ज्यूँदै गाई भिरबाट खसालिएको देखिएन

ट्रकमा मरेका ३७ गाई निकालेर फालिएको, आठवटै ट्रकका गाई कट्कुवा नजिक चौउरमा छोडेको


ज्यूँदै गाई भिरबाट खसालिएको देखिएन

सुर्खेतको कट्कुवा नजिक पिपल चौतारा छेउमा रहेको यही चौउर हो जहाँ विहीबार राती ८ वटा ट्रकमा रहेका सवै गाई–गोरु झारिएको थियो । जसमध्ये १० वटा यही स्थानमा मरेको अवस्थामा थिए । तस्बिर

(स्थलगत रिर्पोट)

विरेन्द्रनगर(सुर्खेत): नेपालगन्ज उपमहानगरपालिकाले काञ्जि हाउसबाट ट्रकमा लोड गरेर दैलेखको श्रीस्थान जङ्गलमा छोड्न लगिदै गरेका गाई–गोरुहरु बिचबाटोमा भिरबाट खसालिएको पाइएको छैन ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाका अनुसार, नेपालगन्ज कान्जिहाउसबाट ८ वटा ट्रकमा २ सय ९१ गाई, गोरु, बाच्छा, बाच्छि लोड गरिएको थियो ।

ट्रकमा राखिएका सबैमा पहेंलो ट्याग र नम्बर लेखिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाका अनुसार, ती गाईलाई दैलेखको श्रीस्थान जङ्गलमा छोड्न यहाँको गाउँपालिकासँग मौखिक समन्वय गरेर ट्रकमा बिहिवार राती लगिदै थियो ।

Kanti Aarogya Hospital Nepalgunj

ट्रकमा लोड गरिएका २ सय ९१ गाई मध्य कतिपय बिरामी असक्त थिए । तीनै मध्ये ३७ गाई गोरु बाटोमै मरेका छन् ।

सुर्खेतको भेरी पुलदेखि ब्युउरेनी विचमा १७ वटा र दैलेख जाने बाटोमा पर्ने कट्कुवा वरिपरी २० वटा गरी ६ स्थानमा ३७ वटा गाई–गोरु मरेको अवस्थामा फालिएका छन् । घटनास्थल र प्रकृती हेर्दा दैलेख लैजादा लामो बाटो र ट्रकमा मरेका गाई–गोरुलाई निकालेर बाटोमै झारेको देखिन्छ । किनकी मरेका गाई–गोरु फालिएको स्थान वरपर कुनै घाईते र जिवित गाई–गोरु भेटिएका छैनन् ।

‘नेपालगन्ज कान्जिहाउसमै मर्न लागेका गाईहरु पनि हामीले ट्रकमा लोड गरेका थियौं ।’ चालक विवेक कुँवरले भने ।

जबकी एउटा ट्रकमा २० देखि २५ वटा मात्र गाई अटाउने गर्छन् । तर, उपमानगरले कुनै ट्रकमा ३०, कुनैमा ३५, ४० वटासम्म कोचाकोच गरी गाई लोड गरेको देखिन्छ । ट्रकमा लोड बढी भएपछि गाईहरु अगाडी पछाडी हल्लिने गर्नाले कान्जिहाउसमा लामो समयदेखि खान नपाएका विरामी अशक्त गाईहरु माथि राम्रा गाई–गोरुहरुले थिच्ने र किच्ने गरेकाले मर्न पुगेको देखिन्छ ।

गाईहरु मर्न थालेकापछि ट्रकका चालक सहचालकले सुर्खेतको भेरी नदीको पुल नजिक रोडबाट झुप्रा खोलामा मरेका ३ वटा गाई फालेकाछन् ।
त्यस स्थानमा अन्य कुनै घाईते गाई छैन ।

त्यसैगरी त्यसको केही किलोमिटर अगाडी ब्यूउरेनी भन्ने स्थान नजिक रोडकै छेउमा समथर ठाउँमा ८ वटा मरेका गाईहरु ट्रकबाट निकालेर फालेका छन् । साथै त्यसको केही अगाडी फेरी ६ वटा मरेका गाई समथर ठाउँमै फालिएको दृश्य देखिन्छ ।

