‘निर्दयी’ मेयर !

जसका कारणले ३७ गाई–गोरु बाटोमै मर्न पुगे


‘निर्दयी’ मेयर !

नेपालगन्ज : नेपालको राष्ट्रिय जनावर गाई हो भन्नेमा दुविधा भएन । गाईलाई हामी आमा मान्छौं । त्यसमा पनि दुविधा भएन । हिन्दुधर्मावलम्बिले गाईको पुजाआजा नै गर्छन् ।

कुनै पनि अशुभ कार्यबाट शुद्ध हुँदा गाईको पिसाव खाएर अनि छर्केर शुद्ध हुने चलन छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा पनि हिन्दु नै हुन् । त्यति मात्र कहाँ हो र, राणाले यहि गाई चिन्हबाट नै चुनाव जितेर मेयर भएका हुन् । अहिले त्यहि गाई मेयर राणाको गलामा पासो बनिरहेको छ ।

दुई बर्ष अघिदेखि नेपालगन्जमा छाडा गाई–गोरुहरु देखा पर्न थाले । त्यसको संख्या दिनानु दिन थपिदैं गयो । कहाँबाट गाई–गोरु यसरी आईरहेका छन् । शुरुमा त कसैले पत्तो पाउन सकेनन् । पत्ता लगाउदै जाँदा ती गाई–गोरु त भारतबाट लखेटिएर नेपालगन्ज आईपुगेका रहेछन् । जुनसुकै कारणले होस्, जब भारतबाट सीमा भएर वेवारिसे गाई–गोरु नेपाल भित्रिन थाले त्यसपछि नेपालगन्जवासीमा अलि चलमल हुन थाल्यो ।

जसरी गाई–गोरुको संख्या नेपालगन्जका सडकमा बढ्दै गयो, त्यसरीनै दुर्घटनाको संख्या पनि बढ्दै गयो । नेपालगन्जको मुख्य सडकमा झुण्ड–झुण्डमा गाई, गोरु, बाच्छा, बाच्छीहरु प्रशस्त मात्रामा देखिन थाले । दुर्घटना बढ्दै गयो । तर, नेपालगन्ज उपमहानगरपालिकालाई खासै चासोको बिषय भएन । शुरुमा मेयर राणाले ट्राफिकको सहयोगमा श्रमिकहरु लगाएर गाई–गोरुहरु जम्मा गर्ने धपाउने काम गरे । त्यसो गर्दा पनि उपाए लागेन ।

Kanti Aarogya Hospital Nepalgunj

गाई–गोरुलाई ट्रकमा राखेर एक वर्ष अघिनै बाँके राष्ट्रिय निकुञ्जमा छोड्ने काम पनि गरियो । तर, छाडा गाई–गोरुबाट वन्यजन्तुमा संक्रामक रोग सर्न सक्ने भन्दै निकुञ्जले रोक मात्र लगाएन की जङ्गलमा छोड्न गएका गाई–गोरु मान्छे गाडी सहित निकुञ्जले थुनेर राख्यो । आईन्दा नछोड्ने भनि कागज गरेपछि थुनामुक्त गरियो । छाडा पशु चौपाया नियन्त्रण गर्ने मेयर राणाको पहिलो योजना नै विफल भयो ।

यति हुँदा पनि मेयर राणाले छाडा गाई–गोरु व्यवस्थापन प्रति गम्भीर रुपले लागि परेनन् । उनको ध्यान नगरको अन्यतिर नै केन्द्रित रह्यो । झन्–झन् दिनानुदिन सडकमा छाडा गाई–गोरुहरु बढ्दै गए । सवारी दुर्घटना उत्कर्समा पुग्न लाग्यो । गाई–गोरुमा सवारीसाधन ठोक्किएर मान्छेहरुको मृत्यु हुन थाल्यो । गाई–गोरुको झुण्डले ठाउँ –ठाउँमा सवारी जाम हुन थाल्यो ।

मेयर राणाले छाडा गाई–गोरु व्यवस्थापन गर्ने दोस्रो योजना ल्याए । त्यो थियो कान्जिहाउस । नेपालगन्जको फुल्टेक्रामा अस्थाई रुपमा तारबार गरेर मेयर राणाले कान्जिहाउस तयार पारे । सबै गाई–गोरु कान्जिहाउसमा हुलेपछि अब त मुक्ती पाईन्छ भन्ने मेयर राणालाई लाग्यो होला । अनि उनले सडकमा रहेका गाई–गोरु लग्दै कान्जिहाउस भित्र हुल्न थाले ।

