भेरीमा एमडी र एमएस अध्ययनका लागि २८ जनाको कोटा निर्धारण


सेतोखरी सेतोखरी   सोमबार, असोज २१, २०८१
भेरीमा एमडी र एमएस अध्ययनका लागि २८ जनाको कोटा निर्धारण

नेपालगन्ज २१ असोज : भेरी अस्पताल नेपालगन्जमा आगामी वर्षदेखि एमडी÷एमएस (पिजी) पढाइ सुरु हुने भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रतिष्ठान अन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्राजुएट (पिजी) चिकित्सक तथा नर्स अध्यापनका लागि शिक्षक दरबन्दी स्वीकृत गरेसँगै भेरी अस्पतालमा पनि एमडी÷एमएस पढाइ हुने निश्चित भएको हो ।

यो पनि पढ्नुहोस् भेरीमै हुने भयो एमडी र एमएसको पढाई, न्याम्स र भेरी अस्पतालबीच सम्झौता

‘प्रतिष्ठानका सहकुलपति समेत रहनु भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको ३१ औँ सिनेट बैठकले भेरी अस्पतालका लागि २८ वटा सिट निर्धारण गरेको छ ।’ भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट(मेसु) डा.निराजन सुवेदीले अगाडी भने –‘यो हाम्रा लागि अत्यन्तै सुखद क्षण हो । दक्ष चिकित्सक अभाव कम गर्नका लागि यो निर्णय ऐतिहासिक हुनेछ ।’

Kanti Aarogya Hospital Nepalgunj

प्रमुख मेसु डा. सुवेदीका अनुसार सिटको अनुपात बढेसँगै एमडी÷एमएस अध्ययनका लागि चिकित्सकहरु विदेश जानुपर्ने बाध्यता कम हुनेछ । यसले भेरी अस्पतालको सेवा प्रभावलाई समेत ठूलो सकारात्मक प्रभाव पार्ने भन्दै बिरामीहरुले पालो कुर्नुपर्ने अवस्थाको समेत अब समाधान हुनेमा मेसु डा.सुवेदीले विश्वास व्यक्त गरे ।  अब योग्यता पुगेका भेरी अस्पतालका कन्सल्टेन्ट चिकित्सकहरुको प्राज्ञिक पद समेत निर्धारण हुने उनले बताए ।

भेरी अस्पतालमा एमडी÷एमएस अध्यापन गराउन लामो समयदेखि प्रयास भइरहेको थियो । तर, त्यसले औपचारिक सार्थकता भने पाइरहेको थिएन् । तर, मन्त्री पौडेल आएपछि भने यसअघि न्याम्स अन्तर्गत शैक्षिक आबद्धता लिएका आंगिक कलेज भरतपुर अस्पताल, कोशी अस्पतालसँगै नारायणी र भेरी अस्पताललाई समेत आबद्धता दिने निर्णय बैठकले गरेको हो ।

यी सबै अस्पतालका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरिएकोछ । भेरी अस्पतालसंगै मेची र गेटा आँखा अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल अर्थोपेडिक अस्पतालका लागि समेत पोस्ट ग्राजुएट अध्ययनमा विद्यार्थी थप्न सघाउने गरी शिक्षक दरबन्दी थप भएको छ ।

नर्सिङ क्याम्पस, भरतपुर नर्सिङ क्याम्पस, कान्ति नर्सिङ क्याम्पस, निजामती नर्सिङ क्याम्पस तथा सशस्त्रको नर्सिङ क्यम्पसका लागिसमेत शिक्षक दरबन्दी स्वीकृत गरिएको छ । अब देशैभरका सरकारी चिकित्सा तथा नर्सिङ कलेजमा चार सयसम्म पोष्ट ग्राजुएट विद्यार्थीलाई थप अध्ययन गराउन सकिने छ ।

विद्यार्थी सिट थप्नका लागि भेरी अस्पतालमा २८, वीरमा ६३ जना, निजामतीमा ५९, सशस्त्र, कोशी र नारायणीमा २८–२८ जना भन्दा बढी फ्याकल्टी थप गर्ने निर्णय भएको छ । यस्तै नर्सिङमा पनि १२५ जना भन्दा बढी फ्याकल्टी थप गर्ने गरी दरबन्दीको निर्णय भएको छ ।

हाल प्रतिष्ठानमार्फत शैक्षिक आबद्धता लिएका सरकारी मेडिकल तथा नर्सिङ कलेजहरूमा एक सय १२ जना विद्यार्थी वार्षिक रूपमा पोस्ट ग्राजुएट अध्ययन गरिरहेका छन् । अब देशैभरका सरकारी चिकित्सा तथा नर्सिङ कलेजमा ४ सयसम्म पोष्ट ग्राजुएट विद्यार्थीलाई थप अध्ययन गराउन सकिनेछ । शिक्षक अभावमा दक्ष चिकित्सा जनशक्ति अभाव भए पनि विद्यार्थी थप गर्न नसकिएको अवस्थामा यो निर्णयले सहायता पुग्ने विश्वास गरिएको छ ।