चौथो नेपालगन्ज फोटो फेस्टिवलका लागि फोटो आह्वान


सेतोखरी सेतोखरी   ९ घण्टा अगाडि
चौथो नेपालगन्ज फोटो फेस्टिवलका लागि फोटो आह्वान

नेपालगन्ज ३ असोज : चौथो नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाकालागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज १७ गते सम्म रहेको छ ।

अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवलको प्रतिस्पर्धामा देशैभरबाट फोटो पठाउन सकिन्छ ।

विभिन्न ९ वटा विधामा फोटो प्रतिष्पर्धा हुनेछ भने हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत गरिनेछ । साथै प्रतियोगी सबै फोटो मध्ये सर्वाेत्कृष्ट फोटोलाई वर्ष फोटो उपाधीबाट पुरस्कृत गरिनेछ ।

वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लव (पिजे क्लब) का पूर्व अध्यक्ष विकास काकीर्को नेतृत्वमा वरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक टिमले फोटोको अन्तिम छनोट गर्नेछन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

फोटो प्रतिष्पर्धामा रहेका विधाहरु समाचार, दैनिक जीवन, पर्यटन, वन्यजन्तु, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, कृषी, खुशी र उत्साह झल्किने फोटोहरु नेपाल स्माईल रहेका छन् ।

हरेक बिधामा एक जना ब्यक्तिले २ वटासम्म फोटो पठाउन सक्नेछन् । अन्तरालको अफिसियल वेवसाइट antaral.com.np मा लगइन गरेर फोटो पठाउन सकिनेछ ।

‘सिङ्गो नेपाल झल्किने फेस्टिवलको रुपमा नेपालगन्ज फोटो फेस्टिवललाई सञ्चालन गरिने छ’ — अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने – ‘यो फोटोग्राफी सम्बद्ध धेरै व्यक्तिहरुको जमघटको साझा फोरम पनि बन्नेछ ।’

फेस्टिवल दुई दिन नेपालगन्जमा आयोजना हुनेछ । यस अवसरमा गरिने फोटो प्रर्दशनीमा देशभरबाट छानिएका एक सय ५१ फोटो राखिनेछ । साथै २ दिने फोटोग्राफी कार्यशाला हुनेछ, जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणका लागि काठमाण्डौंबाट वरिष्ठ फोटो पत्रकारहरुको उपस्थिति रहनेछ ।

यसैगरी फोटोग्राफी अन्तरक्रिया आयोजना हुनेछ । जसमा फोटो पत्रकार र फोटोग्राफरहरुले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन् । यस फेस्टिबलले अघिल्लो पुस्ता र नयाँ पुस्ताबीच सेतुको काम पनि गर्नेछ ।

यसैगरी प्रदर्शनीमा राखिएका फोटोहरुलाई सर्वसाधारणको बढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले पनि गरिनेछ । फेस्टिबल पछि फोटोहरु राजधानी काठमाण्डौं र मुलुकका बिभिन्न स्थानमा प्रदर्शन गरिनेछ ।

पुरस्कार राशी दोब्बर

वर्ष फोटो 
फोटो प्रतिस्पर्धाको सर्वोत्कृष्टलाई विगतमा २५ हजार नगद सहित प्रमाणपत्र प्रदान गर्दै आएकोमा पुरस्कार राशी यस वर्षदेखि दोब्बर बढी वृद्घि गरी ५१ हजार १ सय ११ रुपैयाँ पुर्याइने भएको छ ।
दोस्रो संस्करणसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका फोटो मात्रै सहभागी गराइएको यस प्रतिस्पर्धालाई तेस्रो संस्करणदेखि देशव्यापी बनाइएको थियो ।

राष्ट्रिय स्तरको प्रतिस्पर्धा भएकोले यस वर्षदेखि पुरस्कार राशी बृद्धि गरिएको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताएका छन् । यसैगरी हरेक विधाको उत्कृष्टलाई विगतमा नगद रु ५ हजार सहित प्रमाणपत्र दिने गरिएकोमा यस वर्ष वृद्घि गरिने भएको छ ।

