नेपालगन्ज १७ असोज : नेपालीहरुको महान चाड बडादशैँ बिहीबार (आज)बाट शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैं शुरु भएको हो ।
दशैंको पहिलो दिन घर–घरमा घटस्थापना गरिँदैछ । यही दिनदेखि नवरात्र शुरु हुन्छ । नवरात्रमा दुर्गा स्तोत्र (सप्तसति चण्डी) पाठ गरी शक्ति स्वरुपा दुर्गाको स्तुती गरिन्छ ।
लिपपोत गरी चोखो गरिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरेर बालुवा मिश्रित माटोमा जौं, तिल, मकै छरेर जमरा राखी घटस्थापना गर्ने चलन छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाईन्छ । बडा दशैँको पहिलो दिन आज घर–घरमा बैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जांै (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ ।
जौंको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव (जमरा) रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जमरामा जौं बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधी नभएको धर्मशास्त्रविद बताउँछन् ।
कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । यस वर्ष घटस्थापनाका लागि आज बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकोछ ।
यस्तै असोज १८ गते झण्डा फेर्ने साइत छ । यस दिन बिहान ९ बजेर १४ मिनेटमा पश्चिम फर्किएर झण्डा फेर्नुपर्ने समितिले जनाएको छ ।
असोज २२ गते पचलीभैरव यात्रा र २४ गते फूलपाती छ । फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा छ । स्थिरासन बिहान ८ बजेर ४३ मिनेटमा छ । यसै दिनलाई तुलजाभवानी यात्रा पनि भनिन्छ ।
यस्तै असोज २४ गते फूलपातीको दिनदेखि सरकारी कार्यालयहरुमा दशैंको सार्वजनिक बिदा सुरु हुने भएकाले दशैंको चहलपहल पनि ह्वात्तै बढ्ने गर्द छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको छ ।
यस्तै असोज २६ गते दशैंको मुख्य दिन टीका हो । यस दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ । देवी विसर्जन गरिसकेपछि मान्यजनबाट टीका जमरा ग्रहण गरिन्छ । टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । सो दिन टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने छ । असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा छ । यस दिन बेलुकी घर–घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैँ पर्व समापन हुन्छ ।
दुर्गादेवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।
नवरात्र भनेर समेत चिनिने दशैँ विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।
यसैबीच, पछिल्लो १५७ वर्षदेखी नेपालगन्जको रामलीला मैदानमा लाग्दै आएको रामलीला मञ्चन हुदैछ । हरेक वर्ष बडा दशैँको बेला हुने रामलीला मञ्चनको सम्पूर्ण तयारी पुरा भएकोछ ।
दशैँको घटस्थापनादेखि विजयादशमीको दिनसम्म स्थानीय रामलीला मैदानमा राति ८ः०० देखि १२ः०० बजेसम्म रामलीला मञ्चन गर्ने गरिन्छ ।
रामलीला सञ्चालक समितिका अनुसार घटस्थापनाको पहिलो दिन आज दिउँसो २ बजेदेखि शोभा यात्रा निकालिदैछ । असोज १८ गते श्रीराम जन्मोत्सव, असोज २१ धनुष यज्ञ, असोज २ट गते रावण वध, असोज २७ गते भरत मिलाप र सोही दिन रामको शुभराज्याभिषेक गरिनेछ ।
धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभराज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्छ । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाएको स्थानीय अगुवाको भनाईछ ।