नेपालगन्ज १८ असोज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–६ सिमलघारीबाट ढाई वर्षिया नाबालिका खाने चितुवालाई नियन्त्रणमा लिइएकोछ । नाबालिका खाएको १९ दिन पछि चितुवालाई नियन्त्रणमा आएको हो । स्थानीय वीरेन्द्र पुनकी ढाई वर्षिया नाबालिका छोरी लक्ष्मी पुनलाई गत भाद्र ३० गते राती घरको आँगनबाट लगेर चितुवाले मारेको थियो ।
नाबालिका खाने चितुवालाई घटना भएको १९ दिनपछि पासो थापेर समातिएको हो । नाबालिका मृत अवस्थामा भेटिए लगत्तै बाँके र बर्दियाका वन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय चितुवाको खोजिमा लागेका थिए ।
यो पनि पढ्नुहोस् सिमलघारीका वीरेन्द्र पुनकी तीन वर्षीया छोरीको शव भेटियो
चितुवा नियन्त्रणका लागि आधुनिक खोर सामुदायिक जङ्गलमा राखिएकोमा १९ दिनपछि चितुवा खोरमा फँसेको हो । चितुवा नियन्त्रणका लागि बाँके र बर्दियाको बन तथा निकुञ्जका प्राबिधिकहरु निरन्तर खटिएका थिए ।
खजुरा गाउँपालिकाको आग्रहमा खटिएको टोलिले गयराती चितुवालाई नियन्त्रणमा लिन सफल भएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले जानकारी दिए ।
उनले अहोरात्र खटिने वन र निकुञ्जका कर्मचारीलाई धन्यबाद दिँदै स्थानीय जनप्रतिनिधि, ईलाका प्रहरी कार्यालय, गिजरा समुदायिक वन समिति लगायतलाई पनि धन्यबाद ज्ञापन गरेका छन् ।
यो पनि पढ्नुहोस् आँगनमा खेलिरहेकी वीरेन्द्र पुनकी तीन वर्षीया छोरी बेपत्ता
नियन्त्रणमा आएको चितुवालाई हाल वन डिभिजन कार्यालय बाँकेमा लगिएको छ । नियन्त्रणमा आएको चितुवालाई बर्दिया निकुञ्जमा छाड्न आग्रह गरिएको अध्यक्ष तुफानले बताए ।
बाँके निकुञ्ज छाड्दा पुनः गाउँमा आउन सक्ने भन्दै बर्दिया लैजान आग्रह गरिएको उनले बताए । सिमलघारीका बालिका खाएपछि बेपत्ता भएको चितुवा खजुरा–३ बि गाउँ र वडा नम्बर–३ को सी गाउँमा देखा परेपछि स्थानीयमा त्रास फैलिएको थियो ।