नेपालगन्ज १७ असोज : लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य कार्यालय, अस्पताल तथा आयूर्वेद स्वास्थ्य केन्द्रलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ ।
गत आर्थिक वर्ष २०८०–०८१ को कार्यसम्पादनको आधारमा स्वास्थ्य कार्यालयतर्फ पाल्पा प्रथम भएको छ । रोल्पा दोस्रो र गुल्मी तेस्रो भएको छ ।
यस्तै, अस्पतालतर्फ बर्दिया अस्पताल प्रथम भएको छ भने भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवल दोस्रो र अर्घाखाँची अस्पताल तेस्रो भएको छ । बदिएया जिल्ला अस्पताल यसअघि ७७, ७८, ८० मा पनि पहिलो भएको थियो । ७९ मा भने दोस्रो भएको थियो ।
आयुर्वेदतर्फ अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र प्रथम भएको छ भने लुम्बीनी आयुर्वेद चिकित्सालय दोस्रो र कपिलबस्तु आयुर्वेद चिकित्सालय तेस्रो भएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशस्तरीय समिक्षा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य कार्यालय, आयुर्वेद चिकित्सालय र अस्पतालहरुलाई पुरस्कृत गर्दै सबै अस्पताल, स्वास्थ्य कार्यालय र आयूर्वेद चिकित्सालयको सेवालाई गुणस्तरीय बनाउन निर्देशन दिए ।
‘यहाँबाट जारी भएको घोषणापत्रको अक्षरस पालना गर्दै सवै स्वास्थ्य संस्थाको सेवाप्रवाहलाई गुणस्तरीय बनाउन जरुरी छ’ उनले भने,’सबै निकायविचको सहकार्यले उत्कृष्ट बनाउन सकिन्छ ।’
प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ लाई संशोधन गरी प्रदेशका विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक्रम जिल्ला स्थित स्वास्थ्य कार्यालयमार्फत सिफारिस हुने व्यवस्था मिलाउनेगरी कार्यविधि संशोधनको तयारी समेत गरिएको जानकारी दिए ।
लुम्बिनी प्रदेशमा १२ वटा स्वास्थ्य कार्यालय, १३ वटा आयुर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र छन् । यस्तै १४ वटा अस्पताल छन् ।
स्वास्थ्य कार्यालय, आयूर्वेद चिकित्सालय तथा स्वास्थ्य केन्द्र र प्रादेशिक तथा जिल्ला तहमा रहेका अस्पतालले दिने सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टी लगायतका बिषयलाई समेटेर तयार पारिएको सूचांकको आधारमा उत्कृष्ट घोषणा गरिएको हो ।
यसैबीच, आर्थिक वर्ष २०८०–०८१ मा सम्पादित कार्य सम्पादन मूल्यांकनमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो भएकोछ ।
स्वास्थ्य कार्यालयबाट प्रदान गरिने सेवा, व्यवस्थापकीय पक्ष, कार्यालयको अवस्था र सुविधा गरी विभिन्न सूचकको प्राप्तांकका आधारमा मूल्यांकन गरिएको थियो । पहिलो हुने पाल्पाले सय अंकमा ६७.७८ अंक प्राप्त गरेको हो । भने स्वास्थ्य कार्यालय बाके ११ औं स्थान प्राप्त गरेकोछ । स्वास्थ्य कार्यालय बाँकेले ५९.५७ प्रतिशत अंक ल्याएर ११ औं स्थानमा चित्त बुझाएको हो ।