नौ ट्रकमा १७९ गाई-गोरू नेपालगन्ज फिर्ता


नौ ट्रकमा १७९ गाई-गोरू नेपालगन्ज फिर्ता

सुर्खेत कट्कुवामा रहेका गाई–गोरु नेपालगन्ज फिर्ता पठाउनका लागि ट्रका लोड गरिदै । तस्विर: दामोदर भण्डारी

(स्थलगत रिर्पोट )

कट्कुवा (सुर्खेत) : दैलेखको श्रीस्थान जङ्गलमा छोड्नका लागि नेपालगन्जबाट लगिएका करिब तीन सय गाई–गोरूमध्ये शनिबार केही गाई–गोरू नेपालगन्जतर्फ फिर्ता गरिएको छ ।

सुर्खेतको कट्कुवा जङ्गलमा बेवारिसे छाडिएका गाई–गोरुको उद्वार गरी पुनः नेपालगन्जतर्फ पठाइएको हो ।

स्थानीय प्रशासनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाई–गोरुलाई शनिबार दिउँसोदेखि नेपालगन्जफिर्ता पठाउन थालेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

शनिबार दिउँसो तीनबजेसम्म नौवटा ट्रकमा एक सय ७९ वटा गाई–गोरु नेपालगन्ज फिर्ता पठाउँनका लागि लोड गरिएको छ । घाईते रहेका कतिपय गाई–गोरुको औषधि उपचार गरी फिर्ता पठाइएको हो ।

चिकित्सकको टोलीले मृत भेटिएका गाई–गोरुको मुचुल्का तथा शव परीक्षण गर्नुका साथै घाईतेको उपचार गरिरहेका छन् ।

सुर्खेतका जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार मृत गाई–गोरुको संख्या ३० पुगेको छ । परीक्षण रिर्पोटपछि मात्र गाई–गोरुको हत्या भए–नभएको यकिन हुने प्रहरीको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रअनुसार नेपालगन्ज उप–महानगरपालिकाको काञ्जी हाउसबाट दैलेखको श्रीस्थान धार्मिक क्षेत्रमा पठाउने भनी ती गाई–गोरु पठाइएको थियो । तर, दैलेखको भैरवी गाँउपालिका–१ स्थित श्रीस्थान मन्दिर व्यवस्थापन समितिले भने आफ्नो तर्फबाट लिखित र मौखिक कुनै माग नगरेको प्रतिक्रिया दिएको छ ।