यी प्रदेशमा धेरै वर्षाको सम्भावना
नेपालगन्ज ८ असोज : सामान्यतया असोज लागेसंगै वातावरण चिसिन थाल्छ । दिउँसो गर्मी भए पनि विहान साँझ चिसो हुने गर्छ । तर, पछिल्लो समय मौसममा आएको परिर्वतनसंगै नेपालगन्जसहित तराई मधेशमा गर्मी बढेकोछ ।
गर्मी बढेसँगै सर्वसाधरणको दैनिकीमा असर परेकोछ । पछिल्ला एक हप्तादेखि नेपालगन्जमा गर्मी बढेकोछ । यो गर्मी वैशाख जेठको जस्तो भने छैन । आकाश धुम्म परेकोछ, वातारण हेर्दा चिसो मौसम जस्तो भएपनि पसिना खलखलती बग्छ ।
यो पनि पढ्नुहोस् सकिन लागेको मनसुन लम्बियो, यसपटक हिले दशैंको सम्भावना
गुम्सिएको ठाउँमा रहँदा हुने गर्मी जस्तै वातवरण हुँदा पछिल्ला दिन नेपालगन्जसहित तराईमधेशको जनजिवन अस्तव्यस्त भएको हो । गर्मीले उकुसमुकुस हुँदा बालबालिका, बृद्धबृद्धा र विरामीहरुलाई धेरै असर गरेकोछ ।
गर्मीले उकुसमुकुस बनेका सर्वसाधरण विजुलीबत्तीबाट चल्ने पंखा चलाएर बस्दा समेत उनीहरुलाई सितलता हुन सकेको छैन । असोजको पहिलो हप्ता सकिनै लाग्दा पनि मौसम बैशाख जेठ जस्तो गर्मी भएकोछ ।
गर्मी बढ्दै गएपछि पूर्वी नेपालको मोरङ र झापाका स्थानीय तहहरूले धमाधम विद्यालय बिदा दिएकाछन् । पछिल्लो एक हप्तादेखि नेपालगन्जको मौसम गर्मीयामको जस्तै छ । हिजो मंगलबार भने नेपालगन्जमा गर्मी बढी थियो । भने आज आईतबार पनि विहानैदेखि घाम लागेर गर्मीले वातावरण नै उकुसमुकुस बनेकोछ ।
यसैबीच, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकोले देशभर मनसुनी वायुको प्रभाव देखिएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थान हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ ।
यो पनि पढ्नुहोस् साताभर मनसुनी वायुको प्रभाव, धानमा क्षति पुग्ने सम्भावना
आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा घनघोर वर्षाको सम्भावना रहको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यस वर्षको मनसुन सरदर मिति (जुन १३) भन्दा तीन दिन छिटो (जुन १० अर्थात् जेठ २८ गते) नेपाल भित्रिएको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ ।
यस वर्षको अक्टुबर २ (असोज १७ गते) घटस्थापनाको अघिल्लो दिन परेको छ । यसैगरी दशैंको टीका असोज २६ गते परेको छ । मौसमविदहरु मनसुनको प्रणालीलाई हेर्दा दशैंको टीकाको दिनसम्मै मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेको बताउँछन् ।
कृषि क्षेत्रमा असर पर्नसक्ने
महाशाखाले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दाअगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ ।