नेपालगन्ज २२ असोज : नेपाल राष्ट्र बैंकले सुकिला नोटका नाममा झुत्रिएका र मैलिएका नोट वितरण गरेको पाइएकोछ ।
यही असोज १३ गतेदेखि दशैं–तिहार पर्व लक्षित गरि सुकिला नोट वितरण सुरु गरेको हो । राष्ट्र बैंकले एकपटक बजारमा गइसकेको नोटमध्येका सुकिला नोट वितरण गर्ने बताएको थियो । तर, बैंकले त्यसो गरेको नपाइएको हो ।
नेपालगन्जको धम्बोझी चोक स्थित नेपाल राष्ट्र बैंकबाट वितरण भएका कथित सुकिला नोट झुत्रिएका र मौलिएका मात्र नभएर पुनः प्रयोग गर्न नमिल्ने नोट वितरण गरेको पाइएकोछ ।
यो पनि पढ्नुहोस्आजदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने
राष्ट्र बैंकमा सुकिला नोट साट्न आएका धेरै मानिस निराश, भावनात्मकरूपमा असन्तोष भएको बताएकाछन् । राष्ट्र बैंकको यस्तो बदमासीका कारण यसअघि नयाँ नोट लिन राष्ट्र बैंकमा ठेलमठेल लाग्ने भीडको दृष्य देखिएन ।
नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भन्दै एकपटक प्रयोगमा आएका सफा र नयाँ नोट जस्तै सुकिला नोट वितरण हुने राष्ट्र बैंकले बताएको थियो । तर, त्यसो भएन ।
यो पनि पढ्नुहोस् यसपटक दशैँमा नयाँ होइन सुकिला नोट पाइने
‘राष्ट्र बैंकले वितरण गरेको सुकिला नोट कम्तीमा वर्षदिन भन्दा बढि समय प्रयोग भएको झुत्रिएका र मौलिएका छन्,’ भुरीगाउँका सन्तोष आचार्यले भने–‘यो भन्दा त सुकिला नोट साट्न ल्याएको मेरै नोट सफा र फ्रेस छन् । यस्तो लाग्छकी सफा र राम्रा नोट बैंकका कर्मचारीहरुले निकालेर आफ्ना लागि राखे । अनि हाम्रा लागि यस्ता नोटको बण्डल बनाएर दिएका हुन् ।’
नेपालीलाई दशैंमा नयाँ नोट नभई हुँदैन तर, नोटलाई मैला र झुत्रो बनाउने पनि दशैंले नै हो । तर, सुकिला नोटका नाममा राष्ट्र बैंकले झुत्रिएका, मैलिएका र पुनः प्रयोग गर्न नमिल्ने अवस्थाका नोट वितरण गरेको हो ।
‘दशैँमा नयाँ नोट साट्ने परम्परा नेपाली संस्कृतिमा गहिरोरूपमा गाँसिएको छ र नयाँ नोट जारी नगर्दा धेरै मानिस निराश, भावनात्मकरूपमा असन्तोष र बच्चाहरू नरमाउने भएकाछन् ।’ कोहलपुरका पुष्कर खड्काले भने–‘जनता झुक्याउने काम भयो । सुकिला नोटका नाममा यस्तो बद्मासी गर्ने । यो भन्दा त मेरै टोलका पसलमा पाइने नोट सफा र राम्रा छन् ।’
यतिमात्र होइन राष्ट्र बैंकबाट वितरण भएका सुकिला नोटमा कसैका नाम, मोबाइल नम्बर र केरमेट गरिएका छन् । फोहोर र गलेका जस्ता नोटलाई नै नेपालगन्ज राष्ट्र बैंकले वितरण गरेकोछ ।
यस विषयमा नेपालगन्जको धम्बोझी चोक स्थित नेपाल राष्ट्र बैंकका एक कर्मचारीले हामीलाई यस्तै नोट प्राप्त भएकाले सोही वितरण गरेको बताएकाछन् ।
दशैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैङ्कमार्फत सटही व्यवस्था मिलाइने भनिएको थियो । तर, राष्ट्र बैंकले यस्तो नोट पठाएपछि हामीले दशैंका लागि नयाँ नोट वितरण नै नगरेको नाम नछाप्न भन्दै नेपालगन्जस्थित एक विकास बैंकले सेतोखरीलाई जानकारी दियो ।