भन्सार छलेर ल्याएका लाखौ मूल्यका सामान बरामद


सेतोखरी सेतोखरी   मंगलबार, असोज १५, २०८१
भन्सार छलेर ल्याएका लाखौ मूल्यका सामान बरामद

नेपालगन्ज १५ असोज : बाँके प्रहरीले भन्सार छलि ल्याएका लाखौं मूल्यका सामान बरामद गरेकोछ । 

जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएका २१ लाख बढीका सामान बरामद गरेको छ । प्रहरीले सोमबार नेपालगन्जका विभिन्न ठाउँबाट उक्त सामान बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका सामानहरु नेपालगन्ज उपमहानगरपालिका ४ न्यूरोड र नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीबाट बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीले न्यूरोडबाट ११ क्वीन्टल चिनी र चिनी ढुवानीमा प्रयोग भएको रा १ च ७२० नम्बरको पिकअप गाडी बरामद गरेको हो । गाडीसहित उक्त चिनीको मूल्य अन्दाजी २० लाख ८८ हजार रुपैयाँ छ । त्यसैगरी अन्दाजी ४९ हजार ७०० रुपैयाँ बराबरको धम्बोझीबाट कुर्तासुरुवाल र बच्चाको जुत्ता बरामद गरिएको प्रहरीले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

चिनी, चिनी ल्याउन प्रयोग गरिएको पिकअप गाडी, कुर्तासुरुवाल र जुत्ता गरी २१ लाख ३७ हजार ७०० रुपैयाँ बराबरका सामानहरु आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको बाँके प्रहरीले जनाएको छ ।

झण्डै बाह्र लाख रुपैयाँका मोबाइल डिस्प्ले बरामद

यसैबीच, वडा प्रहरी कार्यालय नेपालगन्जले झण्डै १२ लाख मूल्य बराबरको अवैध मोबाइल डिस्प्ले बरामद गरेको छ । भन्सार छलेर ल्याएको सो डिस्प्ले वडा प्रहरीले बरामद गरेको हो । 

नेपाल–भारतको खुला सीमानाको फाइदा उठाउँदै अवैध रूपमा नेपालगन्जमा सामान ल्याउने गरिन्छ । अवैधरुपले भन्सार छली गरेर भारतबाट नेपालगन्ज भित्र्याएको ११ लाख ८८ हजार रुपैयाँ बराबरको एक हजार ८० पिस मोबाइल डिस्प्ले वडा प्रहरीले नियन्त्रणमा लिएको हो । 

वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमको टोलीले नेपालगन्ज उपमहानगरपालिका –४ सल्यानीबाग नजिकबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बरामद गरिएको मोबाइल डिस्प्लेलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ । 

यसैगरी चाडपर्व नजिकिँदै गर्दा भारतबाट नेपालमा अवैध सामानहरू भित्रिने गरेपछि प्रहरीले सुरक्षा चेकजाँच पनि बढाउँदै लगेको जनाएको छ । गत असोज १० गते पनि जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छली गरी ल्याइएको ठूलो परिमाणमा अवैध लत्ताकपडा बरामद गरेको थियो । 

बाँके प्रहरीको टोलीले नेपालगन्ज –४ बसपार्क आसपासबाट अवैध रूपले ल्याइएको लेडिज कटन सुट, लेडिज सारी, उलनकुर्ता, बर्का र मखमलको कपडालगायतका अन्य लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँके प्रहरीले बरामद गरेको २ लाख २४ हजार ७ सय रुपैयाँ बराबरका सबै अवैध लत्ताकपडा आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको थियो ।