भेरीमै हुने भयो एमडी र एमएसको पढाई, न्याम्स र भेरी अस्पतालबीच सम्झौता


सेतोखरी सेतोखरी   शुक्रबार, असोज ११, २०८१
भेरीमै हुने भयो एमडी र एमएसको पढाई, न्याम्स र भेरी अस्पतालबीच सम्झौता

नेपालगन्ज ११ असोज : नेपालगन्जस्थित भेरी अस्पतालमा अब एमडी र एमएस विषयको पढाई हुने भएकोछ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) र भेरी अस्पतालबीच काठमाडौंमा शुक्रबार सम्झौता भएसँगै उक्त विषयको पढाई हुने बाटो खुलेको हो ।

न्याम्सका उपकुलपति प्राध्यापक डा. भुपेन्द्र बस्नेत र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदीबीच सम्झौता भएको छ । लामो समयको प्रतिक्षापछि भेरी अस्पतालमा एमडी र एमएस विषयको पढाई सञ्चालन गर्न बाटो खुलेपछि यसक्षेत्रका विद्यार्थीलाई सहज हुनेभएकोछ ।

सम्झौतापछि न्याम्सको आगामी साता बस्न लागेको सिनेट बैठकबाट औपचारिक रुपमा पारित गर्ने तयारी रहेको छ । प्रमुख मेसु डा. सुवेदीले भने, ‘न्याम्स र भेरी अस्पतालबीच औपचारिक रुपमा सम्झौता भयो, यसले भेरीमा एमडी र एमएस पढाई हुने बाटो खुलेको छ ।’ आगामी असोज २१ गते बस्न लागेको न्याम्सको सिनेट बैठकले पास गरेपछि कुन–कुन फ्याकेल्टीको पढाई सञ्चालन गर्ने भन्ने कुराको निश्चित हुने उनले बताए ।

एमडी र एमएस विषयको अध्ययन सुरु भएपछि भेरी अस्पतालको सेवा प्रवाह अझ राम्रो हुने डा. सुवेदीको भनाई छ । नेपालकै पुरानो सरकारी अस्पताल भएपनि भेरीमा वर्षौअघि देखी एमडी र एमएस विषयको पढाई सञ्चालन गर्ने प्रयासले सार्थकता पाउन सकेको थिएन । भेरी अस्पतालमा मेडिसिन, सर्जरी, अर्थोपेडिक, गाईनोक्लोजिष्ट, पिडियाट्रिक, एनेस्थोलोजिष्ट, रेडियोलोजी, इएनटी र एमडिजिपीमा एमडी र एमएस विषयको पढाई सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

पढाई सञ्चालनमा आएपछि भेरी अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालका रुपमा रहनेछ । संघीय सरकारको मातहतमा रहेको उक्त अस्पताललाई राज्य पुर्नसंरचना भएसँगै लुम्बिनी प्रदेश सरकारको मातहतमा केही समय राखिएको थियो, पछि पुनः अस्पताललाई संघीय सरकारकै मातहतमा राखिएको हो । 

यता अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले एमडी र एमएस विषयको पढाई सञ्चालन हुने भएपछि भेरी अस्पतालको उचाई थप बृद्धि हुने बताए । आफु नेतृत्वमा आएपछि अस्पताल भित्रका थुप्रै कुरा सुधारउन्मुख रहेको दाबी गर्दै अध्यक्ष शाहले अगाडी थपे, ‘यहाँ अब एमडी र एमएस विषयको पढाई हुने भएपछि अस्पतालले थप उचाई हाँसिल गर्नेछ ।’

सम्झौताका क्रममा न्याम्सका शिक्षा अध्यक्ष प्रा.डा. लोचन कार्की, डिन डा. अशिष ढुंगाना, सहायक डिन डा. विकास विक्रम अधिकारी र डा. राजेन्द्र श्रेष्ठ लगायत उपस्थित थिए । न्याम्सले अहिलेसम्म वीर अस्पताल, भरतपुर अस्पताल र कोसी अस्पताललाई मात्र एमडी र एमएस विषय अध्यापनका लागि स्वीकृति दिएको बताइएको छ ।