सकिन लागेको मनसुन लम्बियो, यसपटक हिले दशैंको सम्भावना


सेतोखरी सेतोखरी   आइतबार, असोज ६, २०८१
सकिन लागेको मनसुन लम्बियो, यसपटक हिले दशैंको सम्भावना

नेपालगन्ज ६ असोज : यस वर्षको मनसुन बहिर्गमनको तत्काल सम्भावना नदेखिएकाले दशैंसम्म पनि पानी पर्ने पूर्वानुमान गरिएकोछ । योसंगै यस वर्ष हिले दशैं हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यो पनि पढ्नुहोस्  साताभर मनसुनी वायुको प्रभाव, धानमा क्षति पुग्ने सम्भावना

जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलका अनुसार दशैंसम्म मनसुन रहनसक्ने सम्भावना छ । त्यो भनेको वर्षा हुन सक्छ भनेको हो । सन् २०२२ मा पनि दशैंको टीकाको दिन देशका अधिकांश भागमा वर्षा भएको थियो ।

यस वर्षको मनसुन सरदर मिति (जुन १३) भन्दा तीन दिन छिटो (जुन १० अर्थात् जेठ २८ गते) नेपाल भित्रिएको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ ।

Kanti Aarogya Hospital Nepalgunj

यस वर्षको अक्टुबर २ (असोज १७ गते) घटस्थापनाको अघिल्लो दिन परेको छ । यसैगरी दशैंको टीका असोज २६ गते परेको छ । मौसमविदहरु मनसुनको प्रणालीलाई हेर्दा दशैंको टीकाको दिनसम्मै मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेको बताउँछन् ।

पर्सी मंगलबारदेखि दशैंसम्मै वर्षाको सम्भावना देखिएकोछ । नेपालमा विगत एक दशकलाई हेर्दा सरदर मितिभन्दा पछिसम्म मनसुन कायम रहेको देखिएको छ । 

मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) आउन १० दिन बाँकी छ । यतिबेलासम्म भारतको राजस्थानबाट मनसुन बाहिरिँदै गएको देखिन्थ्यो र त्यसको केही दिनपछि नेपालबाट पनि बाहिरिन्थ्यो ।

तर, अहिलेसम्म मनसुन बाहिरिने कुनै पनि संकेत नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएकोछ ।

‘दशैंको बेलामा मनसुन बाहिरनका लागि यतिबेलासम्म विथड्रलको संकेतहरु देखिन्छ । तर, अहिलेसम्म सिस्टममा कतै पनि विथड्रलको संकेत देखाएको छैन । विगतका वर्षहरुमा पनि अक्टोबरसम्म मनसुन कायम रहेको र यस वर्ष पनि त्यस्तै सम्भावना रहेकोछ ।

मौसमविदका अनुसार केही वर्षयता नेपालमा मनसुन अवधि औसतभन्दा लम्बिने र वर्षा पनि अस्वाभाविक हुने गरेको छ । यसो हुनुमा जलवायु परिवर्तनलाई प्रमुख कारण मानिएको छ ।