकारी नदिएको भन्दै समितिका सचिव समीरमान श्रेष्ठले राजिनामा दिएका छन् । उनले यसरी गौ हत्यामा संलग्न जो कोहीलाई कानूनी दायरमा ल्याउनुपर्ने बताएकाछन् ।
स्मरणहोस्–गाई बचाऊ अभियानकै सदस्य तथा नेपालगन्ज मेडिकल कलेजका डाक्टर विनोद कर्णले आफ्ना सामाजिक सञ्जाल फेसबुकमा नेपालगन्जको काञ्जी हाउसबाट दैलेखको लागि गाई पठाइएको दावि गरेकाछन् । उनले फेसबुक स्टाटसमा लेखेकाछन्–‘कान्जी हाउसमा रहेका करिब ३ सयको हाराहारीमा गाई बाच्छाबाच्छीलाई दैलेख पठाइयो । अब सडकमा रहेका छाडा चौपायालाई कान्जीहाउस लाने तयारी ।’