बाँकेका ४६ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
बाँकेका ४६ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

नेपालगन्ज २ कार्तिक : आजदेखि देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत देशभरका बालबालिका आज र भोलि भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको भए ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुट खोप लगाइने छ। साथै मन्त्रालयले थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

यसैबीच, बाँकेमा भिटामिन ‘ए’ खाने छ देखि ५९ महिना उमेरसम्मका ४६ हजार ४८० जना बालबालिका रहेकाछन् । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार ४१ हजार १९६ जना बालबालिकालाई जुकाको औषधी पनि खुवाइदैछ । एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने श्रेष्ठले बताए ।

बाँके जिल्लाका ८ वटा पालिकामध्ये सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा १२ हजार १५ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइदैछ भने १० हजार ६२१ जना बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ ।

Kanti Aarogya Hospital Nepalgunj

सबैभन्दा कम जानकी गाउँपालिकाका ४ हजार १३ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल र ३ हजार ५४८ बालबालिकालाई जुकाको औषधि खुवाइदैछ ।

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन जिल्लाभर ७ सय ८५ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ । जसमध्य नेपालगन्ज उपमहानगरपालिकामा १९६, कोहलपुर नगरपालिका ७१, राप्ती सोनारी गाउँपालिकामा ११०, खजुरा गाउँपालिकामा १०८, जानकी गाउँपालिकामा ८१, नरैनापुर गाउँपालिकामा ६८ जना स्वयम्सेविका परिचालन गरिएकोछ ।

यसैगरी  डुडुवा गाउँपालिकामा ५९ र बैजनाथ गाउँपालिकामा ९२ जना स्वयम्सेविका परिचालन गरिएको सूचना अधिकारी श्रेष्ठले बताए । भिटामिन ए क्याप्सुल र जुकाको औषधि सबै पालिकामा पठाइसकिएको श्रेष्ठले बताएका छन् ।