नेपालगन्जका मिठाई अस्वस्थकर, चल्तीका पाँच पसललाई तिराइयो जरिवाना


सेतोखरी सेतोखरी   सोमबार, असोज २१, २०८१
नेपालगन्जका मिठाई अस्वस्थकर, चल्तीका पाँच पसललाई तिराइयो जरिवाना

नेपालगन्ज २१ असोज : नेपालगन्जमा खान अयोग्य मासु बेच्ने दुई व्यवसायीलाई कारबाही गरे लगत्तै चल्तीका पाँच मिठाई व्यवसायीलाई जरिवाना तिराइएकोछ ।

यो पनि पढ्नुहोस् नेपालगन्जमा खान अयोग्य मासुको कारोबार, मो.सरिफ र दानिस फ्रेसलाई तिराइयो जरिवाना

संयुक्त बजार अनुगमन समितिले नेपालगन्ज बजारका विभिन्न मिठाई पसलको अनुगमन गर्ने क्रममा अखाद्य मिठाई बेच्ने ५ वटा पसललाई जरिवाना गरेको हो । उनीहरुबाट ५५ हजार रुपैयाँ जरिवाना तिराइएकोछ ।

अनुगमनका क्रममा नेपालगन्जका अमन स्वीट पसल, खुसी मिठाई पसल, फेमस हलुवा परोठा, नेपालगन्ज मिष्ठान्न तथा बागेश्वरी मिठाई पसललाई कारबाही गरिएको हो । उनीहरुको पसलबाट अखाद्य (खान अयोग्य) मिठाइ भेटिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख हरि बहादुर खत्रीका अनुसार अमन स्वीट पसललाई २० हजार, खुसी मिठाई पसल, फेमस हलुवा परोठा र नेपालगन्ज मिष्ठान्न पसललाई १०÷१० हजार तथा माँ बागेश्वरी मिठाई पसललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यसक्रमा १६ हजार ७ सय मूल्य बराबरको मिठाई पनि नष्ट गरिएको खत्रीले बताए । 

चाडबाडको बेला अखाद्य मिठाईको विक्री वितरण भइरहेको भन्ने जनगुनासो तथा नियमित अनुगमनका क्रममा सामान्य कैफियत देखिएका पसललाई सचेत समेत बनाइएको छ । 

अनुगमन टोलीमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी टोलीको सहभागिता थियो ।