नेपालगन्ज १६ असोज : बाँकेको जानकी गाउँपालिकाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिएको छ ।
चाडपर्वको समयमा अखाद्य वस्तुको विगविगी र बजार महँगो भएको जनगुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले बजार अनुगमन सुरु गरेको हो ।
अनुगमनका क्रममा विभिन्न पसलहरुमा म्याद गुज्रेका अखाद्य वस्तु र पसल दर्ता नभई सञ्चालन भएको पाइएको छ ।
जानकी गाउँपालिकाको समन्वयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको हो । वाणिज्य, आपूर्ति, खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय तथा उपभोक्ता हित संरक्षण मञ्चले पालिकाका विभिन्न वडामा रहेका पसलहरुको अनुगमन गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख हरिबहादुर खत्रीले अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रिएका वस्तुहरु, दर्ता नै नभएका व्यवसायहरु सञ्चालनमा आएको भेटिएको बताए ।
अनुगमनका क्रममा जानकी–६ गनापुरमा रहेको वण्डरल्याण्डको राएरा रेष्टुरेन्ट एण्ड बार र सोही ठाउँमै रहेको बिनोद किराना पसल गरी अन्य केही पसललाई ३५ हजारसम्म जरिवाना समेत गरी उनीहरुलाई सचेत गराइएको प्रमुख खत्रीले बताए । उनले पुनः यस्तो भेटिएमा कानुन बमोजिम कारवाही हुने बताए ।
अनुगमनका क्रममा मासु पसलमा सरसफाईमा कमी रहेको र सरसफाई राम्रोसँग गर्न तथा खानेकुराहरुलाई छोपेर राख्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका प्राविधिक सहायक लक्ष्मी ढकालले जानकारी दिए । उपभोक्ता हित संरक्षण मञ्च नेपालगञ्जका संयोजक बसन्त गौतमले मौसमी रुपमा मात्र नभई समय समयमा अनुगमन गर्नुपर्ने बताए ।
गौतमले व्यवसायीको बदमासी र कालोबजारीका कारण उपभोक्ता मारमा परेको भन्दै सरोकारवाला निकायले अनुगमनलाई नियमित गर्नुपर्ने भनाइ राखे ।
उपभोग्य वस्तुमा मिसावट, म्याद गुज्रेको र फोहोर समेत भेटिएकाले जानकी गाउँपालिकाले अनुगमन गर्दा पालिकाको कार्यविधि अनुसार मापदण्ड बनाई बिक्री गर्न व्यवसायीहरुलाई सुझाब दिइएको छ ।
कतिपय व्यवसायहरु गैरकानूनीरुपमा सञ्चालन भएकाले दुई हप्ताभित्रमा कानूनी प्रक्रियामा आउन आग्रह समेत गरिएको अनुगमन समिति जानकीका संयोजक जितबहादुर श्रेष्ठले बताए ।
मासु पसल व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुले भारतबाट खुलारुपमा चोरी निकासी गरी आउने कुखुराका कारण नेपाली व्यवसायीहरु मारमा परेको गुनासो गरेका छन् । जानकी गाउँपालिका वडा नम्वर–४ का मासु व्यवसायी कुर्वान भाटले अनुगमन टोलीसमक्ष यस्तो गुनासो गरेका थिए ।