चन्द्रबहादुरको हत्या आरोप लागेका अनिल राप्तीसोनारीबाट पक्राउ


सेतोखरी सेतोखरी   मंगलबार, असोज २९, २०८१
चन्द्रबहादुरको हत्या आरोप लागेका अनिल राप्तीसोनारीबाट पक्राउ

नेपालगन्ज २९ असोज : बडादशैँको राति एक पुरुषको टाउको छिनाएर सेफ्टीट्याङकिमा लुकाएको आरोप लागेका अनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ । 

कोहलपुरका चन्द्रबहादुर कामीको टाउको छिनाएर फरार आरोपित परियारलाई बाँकेको राप्तीसोनारीबाट प्रहरीले पक्राउ गरेको हो । रोल्पा जिल्ला माडी गाउपालिका वडा नम्बर–६ बस्ने २४ वर्षीय अनिल परियारलाई चन्द्रबहादुरको हत्या अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परियारलाई राप्तीसोनारी गाउँपालिका–१ तिनघारी टोल स्थित भौवानाका जाने बाटोको दाँयातर्फ रहेको तिर्थमाली परियारको घर किनारमा रहेको शौचालयबाट आज बिहान ८ बजे पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा खटि गएको प्रहरी टोली र ईप्रका कुसुम, बाँकेबाट प्रहरी नायब निरीक्षक मोहनलाल ओलीको कमाण्डमा खटि गएको प्रहरी टोलीले परियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मृतक कामीको टाउको घटनास्थलबाट करिब ५ सय मिटर पूर्वउत्तरमा अनिलको दिदी नाता पर्ने सुनिता परियारको घरको सेफ्टीट्याङकीमा गएरातीमात्रै फेला परेको थियो ।

अनिल पाहुना पर्न सुनिताकोमा आएको बताइएको छ । हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितलनगरमा हत्या गरिएको अवस्थामा शनिबार राति कामिको टाउको नभएको अवस्थामा शव फेला परेको थियो ।

हत्या आरोपी अनिललाई हिरासतमा लिएर घटनाको बारेमा थप अनुसन्धान अघि बढाएको बाँके प्रहरीले जनाएकोछ ।