लोपोन्मुख राउटे समुदायका एक युवकको मृत्यु


सेतोखरी सेतोखरी   बिहीबार, असोज ३, २०८१
लोपोन्मुख राउटे समुदायका एक युवकको मृत्यु

मृतक २२ वर्षीय वृषबहादुर शाही । तस्वीर सौजन्य : लालबहादुर खत्री

सुर्खेत ३ असोज : लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । योसँगै लोपोन्मुख राउटे समयुदायको संख्या घटेकोछ । पछिल्लो ६ महिनादेखि बिरामी रहेका लोपोन्मुख राउटे समुदायका २२ वर्षीय वृषबहादुर शाहीको मृत्यु भएको हो ।

शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । उपचार हुन नसकेपछि हाल राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका–१, सिमेलसाल फर्कँदै गर्दा बुधवार राति ९ बजे सुर्खेतको कल्यान काँधमा मृत्यु भएको थियो । 

राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसीका अनुसार उपचार गर्न अस्पताल जान नमान्ने राउटे समुदायलाई सम्झाई बुझाई गर्दा बल्ल भदौ ३१ मा उपचार गर्न सहमति जनाएका थिए ।

गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत ल्याइएको मृतक शाहीको खकार चेक गर्दा क्षयरोग रोग देखिएको थियो । उपचारमा संलग्न चिकित्सकले सरुवा टिबी भएको बताएकाछन् । 

Kanti Aarogya Hospital Nepalgunj

‘क्यान्सर पो हो कि भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मञ्जुर भएनन्, त्यसपछि अस्पतालले डिस्चार्ज गरिदियो । फर्किँदै गर्दा बाटोमा मृत्यु भएको हो’ स्वास्थ्यकर्मी बिसीले बताए ।

मृतक राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन् । यसअघि मृतकका दाजु कपील शाहीको ६ वर्षअघि मृत्यु भएको हो ।

२०७२ सालमा कपील अछामको भैरवस्थानको कुजेडामा आगोले पोलिएका थिए । कपील वीरबहादुर शाहीका जेठा छोरा हुन् ।

वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको छ ।