दशैंमा यात्रुको विचल्ली : १३ हजारमा पनि पाइदैन काठमाण्डौँ–नेपालगन्जको हवाई टिकट


विजय मल्ल विजय मल्ल   शुक्रबार, असोज १८, २०८१
दशैंमा यात्रुको विचल्ली : १३ हजारमा पनि पाइदैन काठमाण्डौँ–नेपालगन्जको हवाई टिकट

नेपालगन्ज १८ असोज : बाढी पहिरोको कारण प्रभावकारीरुपमा यातायातका साधन चल्न नसकेपछि यतिबेला हवाई यातायातको टिकट पाउन छोडेकोछ । लगातार तीन दिन परेको अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण प्रभावकारीरुपमा राजमार्ग सञ्चालन हुन नसक्दा हवाई टिकटको अभाव भएको हो ।

पहिरोको कारण काठमाण्डौं उपत्यकाबाट बाहिरिने र भित्रिने मुख्य राजमार्गहरूमा अवरोध भएपछि सर्वसाधरणहरू हवाई मार्गबाट जान खोज्दा हवाई टिकट पाइरहेका छैनन् । जसका कारण काठमाण्डौंबाट नेपालगन्ज आउनेहरु मर्कामा परेकाछन् । 

दशैंको मुखमा हवााई यात्रा गर्न खोज्नेहरुले टिकट नै पाउन छाडेकाछन् । उनीहरुले हप्तौदेखि नेपालगन्जका लागि टिकट काट्न खोज्दा पनि टिकट पाइरहेका छैनन् । जसले गर्दा दशैंमा नेपालगन्ज आएर टिका लगाउन नपाइने हो की भन्ने पीरले पिरोल्न थालेकोछ । 

‘दशैं मनाउन नेपालगन्जको टिकट काट्न खोज्दा पाइन् । एक हप्तादेखि प्रयास गरिरहेकी छु, कुनै पनि एयरलाइन्सको टिकट नै पाइदैन’ काठमाण्डौंदेखि नेपालगन्ज आउने लागेकी समृद्धि भण्डारीले सेतोखरीसँग भनिन् ‘१३ हजार दुई सयमा समेत टिकट काट्न खोजेकी थिएँ पाइन् । दशैं भित्रिसक्यो, नेपालगन्ज आएर दशैंको टिका थाप्न पाउने हो की होइन चिन्ता बढ्न थालेकोछ ।’

Kanti Aarogya Hospital Nepalgunj

अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले भण्डारीलाई निरास बनाएकोछ । नजिकिएको दशैँमा घर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दशैँको मुखमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ ।

यात्रुले उच्च दरमै टिकट काटेर यात्रा गर्छु भन्दा पनि हवाई टिकट पाउन सकिरहेका छैनन् । यतिबेला उपत्यकाबाट बाहिरिने र भित्रिने मुख्य राजमार्गहरूमा अवरोध आउँदा हवाई यात्राको लागि अत्यधिक टिकटको माग छ । तर, टिकट काट्न खोज्दा पाइदैन ।

‘बाढी र पहिरोले राजमार्ग भत्केकोछ । सडक यात्रा जोखिमपूर्ण र सकसपूर्ण हुनेभएपछि हवाई टिकट काट्न खोज्दा पाइएन’ काठमाण्डाँैबाट नेपालगन्ज आउन लागेकी रोश्नी बस्नेतले सोतोखरीलाई भनिन्–‘एक हप्ता भयो टिकट पाएको छैन । अहिले महंगो शुल्क तिरेर टिकट लिन खोज्यो त्यो पनि पाइरहेको छैन ।’

‘जहाजको टिकट खोजिरहेको छु, अहिलेसम्म पाएको छैन, दशैँमा कसरी घर पुग्ने हो चिन्तित छु’, उनले भनिन् । यतिखेर दशैँको टिकट जोहोका लागि एयरलाइन्स धाईरहेकी छिन् । अनलाइन बुकिङ सकिएको र सम्बन्धित एयरलाइन्सको टिकट काउण्टरमा पनि सिट नपाएर हैरानी खेप्नु परेको बस्नेतले सेतोखरीलाई सुनाइन् ।

यता राजमार्ग बन्दा हुँदा हवाई टिकटको माग अत्यधिक भएका कारण टिकटको अभाव भएको हवाई कम्पनीहरुको भनाई छ । बाढी–पहिरोले गर्दा गन्तब्यमा पुग्न सबै यात्रुको हवाई यात्रातर्फ आकर्षण भएको कम्पनीको भनाईछ ।

केही गन्तव्यको टिकट त महिनादिनअघि नै बुकिङ सकिएको छ । अहिले कतिपय नेपालगन्ज लगायतका सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ । चाडपर्वमा यात्रुले महङ्गो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती छ ।

यती, श्रीएयर र बुद्धले काठमाण्डौंदेखि नेपालगन्ज दैनिक उडान भर्दै आएकाछन् । यती एयरको तीन, श्रीएयरको पाँच र बुद्ध एयरको छ वटा विमानले काठमाण्डौं देखि नेपालगन्ज दैनिक उडान गर्छन् । तर, अधिकांश हवाई टिकट बुकिङ भइसकेको यी एयरलाइन्सले जनाएका छन् ।

हवाई टिकटको अत्यधिक माग भएको अवस्थामा गाडीको जस्तो जहाजको ‘ट्रिप’ थप्न नसकिने वायुसेवा कम्पनीहरुको भनाईछ । हाल काठमाण्डौंबाट नेपालगन्जको हवाई भाडा ‘नर्मल’ १३ हजार छ । यती एयरलाईन्सले काठमाण्डौंबाट नेपालगन्जको १३ हजार ६० रुपैयाँ लिइरहेकोछ ।

अहिले अनलाइनबाट सहज रुपमा टिकट पाइने भएकाले अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको यती एयरलाईन्स नेपालगन्जका म्यानेजर दीलिप कार्कीले सेतोखरीलाई बताए । उनका अनुसार दशैँलाई लक्षित गरेर अहिले ८० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ ।

कार्कीका अनुसार यतिबेला काठमाण्डौंबाट नेपालगन्ज आउनेहरुको उच्च चाप छ । तर, नेपालगन्जदेखि काठमाण्डौं जानेहरु मुस्किलले भेटिन्छन् ।

तुलनात्मक रुपमा हवाई यात्रा महङ्गो भए पनि सहज, सुलभ र छिटोछरितो यातायात भएकाले हवाई यात्राप्रति यात्रुको आकर्षण बढ्दो छ । कमाइका हिसाबले पनि यो मौसम उपयुक्त मानिन्छ । त्यसैले केही महँगो भए पनि हवाई यात्राका लागि अधिकांश यात्रु लालायित हुन्छन् । तर, बाढीपहिरोको कारण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भइरहेको बेला हवाई टिकट पाउन सकस भइरहेकोछ ।