नेपालगन्जमा खान अयोग्य मासुको कारोबार, मो.सरिफ र दानिस फ्रेसलाई तिराइयो जरिवाना


सेतोखरी सेतोखरी   आइतबार, असोज २०, २०८१
नेपालगन्जमा खान अयोग्य मासुको कारोबार, मो.सरिफ र दानिस फ्रेसलाई तिराइयो जरिवाना

नेपालगन्ज २० असोजः नेपालगन्जमा खान अयोग्य मासुको कारोबार गर्ने दुईवटा मासु पसललेलाई कारबाही गरि जरिवाना तिराइएकोछ । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले उक्त दुई वटा मासु पसललेलाई कारबाही गर्दै जरिवाना तिराएको हो ।

संयुक्त बजार अनुगमन समितिले चाडपर्व लक्षित बजार अनुगमनका क्रममा दुई वटा मासु पसललाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । चाडपर्वको मौका छोपेर अखाद्य मासु विक्रि गर्ने क्रम बढेको जनगुनासोपछि अनुगमनलाई तीब्र पारिएको हो ।

संयुक्त बजार अनुगमनका क्रममा नेपालगन्जका विभिन्न माछामासु पसलमा खान अयोग्य १७३ केजी मासु समेत नष्ट गरिएको छ । १९ वटा मासु पसल अनुगमन गर्दा ५८ केजी खसीको मासु, १०५ केजी कुखुराको मासु र १० केजी माछा गरी कुल १७३ केजी अखाद्य मासु नष्ट गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ स्थित मो. सरिफ फ्रेस हाउसलाई २० हजार र वडा नम्बर २० स्थित दानिस फ्रेस हाउसलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख हरि बहादुर खत्रीले बताए । 

Kanti Aarogya Hospital Nepalgunj

खत्रीका अनुसार नेपालगन्ज विमानस्थलबाट कार्गोमा हुम्ला सिमकोट पठाउन लागिएको २२ केजी विषाक्त मासु समेत बरामद गरिएको बताए । यसबारे अनुसन्धान भइरहेको खत्रीले बताए । 

प्राप्त सूचनाका आधारमा अनुगमन गर्दा मासु व्यापारीको अपराधिक मनोबृत्ति उजागर भएको खत्रीको भनाई छ । ‘अनुगमन गरिएका मध्ये धेरै पसलमा समस्या थिएन, केही पसलमा देखिएको सामान्य कैफियतलाई केलाएर सचेत बनाएका छौं,’ खत्रीले भने–‘गम्भीर गल्ती गर्नेलाई ठाउँको ठाउँ कारबाही नै गरेका छौं ।’

नेपालगन्जमा चाडबाडको निहुँ पारेर कालोबजारी, चर्को मूल्य, अखाद्य तथा अयोग्य बस्तु विक्री वितरण हुने गरेकोछ । तर, नियमित बजार अनुगमन र दोषीलाई कारबाही नहुँदा मानव स्वास्थ्यलाई नै धावामा राखि उनीहरुले ब्यापार गरिरहेकाछन् । 

माछामासु जन्य वस्तुमा मात्र होइन यतिबेला सागसब्जी, तरकारी, खाद्यान्न लगायतका सामाग्रीमा मिसावट, विषादीयुक्त हुनुका साथै चर्को मूल्यमा मनपर्दी विक्री भइरहेको छ ।