के फरक छ, पितृको तिथिमा गर्ने श्राद्ध र सोह्र श्राद्धमा ?


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
के फरक छ, पितृको तिथिमा गर्ने श्राद्ध र सोह्र श्राद्धमा ?

नेपालगन्ज ५ असोज : वैदिक सनातन समाजमा अहिले पितृ पक्ष अर्थात् सोह्र श्राद्ध चलिरहेको छ ।

आश्विन कृष्ण पक्षका १५ दिन र अघि वा पछिका एक तिथिलाई समेत समेटेर १६ तिथिमा श्राद्ध गरिने भएकाले यो पक्षलाई सोह्र श्राद्ध भनिन्छ । प्रतिपदादेखि औँसीसम्मका १५ दिन र अघिल्लो पूर्णिमा वा पछिको प्रतिपदालाई समेत समेटेर सोह्र दिन पु¥याइएको हो ।

यो समयमा आफ्नो पितृ दिवंगत भएको तिथिलाई आधार मानेर एक दिन श्राद्ध गरिन्छ । अर्थात् वर्षभरका कुनै महिना, कुनै पक्षको कुनै पनि तिथिमा मृत्यु भए पनि पितृपक्षमा त्यही तिथिमा श्राद्ध गरिन्छ ।  

पिता वा माता मृत्यु भएकै दिन (तिथि)मा गरिने श्राद्धलाई ‘एकोद्दिष्ट’ श्राद्ध भनिन्छ । यसमा एकजनाको मात्र सम्झना गरिन्छ । उनलाई तृप्त पार्ने उद्देश्य राखिन्छ । यो श्राद्धमा एकजनालाई मात्र पिण्ड दिइन्छ । हाम्रो समाजमा बुबा–आमा र हजुरबुबा–हजुरआमाको तिथिमा श्राद्ध गर्ने परम्परा छ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

सोह्रश्राद्धमा भने घरतर्फका तीन पुस्ता पिता–माता, पितामह–पितामही र प्रपितामह–प्रपितामही र मावलीतर्फका तीन पुस्ता मातामह–मातामही, प्रमातामह–प्रमातामही र वृद्धप्रमातामह–वृद्धप्रमातामहीको सम्झना गरिन्छ । उनीहरूलाई पिण्ड दिइन्छ । सनातन परम्परामा घरतर्फका पितृलाई तीन र मावलीतर्फका पितृलाई तीन गरी ६ पिण्ड दिने विधान छ । 

पहिलेपहिले हरेक औँसीमा श्राद्ध गर्ने वा पितृको सम्झना गर्ने परम्परा थियो । अहिले हरेक औँसीमा श्राद्ध नगरिने भएका कारण आश्विन कृष्ण पक्षलाई पितृ पक्षका रूपमा लिएर श्राद्ध गर्ने परम्परा बसेको बताइन्छ । औँसी अर्थात् पर्वकै स्वरूपमा श्राद्ध गर्ने भएकाले पितृपक्षमा गरिने श्राद्धलाई ‘पार्वण’ श्राद्ध भनिन्छ । 

एकोद्दिष्ट श्राद्ध मध्याह्न र पार्वण श्राद्ध अपराह्नमा गर्ने विधान छ ।

एकोद्दिष्ट र पार्वणबीच यस्तो फरक भए पनि श्राद्धमा गर्नुपर्ने प्रक्रिया एउटै हुन् । सनातन शास्त्रमा श्रद्धापूर्वक गर्ने कर्मलाई श्राद्ध भनिएको छ । श्राद्धमा शुद्धताको बढी महत्व हुन्छ । श्राद्ध गर्ने व्यक्तिदेखि स्थान, सामग्री, वचन (मन्त्र) र कर्म (विधि)मा समेत शुद्धताले अर्थ राख्छ ।