सिमलघारीका वीरेन्द्र पुनकी तीन वर्षीया छोरीको शव भेटियो


सेतोखरी सेतोखरी   मंगलबार, असोज १, २०८१
सिमलघारीका वीरेन्द्र पुनकी तीन वर्षीया छोरीको शव भेटियो

नेपालगन्ज १ असोज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–६ सिमलघारीका वीरेन्द्र पुनकी हराइरहेकी ३ वर्षीया छोरी लक्ष्मी पुनको शव फेला परेकोछ । 

यो पनि पढ्नुहोस् आँगनमा खेलिरहेकी वीरेन्द्र पुनकी तीन वर्षीया छोरी बेपत्ता

आईतबार राती आफ्नै घरको आँगनदेखि बेपत्ता भएकी वीरेन्द्रकी ३ वर्षीया छोरी लक्ष्मीको मङ्गलबार विहान घर नजिकैको जङ्गलमा शव फेला परेको हो । 

प्रहरी र स्थानीयबासीको अथक खोजतलासका क्रममा बेपत्ता लक्ष्मीको घर नजिकैको जङ्गलमा मंगलबार बिहान ११ बजे शव फेला परेको बाँके प्रहरीले जनाएको छ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

घरदेखि करिब एक किलोमिटर पश्चिमतर्फको रहेको जङ्गलमा बालिकाको टाउको र एउटा खुट्टा फेला परेको ईलाका प्रहरी कार्यालय खजुराका प्रहरी निरीक्षक पुर्ण केसीले जानकारी दिए । जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा टाउको र एउटा खुट्टा फेला परेको उनले बताए ।

उनका अनुसार बालिका पुनलाई बाघ वा चितुवाले खाएको अनुमान गरिएको छ । सोमबार स्थानीयबासीले बालिकाको खोतलासका क्रममा बाघ देखेको बताएका छन् । स्थानीयलाई देखेपछि बाघ रुख चढ्न खोजेको र सोक्रममा स्थानीयको भागाभाग भएको खोजतलासमा संलग्न एक स्थानीयले बताए । शव भेटिएको स्थानमा बाघको पाईला देखिएकाले बाघले नै बालिका खाएको हुनुपर्ने आँकलन गरिएको प्रहरी निरीक्षक केसीले बताए ।

बेपत्ता बालिकाको खोजिमा आईतबार रातीदेखि सोमबार दिनभर सशस्त्र प्रहरी, प्रहरीको तालिम प्राप्त कुुकुर सहित नेपाल प्रहरी, वनका कर्मचारी र स्थानीयबासी खटिएका थिए भने मङ्गलबार बिहान वनका कर्मचारी, नेपाल प्रहरी र स्थानीयले खोजतलास गर्ने क्रममा बालिकाको शव फेला परेको थियो ।

मृतक बालिका आईतबार राती करिब ८ बजेको समयमा आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा एकाएक बेपत्ता भएकी थिइन् ।