मनसुन लम्बिने, भोली र पर्सी फेरि पानी पर्ने


सेतोखरी सेतोखरी   मंगलबार, असोज १५, २०८१
मनसुन लम्बिने, भोली र पर्सी फेरि पानी पर्ने

नेपालगन्ज १५ असोज : यो वर्ष नेपालबाट मनसुन (पानी पार्ने प्रणाली) औसत मितिभन्दा केही दिन ढिलो गरी बाहिरिने मौसमविद्ले अनुमान गरेका छन् । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । भित्रने औसत मिति जुन १३ हो । हरेक वर्ष सरदर मितिभन्दा केही दिन ढिलो वा चाँडो पनि मनसुन बाहिरिने र भित्रने मौसमविद्ले बताउँदै आएका छन् ।

यो वर्ष मनसुन ढिलो गरी बाहिरिने निश्चितजस्तै रहेको मौसमविद्ले बताएकाछन् । अक्टोबर २ सम्म मनसुन बाहिरिने सम्भावना नरहेको उनीहरुको भनाईछ । 

महाशाखाकै अर्का मौसमविद् मीनकुमार अर्यालले पनि नेपालबाट मनसुन बाहिरिन अब हप्ता–१० दिनजति लाग्न सक्ने उल्लेख गरे । “मनसुन कमजोर हुँदै छ । मनसुन बाहिरिन हप्ता–१० दिनजति लाग्छ,” उनले भने, “पश्चिमी वायु मजबुत हुँदै छ, पूर्वी वायु कमजोर हुँदै छ ।”

नेपालमा सुदूरपश्चिम प्रदेशबाट क्रमशः मनसुन बाहिरिन सुरु गर्छ । जुनमा यसको प्रवेश कोसी प्रदेशबाट हुन्छ । र, क्रमशः सुदूरपश्चिमसम्म फैलन्छ । नेपालमा करिब चार महिना मनसुनी वायुको प्रभाव रहन्छ ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांकानुसार, गत वर्ष (सन् २०२३) अक्टोबर १५ मा नेपालबाट मनसुन बाहिरिएको थियो । २०२२ मा अक्टोबर १६ मा मनसुन बाहिरिएको थियो । २०२१ मा अक्टोबर ११ मा नेपालबाट मनसुन बाहिरिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

देशभरबाट मनसुन एकैपटक बाहिरिँदैन । सुदूरपश्चिमबाट क्रमशः कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती, मधेस र कोसी प्रदेश हुँदै मनसुन बाहिरिन्छ । आउँदो फूलपातीसम्म पश्चिम नेपालबाट मनसुन बाहिरिने सम्भावना विज्ञ उप्रेतीले सुनाए । 

वर्षाको सम्भावना

बुधबार (भोलि) र बिहीबार (पर्सि) फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तर, खतरायुक्त वर्षा नहुने उनीहरूको भनाइ छ ।

भारतको असाम आसपास न्यूनचापीय क्षेत्र बनेको र मनसुनी वायुसँगै त्यसको प्रभावले पानी पर्ने मौसमविदले बताएका हुन् । त्यो पानी पार्ने मजबुत प्रणाली भने नरहेको छ । यो अवधिमा स्थानीय वायुको पनि प्रभाव रहन सक्छ ।

त्यसले धेरै ठूलो र लामो समय वर्षा हुदैन । केही बेर र कुनैकुनै भूभागमा पानी पर्नेछ । विशेष गरी त्यसको प्रभाव कोसी र वाग्मती प्रदेशमा रहने छ । 

भारतको असाम आसपास स्मल सर्कुलेसन बन्दा बुधबार कोसी र वाग्मतीमा अलि वर्षाको सम्भावना छ । कोसीमा पनि सबै ठाउँमा होइन, केही ठाउँमा । खण्डित खालको वर्षा हुनेछ । भारी, अति भारीको सम्भावना छैन ।

मौसमविदका अनुसार विगतको जस्तो मनसुन त्यति धेरै एक्टिभ हुने अवस्था यतिखेरको विश्लेषणमा देखिँदैन । अस्तिको जस्तो दुई दिन, तीन दिन धेरै पानी पर्नेजस्तो छ नि, त्यस्तो छैन ।

हिले दशैँ नहुने

यता, यसपालि हिले दशैँ नहुने मौसमविद्ले बताएका छन् । अब देशभर दशैँसम्म ठूलो पानी पर्ने सम्भावना हालको अवस्थाबाट विश्लेषण गर्दा नदेखिएको मौसमविद्ले स्पष्ट पारेका छन् ।

वर्षाका कारण दशैँमा असर पुग्नेजस्तो अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए । महाशाखाले नियमित रूपमा दैनिक तीन दिनको मात्र मौसम पूर्वानुमान गर्दै आएको छ ।

तर, आफूहरूको विश्लेषणमा दशैँ आसपास ठूलो पानी पर्ने सम्भावना नदेखिएको उनले उल्लेख गरे । ‘अहिले हाम्रो विश्लेषणमा दशैँको आसपासमा त्यति ठूलो वर्षाहरू हुने सम्भावना देखिएको छैन,” उनले भने, “यद्यपि, यो पूर्वानुमान अपडेट भइरहन्छ । त्यही भएर स्पष्ट हुन केही दिन पर्खनैपर्छ ।’