यी तीन वटै स्थानमा ज्यूँदा र घाईत गाईहरु छैनन् । सुर्खेत सदरमुकाम विरेन्द्रनगरदेखि करिब १० किलोमिरट अगाडी कट्कुवा भन्ने ठाउँमा १० वटा गाई भिरबाट फालिएको छ ।

करिब २५ मिटर तल रुख र ढुंगामा अड्किएका ती गाई मरेको अवस्थामा थिए भने एउटा घाईते गाई भेटिएको छ सो गाई अशक्त अवस्थाको रहेको छ ।

त्यसको करिब १ किलोमिटर अगाडी पिपलचौतारा छेउमा ४० मिटरको फरकमा दुई स्थानमा १० वटा मृत गाई ट्रकबाट झारिएको छ ।
यहाँ कुनै भिरबाट खसालिएको छैन । सडक छेउमै समथर ठाउँमा झारिएको छ । यहि पिपलचौतारा वरिपरी सानो चौउर जस्तो समथर छ यहि स्थानमा सबै ट्रकबाट गाई–गोरुहरु झारिएको छ । स्थानीय वासिन्दाले चौतारा छेउमा नै ट्रकले गाई–गोरु झारेको बताए ।

गाई–गोरु ट्रकबाट झारेको बिहिवार रातिनै थाहापाएका र विहानैदेखि सबै घटनास्थल पुगेका लोकविर राम्जालीले यस समाचारदातासँग भने‘गाई–गोरु भिरबाट खसालेको भए धेरैको खुट्टा भाँचिएको, चोट लागेको अवस्थामा हुनु पथ्र्यो त्यस्तो केही छैन ।

गाउँमा जङ्गलमा कहाँ–कहाँ चर्न पुगेकालाई हामी फर्काएर ट्रकमा लोड गर्न ल्याएका छौं । दुई–चार वटा विरामी जस्ता देखिने गाईहरु लडेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले गाई भिरबाट खसालेको भन्ने यकिन आधार नएको जनाएको छ । गाईहरु भिरबाट खसालेको हो या प्रहरीको अनुसन्धानले के भन्छ ? भनि प्रश्न गर्दा गाईको घटना बारे अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसन्धान अधिकारी प्रहरी निरीक्षक भरत शाहले जिवित गाई भिरबाट खसालेको भन्ने कुनै आधार र प्रमाण नभएको बताए । ‘लापरवाही देखिन्छ तर भिरबाट खसालेर मारेकोनै हो भन्न सकिदैन त्यती निर्दयी त मान्छे हुँदैन नी ।’

निरीक्षक शाहले भने ‘दैलेख लग्न लागेको हो भने विच बाटोमै किन झारियो गाईहरु यो गम्भीर प्रश्न हो ।’ ट्रक चालकहरुले नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रहरी इन्सपेक्टर बोगटीको निर्देशनमा गाई झारिएको बताए ।

मरेका गाई–गोरुलाई विरेन्द्रनगर नगरपालिकाको सहयोगमा खाल्डो खनेर पुरिएको छ भने नेपालगन्ज उपमहानगरले नगर प्रहरी पठाएर कट्कुवा छेउको जङ्गल पसेका गाई–गारुलाई खेरेर शनिबार ९ वटा टकमा १ सय ७९ गाई गोरु फिर्ता ल्याएको छ ।

गाई–गोरु मरेका घटना भयावह रुपमा फैलिएपछि गोष्ठीमा सहभागि हुन काठमाण्डौं गएका मेयर राणा र प्रशासकीय प्रमुख हरि प्याकुरेल कार्यक्रम छोडेर नेपालगन्ज आइपुगेका छन् ।

गाई व्यवस्थापन उपमहानगरपालिकाले पवित्र उद्देश्यले गर्न लागेको र केही त्रुटी हुन गएकोले उपमहानगरले क्षमायाचना समेत मागिसकेको प्रमुख प्याकुरेलले बताए ।

उनले छानविनका लागि बार एशोशिएसनका अध्यक्ष विकास आचार्यको संयोजकत्वमा समिति गठन भएको र १५ दिन भित्र प्रतिवेदन बुझाउने जानकारी दिए ।

एनिमल नेपालले सुर्खेतमा घाईते भएका २,३ वटा पशुको उपचार गरेको छ । एनिमल नेपालका सुरेन्द्र कार्की सहितको टिमले घाईते पशुको शनिवार उपचार गरेको छ ।