नेपालगन्ज १२ असोज : निरन्तर परेको वर्षापछिको पहिरोले लुम्बिनी प्रदेशका विभिन्न सडक अवरुद्ध भएका छन् ।
गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास–रिडी सडक खण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका ११ को उर्लेनी, गुल्मीदरबार गाउँपालिका ४ अन्तर्गत विरबास र छत्रकोट गाउँपालिका ३ अन्तर्गत लुम्छामा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरीले कार्यालय गुल्मीले जनाएकोछ ।
अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंगे सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । नरपानी, घुम्ती, दहखोला, सितापुर लगायतका ठाउँमा पहिराले सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकोछ । सडक माथिबाट पहिरो खसेपछि गाडी सकेका चलेका छैनन् ।
राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–सल्यान सडक भासिएर अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले खुलाउने प्रयास भइरहेको जनाएको छ । पहाडी जिल्ला प्युठानका सडकहरू पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्युठान विभिन्न ग्रामीण ठाउँमा जाने सडकहरू अवरुद्ध भएका छन् ।
उता पाल्पाको तिनाउ गाउँपालिका–३ केराबारी भन्ने स्थानमा पहिरोले अवरुद्ध बनेको सडक कार्यालयले डोजर प्रयोग गरेर खुलाइएको छ । प्रहरीले अहिले बुटवल पाल्पा सडकमा सवारी चल्न थालेको जनाएको छ।
यता बाँके र बर्दियाका राजमार्गसंगै हुलाकी तथा सहायक सडकहरु भने हालसम्म कुनै क्षति नपुगेको प्रहरीले जनाएकोछ ।