चाडपर्वमा देश छोड्नुको पीडा : भविष्यको खोजीमा ५७ हजार नेपाली परिवारबाट विछोडिए


सेतोखरी सेतोखरी   बिहीबार, असोज १०, २०८१
चाडपर्वमा देश छोड्नुको पीडा : भविष्यको खोजीमा ५७ हजार नेपाली परिवारबाट विछोडिए

नेपालगन्ज १० असोज : यतिबेला नेपालीलाई चाडपर्वले छपक्कै छोइसकेकोछ । नेपालीको महान चाड दशैं–तिहार नजिकिए पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने कमी आएको छैन ।

नेपालीका दशैं–तिहार जस्ता प्रमुख चाडपर्व नजिकिएका बेला विभिन्न देशमा गरी ५७ हजार ४९३ नेपालीहरू विदेशिएका छन् । यो चालु आर्थिक वर्ष ०८१–०८२ को भदौ महिनामात्र विदेश जाने नेपालीहरुको संख्या हो ।

चाडपर्व नजिकिए पनि रोजगारीको खोजीमा विदेश जानेको संख्यामा कुनै कमी आएको छैन । देशभित्र रोजगार सिर्जना हुन नसक्दा युवाहरु विदेश जानु पर्ने अवस्था नफेरिएको हो ।

चाडपर्वमा विदेशिनु निकै दुःखद् अवस्था हो । चाडपर्वमा टाढा भएका नेपाली पनि घर फर्कने, आफन्ती र परिवारसँग समय बिताउने समयमा भविष्यको खोजीमा चाडबाडकै बेला परिवारसँग विछोडिएर विदेशिनु पर्ने अवस्था अत्यन्त चिन्ताको विषय हो । देशमा रोजगारी सिर्जना नुहँदा र युवाहरुलाई आशा जगाउन नसक्दा यस्तो अवस्था आएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

वैदेशिक रोजगार विभागका अनुसार विदेशिनेमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । गत साउनमा ६० हजार विदेशिएका थिए ।

भदौमा २९ हजार ५२८ जना संस्थात रुपमा र ९ हजार २६ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । त्यस्तै जिटुजीमार्फत एक हजार ३ जना विदेश गएका छन् । यो नयाँ तथा पुरानो श्रम स्वीकृत लिएर जाने श्रमिकको संख्या हो ।

सबैभन्दा धेरै यूएई गए, मलेशिया जाने घटे

वैदेशिक रोजगार विभागका अनुसार भदौमा सबैभन्दा धेरै यूएई गएका छन् ।  पछिल्लो एक महिनामा युएइमा मात्र १८ हजार ६०५ नेपाली विदेश गएका छन् । त्यस्तै साउदीमा १० हजार ८३५, कतारमा ११ हजार २९१ र कुवेतमा ४ हजार २१५ श्रमिक वैदेशिक रोजगारीमा गएको तथ्यांक छ ।

यस्तै वैदेशिक रोजगारीमा मलेसियामा जाने श्रमिकमा भने ठुलो गिरावट आएको छ । साउनमा मलेसियामा एक हजार ३४४ जना वैदेशिक रोजगारीमा गएका छन् । यो कोभिडपछि अहिलेसम्मै ठूलो गिरावट हो । कुनै समय नेपालको प्रमुख श्रम गन्तव्य रहेको मलेसियामा भदौमा १ हजार १९३ श्रमिक गएका छन् ।

अघिल्लो आर्थिक वर्षको भदौमा ८ हजार १६३ जना श्रमिक रोजगारीको खोजीमा मलेसिया गएका थिए । गत मार्चमा मलेसियाले आप्रवासी श्रमिक लैजान कटौटी गर्दा यो संख्यामा कमी आएको विभागले जनाएकोछ । भदौमा युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य देखिन्छ । विभागका अनुसार रोमनीयमा सबैभन्दा धेरै श्रमिक गएका छन् ।

भदौमा युरोप राष्ट्र रोमनियामा एक हजार ८ सय ८८ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै क्रोएसियामा ७०९, साइप्रस ६ सय १२, माल्टामा २८२ जना गएको विभागको तथ्यांकछ । त्यस्तै जापानमा एक हजार ४५६ र दक्षिण कोरियामा एक हजार १०६ श्रमिक रोजगारीका लागि गएका छन् ।

सबैभन्दा धेरै धनुषाबाट गए,१३ हजार अदक्ष श्रमिक विदेशिए 

भदौमा सबैभन्दा धेरै धुनषाबाट वैदेशिक रोजगारीमा गएका छन् । भदौमा धनुषाबाट ३ हजार ३६०, सिराहबाट २ हजार ६४४, झापाबाट २ हजार ५७५, मोरङमा २ हजार ४००, महोत्तरी २ हजार ३६०, सुनसरी २ हजार ५७ जना वैदेशिक रोजगारीमा गएका छन् ।

नेपालबाट भदौमा विदेशिने श्रमिक मध्ये १३ हजार १७१ जना अदक्ष श्रमिक छन् । विभागका अनुसार भदौमा विदेशिनेमध्ये ३७ हजार ७८३ हजार श्रमिक दक्ष छन् । अर्धदक्ष ६ हजार १७५ जना विदेशिएका छन् । त्यस्तै व्यवसायिक दक्ष शिप भएका ३०९ जना गएका छन् भने ५५ जना उच्च दक्ष श्रमिकहरू विदेशिएका छन् ।