नेपालगन्ज १४ असोज : ट्राफिक व्यवस्थापनका नाममा नेपालगन्जको गणेशमान चोकदेखि पूर्व चारबाहीनी चोक जोड्ने सडक एकतर्फी सञ्चालन गरिने भएकोछ ।
नेपालगन्जको ट्राफिक ब्यवस्थापन अस्त–ब्यस्त भइरहेका बेला केही सुधारको प्रयास थालिएको भएपनि दूरगामी योजना विनै यसको थालनी गरिएको भन्दै यसले चर्चा बटुलेकोछ ।
पछिल्लो समयमा बढ्दो सवारी चापका कारण नेपालगन्जको ट्राफिक ब्यवस्थापनमै चुनौती थपिएका बेला स्थानीय गणेशमान चोकदेखी चारबाहिनी चोक जोड्ने सडकलाई एकतर्फी गराइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा केहीदिन अघि सम्पन्न भएको बैठकले उक्त सडकलाई एकतर्फी गराउने निर्णय गरेको थियो । सोही बैठकको निर्णय कार्यान्वयन स्वरुप सडकलाई एकतर्फी रुपमा सञ्चालन गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पुस्कर पन्तले जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको निर्णयसँगै अहिले कार्यान्वयनमा ल्याइएको जानकारी दिएका छन् । उनले भने, ‘हरेक दिन बिहान ९ बजेदेखी बेलुका ६ बजेसम्म यो रुटमा एकतर्फी सवारी साधन चल्न पाउनेछन् ।’
नेपालगन्ज उपमहानगरपालिका नगरप्रहरी प्रमुख सुर्यबहादुर बोगटीका अनुसार अब सवारी साधनहरु गणेशमान चोकबाट चारबाहिनी चोकतर्फ जान पाउनेछन् । तर, चारबाहिनी चोकबाट गणेशमान चोकतर्फ सवारी साधनलाई प्रवेश गर्न दिइने छैन ।
उनले अगाडी भने, ‘चारबाहिनी चोकबाट गणेशमान चोकतर्फ जान चाहने सवारी साधनलाई शितलनगर रोड भएर जान दिने ब्यवस्था मिलाइएको छ ।’
नेपालगन्जमा सडकलाई एकतर्फी सञ्चालन गराइएको यो भने पहिलो पटक होइन । यसअघि नेपालगन्जको त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म, त्रिभुवन चोकदेखि विपी चोक सम्म, सेतुविक चोकदेखि धम्बोझी चोक सम्म रानी तलाउको क्षेत्रमा एकतर्फी सडक सञ्चालन र तीनपाङ्ग्रे, साना, मझौला र ठूला सवारी साधन प्रवेश निषेध पनि गरिएको थियो । सो क्षेत्रमा एकतर्फी साना सवारी साधन पार्किङ्ग गर्ने चलन समेत सुरुवात गरिएको थियो ।
अझ चौलिक्का देखि राँझा चोकसम्मको सडकमा विहान ८ देखि ११ र बेलुका ३ देखि ६ बजेसम्म हेभी तथा मालबाहक सवारी साधन प्रवेश निषेध गरिएको थियो ।
यसरी नगरको ट्राफिक व्यवस्थापन गर्ने भन्दै थालिएको त्यो प्रयास महिनादिन नपुग्दै तुहियो र नेपालगन्जको ट्राफिक व्यवस्थापन पुरानै लयमा फर्किएको हो ।
नेपालगन्ज शहरमा मनपर्दी बाटो नाँघ्ने, जेब्रा क्रसिङ्गमा सवारीसाधन रोक्ने, अस्तब्यस्त अटो र इरिक्सा, सडकभरी छाडा पशुचौपाया, फुटपाथ अतिक्रमण र निमार्ण सामाग्रीसंग पसलका सामान राखिनुले यहाँको ट्राफिक व्यवस्थापन रिस उठ्दो र घिन लाग्दोछ ।