राष्ट्रिय ग्रिडमा जोडिँदै दुई सय ७० मेगावाट विद्युत


सेतोखरी सेतोखरी   बुधबार, असोज ९, २०८१
राष्ट्रिय ग्रिडमा जोडिँदै दुई सय ७० मेगावाट विद्युत

नेपालगन्ज ९ असोज : एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।

लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको एक सय दुई मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादित एक सय ११ मेगावाट, माथिल्लो साञ्जेनको १४ दशमलव आठ मेगावाट र साञ्जेन जलविद्युत् आयोजनाको ४२ दशमलव पाँच मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेको हो ।

नुवाकोटको पैरेबेंसीमा निर्माण भएको त्रिशूली थ्री बी हब २२०÷१३२÷३३ केभी (३२० एमभिए) क्षमताको सवस्टेशन र रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४ स्थित थम्बुचेतमा निर्माण भएको चिलिमे हव २२०÷१३२÷३३ केभी (३२० एमभिए) क्षमताको सवस्टेशन र २८ किलोमिटर चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा उत्पादित विद्युत् खेर जाने अवस्था रहेकोछ ।

रसुवा र नुवाकोटका विभिन्न आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली थ्रीबी हब २२०÷१३२÷३३ केभी (३२० एमभिए) क्षमताको सवस्टेशनबाट उक्त जलविद्युत् काठमाडौँको मातातीर्थ सवस्टेशनमा पुर्याइनेछ।

Kanti Aarogya Hospital Nepalgunj

चिलिमेदेखि त्रिशूली हबसम्मको २८ किलोमिटरको प्रसारण लाइनमध्ये २० किलोमिटरको डबल सर्किट लाइन (५१ वटा टावर) र आठ किलोमिटरको चार सर्किट लाइन (२४ वटा टावर) छन् ।

चार सर्किट लाइन रहेको आठ किलोमिटर टावरमा निर्माणाधीन अपर त्रिशूली एक (२१६ मेगावाट)बाट उत्पादन हुने विद्युत्लाई त्रिशूली थ्री बी हबसम्म जोडी राष्ट्रिय प्रसारण ग्रीडमा विद्युत् प्रवाह गरिनेछ ।

प्रसारण लाइनका लागि आवश्यक ७५ वटै टावरको फाउण्डेसन निर्माण भए तापनि हाल त्रिशुली थ्रि वी हवको छेउमा (६०० मिटर), मैलुङबेसी (१२३५ मिटर) र हाकु (१४०० मिटर)मा तार तान्ने काम भइरहेको छ ।