नेपालगन्ज १२ असोज : बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभर बाढी पहिरोले विपत्ति निम्त्याएको छ ।
शुक्रबार साँझदेखि शनिबार साँझ ५ बजेसम्म बाढी पहिरोमा परी ६३ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, कोशी प्रदेशमा १० जना, काठमाडौं उपत्यकामा मात्रै ३४ जना, बाग्मती प्रदेशमा १९ जना गरेर ६३ जनाको मृत्यु भएको छ ।
विभिन्न प्रदेशका २० भन्दा बढी जिल्लामा गरेर ३४ जना घाइते भएका छन् भने ६४ जना बेपत्ता छन् । सशस्त्र प्रहरीका अनुसार, २ हजार १०३ जनाको उद्धार गरिएको छ ।
त्यस्तै बेपत्ता हुनेमा पनि सबभन्दा बढी उपत्यकामा २१, बाग्मतीमा ३१, कोशी प्रदेशमा ९, मधेशमा १ र लुम्बिनी प्रदेशमा २ जना छन् ।
कोशी प्रदेशमा १५२, मधेशमा १०, उपत्यकामा २ र बागमती प्रदेशमा ३१ गरेर १९५ घरमा क्षति पुगेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरी बलले उद्दारका लागि उपत्यकामा २३ वटा डुंगा र गोताखोरसहितको टोली ९० स्थानमा ४ हजार जना परिचालन गरेको छ ।
नेपाली सेनाले पनि उद्दारमा उपत्यकासहित बाढी, पहिरो प्रभावित इलाकामा फौज परिचालन गरेको छ । सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, सेनाको हेलिकोप्टरमार्फत कुसुन्ती चेकमा डुबानमा फसेका २ जनासहित ४ जनाको उद्दार गरिएको छ ।
ललितपुरको नख्खुवेसीबाट पनि ५ जनाको उद्दार गरेर काठमाडौं ल्याइएको सेनाले जनाएको छ ।
देशभरिमा ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएकोछ । सशस्त्र प्रहरी बलले आपत्कालीन उद्धारका निम्ति हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
यसैबीच, सरकारले लगातारको वर्षाका कारण बाढीपहिरो र डुबानमा परेर घाइते भएकाको निःशुल्क उपचार गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट यस्तो निर्णय गरिएको हो ।
बाढी, पहिरो र डुबानमा परेर घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।