एकैपटक ५–१० वटा शव दाह गर्न मिल्ने, सय जना मलामी अटने घरसहित ट्वाइलेट–बाथरुम र २५ क्विन्टल दाउरा अटने कोठा
नेपालगन्ज १३ असोजः बाँकेको डुडुवा गाउँपालिका मानिसको मृत्युपश्चात गरिने अन्तिम क्रिया दाहसंस्कारलाई व्यवस्थापन गर्न योजनाबद्धरुपमा अघि बढेको छ । डुडुवा गाउँपालिका वडा नम्बर–५, राप्ती नदीको सिधनिया घाटमा गाउँ कार्यपालिकाले बजेट विनियोजन गरि वैकुण्ठधाम निर्माणको कार्य अघि बढाइएको हो ।
नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका लगाएत आसपासबाट सिधनियाघाटमा दाहसंस्कार गर्न ल्याउने गर्दछन् । दाहसंस्कारको समस्यालाई मध्यनजर गर्दै डुडुवा गाउँपालिकाले व्यवस्थित रुपमा दाहसंस्कार निर्माण स्थल वैकुण्ठधाम निर्माण गर्न लागेको हो, जुन सिधनियाघाटमा निर्माणाधिन रहेको छ ।
गाउँपालिकाले गत आर्थिक वर्ष २०८०–८१ मा ४० लाख बजेट छुट्टयाएर त्यसका लागि काम गरिरहेकोछ । सनातन हिन्दु परम्परामा मानिसको मृत्युपश्चात गरिने कार्यलाई प्रमुखताका साथ लिइन्छ । जन्मसंगै मृत्युपश्चात गरिने विभिन्न कर्मकाण्डलाई शास्त्र र परम्पराले प्राथमिकतामा राखेकोछ ।
त्यही परम्परा र मान्यतालाई आत्मसाथ गर्दै डुडुवा गाउँपालिकाले घाट ब्यवस्थापनको कार्य थालनि गरेको हो । यसका लागि गाउँपालिकाले राप्ती खानेपानी आयोजनादेखि ठिक दक्षिणतर्फ १२ कठ्ठा ६ धुर जग्गा दानमा प्राप्त गरि एक सय जना जति अट्ने मलामी कुरुवा घर हलसहित निर्माण गरिरहेको छ ।
डुडुवा गाउँपालिकाको योजना शाखाले सेतोखरीलाई दिएको जानकारी अनुसार, उक्त मलामी कुरुवा घरमा २ वटा शौचालय, एक वटा नुहाउने कोठा र एक वटा पिसाव घरसहित एक पटकमा २०–२५ क्विन्टल दाउरा भण्डारण गर्ने क्षमताको कोठा रहेकोछ । भने मलामी आएकालाई शुद्ध पिउने पानीको लागि धारा जडानको कार्य अघि बढाइएकोछ ।
डुडुवा गाउँपालिकाद्वारा सिधनियाघाटमा सुविधा सम्पन्न वैकुण्ठधाम (दाहसंस्कार घाट) निर्माण गरिन थालिएपछि स्थानीयहरुले खुशी व्यक्त गरेका छन् ।
कम्दीका दीपक थापाले भने–‘पालिकाले नै यति सुविधासम्पन्न व्यवस्थित दाहसंस्कार घाट बनाइदिन थालेको छ अब सबैलाई सजिलो हुने भयो ।’ उनले एउटा दाहसंस्कार घाट बनिसकेपछि अर्को आवस्यक नभएको पनि बताए ।
थापाले सेतोखरीसँग भने ‘कता–कता अर्को पनि बनाउन खोज्दै छन् भन्ने हल्ला सुनेको छु, पालिकाले बनाइरहेको छ एउटा भए भैहाल्छ नि, दुईटा किन आवस्यक भयो । बरु त्यो पैसा अर्को सामाजिक काममा लगाए राम्रो हुन्छ ।’
राप्ती नदी घाट व्यवस्थापन नाम दिइएको उक्त आयोजनाले प्राप्त गरेको जग्गाको अधिकांश भूभाग नदी र बगरमा रहेकाले सो क्षेत्रमा पक्कि तटबन्ध गरि कम्तिमा एकैपटक ५–१० वटा शव दाह गर्न मिल्ने पक्की घाट निमार्ण गरिने राप्ती नदी घाट व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बेल बहादुर बोहराले जानकारी दिए ।
