कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : प्रगतिशील समुहद्वारा अञ्जना धिताल नेतृत्वको टिम घोषणा


सेतोखरी सेतोखरी   शुक्रबार, असोज ११, २०८१
कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : प्रगतिशील समुहद्वारा अञ्जना धिताल नेतृत्वको टिम घोषणा

नेपालगन्ज ११ असोज : आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागी प्रगतिशील समुहले उम्मेदवारी घोषणा गरेको छ । सो समुहले अञ्जना धिताललाई अध्यक्ष पदमा अगाडि सारेको छ । एक कार्यक्रमकाबिच सो समुहले अध्यक्षमा अञ्जना धिताल सहित १९ जना उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो । 

सो समुहबाट बरिष्ठ उपाध्यक्षमा भुपेन्द्र काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दीपक अर्याल, उपमहासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गङ्गा बगाले, सहकोषाध्यक्षमा टङ्क खनाल रहेका छन् । 

त्यसैगरी सदस्यहरूमा रबि कर्माचार्य, मोतिप्रसाद सुवेदी, भवानी प्रसाद कडेँल, अस्मिता केसी, चक्र बहादुर केसी, परिर्वतन विश्वकर्मा, राजिव शर्मा, प्रतिभा खड्का, अङ्कित सिग्देल, एक बहादुर खड्का, एसोसिएटतर्फ कृष्ण रानाभाटको उम्मेदवारी घोषण गरेको हो । 

उम्मेदवारहरूको नाम सार्वजनिक गर्दै नेपाल उद्योग तथा व्यवसायी महासङ्घका कोहलपुर नगरअध्यक्ष ज्ञानेन्द्र खनालले धिताल नेतृत्वको टिम कोहलपुर क्षेत्रका व्यवसायीका समस्या समाधान गर्न सक्षम रहेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनले युवा र व्यवसायीका क्षेत्रमा परिपक्क टिम भएकाले अत्याधिक मतले विजयी गराउन आग्रह गरे । उनले कोहलपुरको उद्योग वाणिज्य क्षेत्रले २५ वर्षमा महिला नेतृत्व पाउन लागेको भन्दै सहयोग गर्न आग्रह गरे । 

अध्यक्षकी उम्मेदवार अञ्जना धितालले यसअघिको नेतृत्वले अगाडि सारेका लगायत व्यवसायीका क्षेत्रका समस्या समाधानका लागी आफू लागी पर्ने बताइन । उनले सङ्कटपूर्ण व्यवसायमा मलम लगाउन लागी पर्ने बताइन् । उनले सीमा बजार रुपैडिहाको कारण चेपुवामा परेको कोहलपुरको बजार, ब्याजदर समस्या, घरभाडा लगायतका समस्यालाई प्राथमिकताका साथ समाधानमा लाग्ने बताइन । 

कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मणराज पौडेलले स्थानीय सरकारको पर्याप्त सहयोग नहुँदा सोँचे जति काम गर्न नसकेको बताए । 

उनले कोहलपुरको स्थानीय सरकार व्यवसायमैत्री नरहेको टिप्पणी गरे । आफू उम्मेदवार बन्दै गर्दा गरेको १९ प्रतिबद्धता मध्ये १७ वटा पुरा गरेको भएपनि २ वटा स्थानीय सरकार र सरकारी नितीका कारण सम्भव हुन नसकेको बताए । 

कार्यक्रममा वाणिज्य सङ्घका संस्थापक अध्यक्ष कर्ण बहादुर थापा, बाँके क्षेत्र नम्बर– १ का सङ्घीय सांसद सुर्य ढकालले अञ्जना धिताल नेतृत्वको प्रगतिशील समुहलाई जितको शुभकामना दिएका थिए । 

कोहलपुरको उद्योग वाणिज्य सघको निर्वाचनकालाई २ वटा समुहमा प्रतिष्पर्धा हुँदैछ । प्रगतिशील समुहले उम्मेदवार घोषणा गरेको भएपनि प्रजातान्त्रिक समुहले केही दिनमा उम्मेदवार घोषणा गर्ने तयारी छ । सो समुह हालका बरिष्ठ उपाध्यक्ष प्रदीप भट्टराई नेतृत्वमा चुनावमा जाने तयारी गरेको बताईएको छ । 

को हुन अञ्जना धिताल 

२०५५ सालमा हार्डवेयर व्यवसायबाट कोहलपुरमा व्यापार व्यवसाय सुरु गरेकी धिताल हाल भने सीसा र प्लाइउडको व्यवसाय गदै आएकी छन् । उनले गुरु टे«र्डस एण्ड सप्लायर्स नामक फर्म मार्फत २ दशक भन्दा बढी कोहलपुरमा व्यवसाय गर्दै आएकी छन् । 

कोहलपुर उद्योग वाणिज्य संघको सदस्य रही सकेकी धिताल बिभिन्न सामाजिक संस्थाहरूमा नेतृत्वदायी भूमिकामा छिन् । उनी योग तथा प्राकृतिक स्वास्थ्य समाज बाँकेको कोषाध्यक्ष, वैभव लक्ष्मी बहुउद्देश्यीय सहकारी सस्था कोहलपुर–११ को लेखा संयोजक समेत रहेकी छन् । उनले कोहलपुर– १५ मा बाबियो लाईफस्टक एण्ड एग्रीकल्चर प्रालि मार्फत कृषि उद्यम समेत गर्दै आएकी छन् ।