कोहलपुर १८ असोज : बढ्दो सडक दुर्घटनाको जोखिम न्यूनिकरणका लागि बाँकेको कोहलपुरमा कृतिम घटनामा आधारित विपद जोखिम न्यूनिकरण तथा प्रतिकार्य अभ्यास गरिएकोछ ।
बाँकेमा सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सडक दुर्घटना सम्बन्धी कृतिम घटनामा आधारित विपद जोखिम न्यूनिकरण तथा प्रतिकार्य अभ्यास गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटर शम्शेरगञ्ज तथा जिल्ला र स्थानीय विपद व्यवस्थापन समिति लगायतका सरोकारवाला निकायसँगको सहकार्यमा सो कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न गरिएकोछ ।
जिल्ला विपद व्यवस्थापन समिति बाँकेका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बाँकेमा दैनिक २–३ वटा सडक दुर्घटनाका घटना हुने गरेको अवस्थामा यस्ता अभ्यासले दुर्घटना न्यूनिकरण गर्न अमह भूमिका खेल्ने बताए ।
उनले यस कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटर शम्शेरगञ्जमा रहेको लुम्विनी प्रदेश स्तरीय विपद् व्यवस्थापन टिमलाई विषेश धन्यबाद दिए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्टले हरेक दिन सडक दुर्घटना बढ्दो क्रममा रहेको बताउँदै यस्ता अभ्यासले सडक दुर्घटना न्यूनिकरण हुने विश्वास व्यक्त गरे । उनले सबैले सडक नियम पालना गर्न सके दुर्घटना आफै टरेर जाने कुरामा जोड दिए ।
चाड पर्वको बेलामा सडक सुरिक्षत बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल नं ४२ रिजर्भ गण हडक्वाटर शमशेरगंज बाँकेमा रहेको लुम्बिनी प्रदेश स्तरीय विपद् व्यवस्थापन टिमबाट खटिएको टोलिले सो कृतिम दुर्घटना उद्धार कार्य सञ्चालन गरेको थियो ।
कोहलपुरमा बस र म्याजिक भ्यान दुर्घटनामा परेको काल्पनिक घटनाको उद्धार कार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं ४२ रिजर्भ गण हेड क्वाटर शमशेरगञ्ज बाँकेमा रहेको लुम्विनी प्रदेश स्तरीय विपद् व्यवस्थापन टिम, नेपाल प्रहरी, जिल्ला ट्राफिक कार्यालय बाँके लगायत विपदसम्बन्धित सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
सोक्रममा सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले सफलतापूर्वक कृतिम घटना अभ्यास सम्पन्न भएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।