राप्ती नदीबाट गोही अन्यत्र सार्न वनलाई तीन दिने अल्टिमेटम

गल्ती भयो, खोजी गर्दा फेला पार्न गाह्रो हुन्छ: डिभिजन प्रमुख श्रेष्ठ


राप्ती नदीबाट गोही अन्यत्र सार्न वनलाई तीन दिने अल्टिमेटम

राप्ती नदिमा छाडिएको गोही ।

नेपालगन्ज: डुडुवा गाँउपालिकाले जिल्ला वन कार्यालय बाँकेलाई तीन दिने अल्टिमेटम दिएकोछ । जिल्ला वन डिभिजन कार्यालय बाँकेले राप्ती नदिमा छाडेको गोहीलाई खोजेर अन्यत्र लैजान भन्दै तीन दिनको अल्टिमेटम दिएको हो ।

बाँके खजुरा गाउँपालिका उढरापुरका जागिर खानको घरबाट आईतबार उद्धार गरिएको गोही डुडुवा गाँउपालिका कम्दी स्थित राप्ती नदिको पुलमुनि छाडिएको थियो ।

जिल्ला वन डिभिजन कार्यालय बाँकेले अन्यत्रबाट गोही ल्याएर राप्ती नदीमा छाडेपछि स्थानीयले विरोध जनाएकाछन् । नदीको पुलमुनि गोही छाडेपछि स्थानीय र पशु चौपायालाई जोखिम बढेको भन्दै स्थानीयबासीले आक्रोस व्यक्त गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

राप्ती पुल छेउमा मन्दिर पनि रहेकाले त्यहाँ दैनिक मानिसहरु नुहाउने, पुजा पाठ गर्ने, पशुचौपायाले नदी तर्दा जोखिम बढेपछि विरोध शुरु भएको हो ।

स्थानीयको विरोध भएपछि गाउँपालिकाले समेत चासो देखाएर तत्काल वन कार्यालयसंग सम्पर्क गरि तीन दिनभित्र गोही खोजी गरि अन्यत्र व्यवस्थापन गर्न पत्र समेत पठाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले राप्ती नदी नजिकै गाउँबस्ती रहेकाले मानिसहरुलाई नुहाउन, तथा मानव आवत–जावत गर्ने कार्य उच्च जोखिममा परेको भन्दै सो गोही अन्यत्र छाडनका लागि पहल गरेको बताए ।

डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपत तथा जनावरको आक्रमणले बेला –बेलामा दुःखद् घटना भइरहेका बेला वन कार्यालयले गाँउपालिकासंग समन्वय नै नगरी नदिमा गोही छाड्नु कार्य जोखिमपुर्ण भएको बताए । उनले भने – यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षणछ । गोही छाड्ने बेला परामर्श गरेको भए यस्तो समस्या आउने थिएन ।

अझ दशै, तिहारमा मुर्ती विसर्जन तथा नदी छेउमा लाग्ने मेलामा गोहीका कारण झन जोखिम बढेको उनले बताए ।

यता वन डिभिजन प्रमुख मोहनप्रताप श्रेष्ठले गाउँबस्ती नजिकै छाडिएकाले जोखिम बढाएको स्वीकार गर्दै सानो गोही भएकाले नदीको बहाबसगैं बग्न सक्ने सम्भावन रहेको बताए ।

उनले त्यहाँ छोड्न नहुने गल्ती सच्चाउदै अब त्यसलाई खोजी गर्दा पनि फेला पर्न गाह्रो हुने बताए । गोहीका कारणले त्यस आसपास क्षेत्रका स्थानीय त्रसित भएका छन् ।

जिल्ला वन कार्यालय बाँकेका रेञ्जर रमेश बुढाथोकीको नेतृत्वको टोलीले उक्त गोही खजुरा गाँउपालिका उढरापुरबाट उद्धार गरी राप्तीनदीमा आईतबार छाडेका थिए । एक वर्षको उक्त गोही करिब १२ किलोको रहेकोछ ।