पहिरोले छेक्यो बाटो, एयरलाइन्सले थापे नाफाको जाल, मानवीय संकटमा अमानवीय व्यापार


सेतोखरी सेतोखरी   आइतबार, असोज १३, २०८१
पहिरोले छेक्यो बाटो, एयरलाइन्सले थापे नाफाको जाल, मानवीय संकटमा अमानवीय व्यापार

नेपालगन्ज १३ असोज : सामान्य अवस्थामा काठमाण्डौं–विराटनगरको एकतर्फी हवाई भाडा हो –५७०० रुपैयाँ । तर, वायुसेवा कम्पनीहरुले अहिले ९९०० रुपैयाँ भाडा उठाइहेकाछन्। सबै हवाई सेवा कम्पनीले बाढीपहिरोबाट सडकमार्ग अवरुद्ध भएपछि भाडा दोब्बर भन्दा बढी लिएकाछन् । 

शुक्रबार बिहानदेखि अविरल परेको पानीका कारण जताजतै बाढीपहिरोले काठमाडौं जोड्ने सबै स्थलमार्ग बन्द छन् ।  यस्तो मानवीय संकटका बेलामा वायुसेवा कम्पनीहरुले न्यूनतम भाडामा उडान गर्नुपर्नेमा उल्टै उपभोक्ता ‘लुट्ने’ माध्यम बनाएका छन् । 

यसरी भाडा बृद्धि काठमाण्डौं– विराटनगरको मात्र होइन, सबैतिरको बढाइएकोछ । दशैं बिदा सुरु भएपछिका लागि खुलेको हवाई टिकटमा पनि भाडा यो स्तरको महँगो छैन, जस्तो अहिले मानवीय संकटका बेला पु¥याइएकोछ । 

काठमाण्डौंबाट बाहिरिन अहिले हवाई मार्गबाहके अर्को उपाय छैन । यही संकटको फाईदा उठाउँदै कम्पनीहरुले मनलाग्दी भाडा बढाएर अमानवीय व्यवहार प्रकट गरेका हुन् । 

Kanti Aarogya Hospital Nepalgunj

विपद्मा हवाई भाडा महँगो बनाएको भन्दै नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीलाई डाकेकोछ । 

प्राधिकरणले वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघसँग सदस्य रहेका सबै वायुसेवा कम्पनीलाई आकस्मिक बैठक बोलाएको नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले बताए । 

‘अहिले काठमाण्डौंबाट बाहिरिने र काठमाण्डौं भित्रिने अधिकांश सडकमार्ग बाढी र पहिरोका कारण पूर्णरुपमा प्रभावित छ । यही मौकाको फाइदा उठाउँदै अस्वाभाविक भाडा लिन थालेको पाइएकोछ’ ती कर्मचारले भने‘विपतको समयमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व समेत भुलेर भाडा राख्नु गलत हो । हामीले यसमा हस्तक्षेप गर्नेछौं ।’ -बिजमाण्डूबाट