दशैं मनाउन घर फर्किँदै नेपाली, सीमामा बढ्यो भीड


सेतोखरी सेतोखरी   आइतबार, असोज ६, २०८१
दशैं मनाउन घर फर्किँदै नेपाली, सीमामा बढ्यो भीड

नेपालगन्ज ६ असोज : नेपालगन्ज नाकामा यतिबेला दशैं मनाउन घर फर्किने नेपालीको संख्या बढ्दो छ । यो नाकाबाट दशैं मनाउन फर्किने प्रायः ‘घरमुली’ छन् । जो श्रीमती, छोराछोरीलाई छाडेर मौसमी कामका लागि भारतका विभिन्न शहरमा गएका थिए ।

अहिले फर्किरहेका व्यक्ति नै घरमा पुगेपछि परिवारमा हर्ष, खुशी र रमाइलो अनि दशैं घर भित्रिने देखिन्छ । अहिले घर आएका व्यक्तिले नै पैसा, लत्ताकपडा र दशैंको सामान बोकेर आएका छन् । खासमा उनी व्यक्ति घर फर्किएका छैनन्, परिवारको खुशी बोकेर आएका छन् ।

दशैं मनाउन घर फर्किनेको नेपालगन्ज नाकामा भीडभाड देखिन्छ । सीमावर्ती भारतीय शहर रुपैडिहामा प्रायः विहानै आइपुग्ने उनीहरु सामान बोकेर हस्याङ–फस्याङ अनि असिनपसिना हुँदै नेपाल भित्रिरहेका छन् । 

कर्णाली प्रदेशको दैलेख, जाजरकोट, अछाम, रोल्पा, रुकुम, सुर्खेत, सल्यान, लुम्बिनीका बाँके, बर्दिया, दाङ, सुदूरपश्चिमका कैलाली जिल्लाबाट भारतको दिल्ली, गुजरात, सिमला, कालापहाड, प्रयागलगायत ठाउँमा गएका नेपाली दशैं मनाउन घर फर्किएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज नाकाबाट यतिबेला दैनिक तीन हजारको संख्या नेपाली घर फर्किरहेका छन् । नेपालमा रोजगारी नभएपछि भारतमा गएर काम गर्नुपर्ने उनीहरुको बाध्यता भएपनि दशैं नजिकिएसँगै घर फर्किन थालेका हुन् । 

उनीहरु अरुबेला बाहिर गएर जति दुःख गरेपनि दशैं घरपरिवारसँग मनाउन जसरी भएपनि नेपाल फर्किने गर्छन् । तर, घर फर्किएका नेपालीले जहिलै भारतीय सीमामा सास्ती खेप्ने गरेका छन् । 

सामान लिएर आउँदा जाँचका नाममा भारतीय सुरक्षाकर्मीले यता र उता फालिदिने गरेका बाँकेका रुद्र पुनको भनाइ छ । ‘मजदुरी गरेर कमाएको पैसाले घरपरिवारका सदस्यलाई कपडा र खानेकुरा ल्याएका हुन्छौं, जाँचका नाममा यता र उता फालिदिन्छन्, त्यसैमा उनीहरुको हेपाहा व्यवहारले मन कटक्कै खान्छ’ पुनले थपे ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसको रोजाई ‘कालापहाड’ हुने गर्दछ । हरिद्वारमा तीर्थालुलाई बोकेर मन्दिरसम्म पु¥याउने काममा नेपाली धेरै खटिन्छन् । सिमलामा स्याउ बगैचामा काम गर्नेको अर्को लर्को हुने गर्दछ । त्यसरी मजदुरी गरेर ल्याएको पैसाले नेपालका परिवारको मुहारमा खुशी भर्छन् । तर, सीमानाकामा दलाल, लुटेरा, चोरसंगै सुरक्षाकर्मीको गिद्दे नजरको उनीहरु सिकार हुने गर्छन् ।

कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका मानिस मौसमी कामका लागि भारतमा जाने गर्दछन् । चाडबाड र खेती लगाउने बेलामा आउने उनीहरु अरुबेला उतै काममा हुन्छन् । नेपालीहरु सकेसम्म दशैंमा घर फर्किन्छन् । 
वर्षभरी मजदूरी गरेपनि चाडबाड राम्ररी मनाउने नेपालीको बानी नै रहेको हुन्छ । कालापहाड पुगेकाहरु पनि यतिबेला दशैंमा खुशी बनाउन झोलाझाम्टा बोकेर घर फर्किरहेका छन् ।

इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले दशैं मनाउन घर फर्किने नेपालीको संख्या दिनहुँ बढ्दै गएको बताए । उनले दिनमा तीन हजारको आसपासमा नेपाली फर्किरहेको बताए ।