उनले भने–‘घाट व्यवस्थापनले पूर्णता पाएपछि यसक्षेत्रका नागरिकलाई आफन्तको अन्तिम क्रिया गर्न सहज हुनेछ । त्यही समस्यालाई सम्बोधन गर्न गाउँपालिकाले यो योजना अघि बढाएको हो ।’
अध्यक्ष बोहराका अनुसार, बाहिरी जिल्लाबाट आफन्त उपचारका लागि नेपालगन्जका अस्पताल आएकाहरुको यतै मृत्यु भएपछि दाहसंस्कार गर्न राप्ती लग्दा उनीहरुले धेरै पिडा भोग्नुपरेको थियो । कहिले दाउरा नपाइने, कहिले दाहसंस्कारका लागि ठाउँ नपाइने लगायतका समस्या भइरहेकाले निर्माण पश्चात अब त्यस्तो समस्या कसैले भोग्नु नपर्ने अध्यक्ष बोहराले बताए ।
यता डुडुवा गाउँपालिकाका इन्जिनियर सुरेन्द्र बर्माले जग्गाको विवाद भएपछि २०८१ जेठमा स्थानीय उदयराज यादव, गंगाराम यादव र स्वर्गीय तिलकराम यादव र परसराम यादवका छोराले १० कठ्ठा ६ धुर जग्गादान गरेपछि राप्ती नदीमा घाट निमार्णको कार्य अघि बढेको बताए ।
इन्जिनियर बर्माका अनुसार, हाल उक्त स्थानमा मलामीलाई ओत लाग्ने भवन बनाइएकोछ । भने ३० देखि ३५ लाख बजेटमा चालु आर्थिक वर्षमा सो क्षेत्रमा पक्की तटबन्ध गरेर घाट बनाइनेछ ।
उनले अगाडी भने–‘अहिले बेस बनाइरहेका छौं, राप्ती खानेपानीले समेत तटबन्ध बनाउने भन्ने सुन्नमा आएकोछ । वर्षा सकिएपछि उक्त कार्य अघि बढाइनेछ ।’ बाँकेको आठ पालिकामध्ये विशेषगरी नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका हिन्दु व्यक्तिको निधनमा उक्त स्थानमा शव दाहसंस्कार गरिदैँ आएकोछ ।
दाहसंस्कार गर्ने स्थान व्यवस्थित र सहज नभएपछि यस विषयमा पछिल्ला केही वर्षदेखि ठूलो बहस र छलफल हुँदै आएको थियो । हिन्दु बहुसंख्यक समुदायमा आफन्तको मृत्युपश्चात गरिने अन्तिम संस्कार डुडुवा गाउँपालिका वडा नम्बर–५ राप्ती नदीको सिधनिया घाटमा गरिदैँ आएकोछ ।
तर, उक्त स्थानमा शव जलाउन उपयुक्त स्थान नभएपछि अनुकुलतामा शव जलाउदैँ आइएकोछ । नदी किनारमै अस्थायी घाट बनाएर शव जलाउँदा मलामीलाई जोखिम देखिएको र शवलाई व्यवस्थित गरेर जलाउन समस्या भएपछि नयाँ पक्की घाट निर्माण गरिनुपर्ने माग उठ्दै आएको थियो ।
प्रचण्ड गर्मी, बर्षायामका बेला शवदाह गर्न अप्ठेरो हुनुका साथै मलामीहरुलाई समेत त्यहाँ ओत लागेर बस्न गाह्रो हुने गरेको थियो । डुडुवा गाँउपालिकाले शवदाह गर्ने स्थान व्यवस्थापनका लागि अग्रसरता लिएपछि सर्वसाधरणलाई दाहसंस्कारमा सहजता मात्र हुने भएको छैन व्यवस्थित दाहसंस्कार हुनेछ ।
पछिल्लो पटक विश्वब्यापी महामारी बनेको कोरोनाकालमा कोभिडबाट ज्यान गुमाउनेहरुको शवदाह गर्नेक्रममा उक्त स्थानमा ब्यवस्थित र पक्की घाट निर्माणको बहस चुलिएको थियो । उक्त बहस चुलिएपछि मानिसको मृत्युपछि समशान घाटमा गरिने अन्तिम संस्कार व्यवास्थापन गर्नका लागि उच्च अदालत तुलसीपुर, नेपालगन्जले २०७८ भदौमा बाँके र बर्दिया जिल्लाका सबै पालिकाहरुलाई ‘घाट’ व्यवस्थापनका अन्तरिम आदेश दिएको थियो । त्यसैलाई मध्यनजर गर्दै डुडुवा गाउँपालिकाले दाहसंस्कार गर्ने स्थानको व्यवस्थापनमा लागेको छ ।