नेपालगन्ज १३ असोज : बाढीपहिरोका कारण राजधानी काठमाडौं भित्रिने र बाहिरिने नाकाका सबै सडकहरु ठप्पै भएका छन् । आज तेस्रो दिन पनि काठमाडौंबाट गाडीहरु बाहिरिएका छैनन् । भित्रिने क्रममा रहेका गाडीहरु भने बीचबाटोमै अलपत्र छन् ।
पश्चिमतर्फबाट काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाको अवस्था सबैभन्दा खराब छ । झ्याप्ले खोलानिर ठूलो पहिरो झर्दा केही गाडीहरु पुरिएका छन् । त्यहाँको पहिरो पन्छाउने काम भइरहेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङ र काठमाडौं दुवैतिरबाट नागढुंगाको पहिरो पन्छाउने काम भइरहेको छ । झ्याप्ले खोलामा ठूला–साना ३÷४ वटा गाडीहरु पुरिएका छन्, थुप्रै गाडीहरुमा क्षति पुगेको छ भने पहिरो पन्छाएर बाटो खुलाउन कम्तिमा आज मध्याह्नसम्म लाग्ने प्रहरीले जनाएकोछ ।
झ्याप्ले खोलामा पुरिएका दुईवटा बसबाट हिजो बेलुका १४ जनाको शव निकालिएको थियो । आज पनि त्यहाँ पुरिएको अर्को बसलाई निकाल्ने प्रयास भइरहेको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट पूर्वतिर र दक्षिणतिर जाने सडकमा पनि पहिरोले क्षति पुगेकाले सवारी आउजाउ ठप्प भएको छ ।
उत्तरतर्फ (नुवाकोट)तिर जाने सवारी साधनहरु टोखा, झोर हुँदै चलिरहेका छन् । तर, त्यो बाटोमा अत्यावश्यक सवारी साधनमात्र चलिरहेकाछन् । तर, उत्तरतिर जाने सडक पनि पहिरोले गर्दा ठाउँ–ठाउँमा अवरोध छ ।
अविरल वर्षासँगै झरेको पहिरोले बाटो बन्द भएपछि तीन दिनदेखि काठमाडौंबाट लामो दुरीका सवारी साधन छुटेका छैनन् ।