पिपुल्स च्वाइस फोटो अवार्ड

यसैगरी फोटो प्रतिस्पर्धामा देशैभरबाट छानिएका उत्कृष्ट २५ वटा फोटो मध्येबाट एउटा फोटोलाई ‘पिपुल्स च्वाइस फोटो अवार्ड’ प्रदान गरिने छ । यस अवार्ड विजेताले रु. ५० हजार १ रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छ । टप २५ वटा फोटोहरु मध्ये अनलाईन भोटिङ्गका आधारमा यो अवार्ड छानिनेछ । सबैभन्दा बढी भोट प्राप्त गर्नेले अवार्ड जित्नेछन् ।

फोटो छनोट पछि १५ दिनको समय दिएर अनलाइन भोटिङ्ग खुल्ला गरिने आयोजक अन्तरालले जनाएको छ ।

सद्भावना दूतमा चुङ्वाकै निरन्तरता

चर्चित वाईल्डलाईफ फोटोग्राफर चुङ्वा शेर्पालाई नेपालगन्ज फोटो फेस्टिवलको गुडविल एम्वासडर (सद्भावना दूत) मा यस वर्ष पनि निरन्तरता दिइएको छ । गत वर्ष फोटोग्राफर शेर्पा र फेस्विटलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहबीच राजधानी काठमाण्डौंमा सो सहमति भएको थियो ।

शेर्पाले हुम्लाको लिमी भ्यालीमा खिचेको ‘वाईल्ड याक’ (जंगली याक) को फोटो निकै चर्चित बन्यो । यो फोटो खिच्ने क्रममा याकको आक्रमणबाट मुस्किलले जोगिएको शेर्पा बताउँछन् ।

वाईल्ड याक विश्वकै दुर्लभ वन्यजन्तु हो । जुन नेपालको हुम्ला क्षेत्र र तिव्वती पठारहरुमा भेटिएको छ । जंगली याकलाई कर्णाली प्रदेशको सुर्खेतमा यसै वर्ष आयोजना हुने १०औं राष्ट्रिय खेलकुदको ‘मस्कट’ घोषणा गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो समय उनले खिचेको पाटेबाघका तस्वीर र भिडियो निकै चर्चित छन् ।

एअरलाईन्स र होटेल व्यवसायमा लामो समय काम गरेका चुङ्वा शेर्पा शोलुखुम्वुको लुक्ला निवासी हुन् । ५८ वर्षको उमेरपछि क्यामेरा लिएर आफ्नो शौख पुरा गर्न निस्केका शेर्पाले हिमचितुवा, रेडपाण्डा, बाघ, विभिन्न चराहरुको दुर्लभ फोटो खिचेका छन् । नेपालमा मात्र होईन तान्जानियको राष्ट्रिय निकुञ्जमा समेत करिव एक महिना बसेर फोटो खिचेको अनुभव उनीसँग छ ।

हाल शेर्पा काठमाण्डौमा बसोबास गर्छन् । वाईल्डलाईफ फोटोग्राफी गर्न व्यक्तिगत तवरमा धेरै खर्च गरेका चुङ्वा याकको फोटो खिच्न हेलिकोप्टरनै चाटर्ड गरेर लिमी भ्याली पुगेका थिए । प्रविधिमा निकै रुची राख्ने शेर्पाले विश्वकै सबैभन्दा नयाँ प्रविधिका क्यामेरा र लेन्स लगायत उपकरण चलाईरहेका छन् ।

शेर्पाको यो जाँगर र सक्रियताको सम्मानमा उनको सवारी साधनलाई नेपालको सबै राष्ट्रिय निकुञ्ज प्रवेशको अनुमति दिइएको छ ।

हरेक फोटोसँगै भिडियो पनि खिच्ने शेर्पा सामाजिक सञ्जाल फेसबुकमा सक्रिय छन् भने टिकटकमा उनले खिचेको फोटो र भिडियो ‘भाइरल’ छन् । ‘यो उमेरमा पनि चुङ्वा शेर्पाको उत्साह, हिम्मत र सक्रियता र योगदानलाई सम्मान गर्न हामीले सद्भावना दुतमा निरन्तरता गरेका हौं’ अन्तरालका प्रमुख कार्यकरी जयनारायण शाहले भने ‘उहाँको सहभागिताले नेपालगञ्ज फोटो फेस्टिवलले पनि थप उचाई लिनेछ ।’