कान्जिहाउस भित्र गाई–गोरुको संख्या झण्डै १ हजार पुग्यो । ४४, ४५ डिग्रीको नेपालगन्जको तापक्रम, नांगो रुखो जमिन, न पानी न छहारी हरियो भन्ने कतै छैन । २, ४ वटा टिनको टहरामा १ हजार गाई–गोरु कहाँ अट्ने । कसरी सके मेयरले त्यस्तो ठाउँमा लगेर गाई –गोरु हुल्न ।

नाम मात्रको कान्जिहाउसमा कैद गरेर राखिएका गाई–गोरुहरुले न पानी नै खान पाए, न आहारा । माथिबाट टन्टलापुर गर्मी तल तातीएको जमिन, खुला आकाशमुनी भोक–भोकै गाई–गोरुहरुलाई कैद गरिएपछि गाई–गोरुहरु भकाभक मर्न थाले । कुपोषण लागे जस्ता देखिने विसुन–सुकाए जस्तै कान्जिहाउसमै गाई–गोरु खान नपाएर यत्रतत्र ढलेका देखिन्थे । तपाईको मनले कसरी मान्यो मेयर साब खाना र पानी नदिएर नङ्गो चौउरमा गाई–गोरुलाई कैद गरेर राख्न ? ४५ डिग्रीको तापक्रममा पानी समेत खान नपाएर गाई–गोरु छट्पटाई–छट्पटाई मर्दा के तपाईको आँखाबाट आँशु झरेन् मेयर साब ? आफ्नी आमालाई कैद गरेर राखे जस्तो लागेन मेयर साब तपाईलाई ? त्यहि गाईले तपाईलाई मेयर पदमा पु¥याएको होइन् र मेयर साब ?

कान्जिहाउसभित्र दैनिक गाई–गोरु मर्न थाले । दैनिक गाई मर्न थाल्दा धेरैको मन रोयो । गाई बचाउन कतिले घाँस लिएर कान्जिहाउसभित्र पुगे, कोही औषधी लिएर बिरामी गाईको उपचार गर्न पुगे । मेयर राणा र उपमेयर उमा थापामगर दैनिक गाई मरेको टुलुटुलु हेरिरहे । तारबारको घेराबन्दिमा घाँस र पानी खान नपाएर गाई–गोरु बाच्छा बाच्छिहरु छट्पटाएर मरिरहेको देख्दा त्यहाँ पुगेका जो कोही पनि नरोएर नफर्किने हुँदैनथे । कसैले थाहा नपाउन् भनेर गुपचुपमा उपमहानगरले टिपरमा लोड गरी मरेका पशु फाल्न थाल्यो ।

खान नपाएर पशु मरिरहेको खबर थाहा पाएपछि फेसबुकमा रहेको नेपालगन्ज ग्यालरीमा आबद्ध युवाहरुको समुहले निजीस्तरबाट कान्जिहाउसमा गई–गाईहरुलाई हरियो घाँस खुवाउन थाले । यसरी कान्जिहाउसमा लगेर घाँस खुवाउनेको संख्या बढ्दै गयो । तर, त्यो समयमा नेपालगन्ज उपमहानगरपालिकाले एक मुठा घाँस लगेर खुवाएन । कान्जिहाउसमा लगेर गाई–गोरु थुनेर राखेपछि सडकमा हुने छाडा गाई–गोरुको समस्या समाधान हुन्छ भन्ने मेयर राणाको दोस्रो योजना पनि फेल खायो ।

तर, कान्जिहाउसमा थुनेर राखेका गाई–गोरु मर्न छोडेनन् । चौतर्फी आलोचना भइरह्यो । उनले कान्जिहाउस कसैले चलाउँछ भने नगरपालिकाले पैसा दिन्छ भन्दै धेरैलाई गुहारे । यो उनको झन् कच्चा योजना थियो । मेयर राणा छाडा गाई–गोरु व्यवस्थापनको चर्को दवावमा परे ।

अनि गाई नै उनका लागि घाँडो हुन पुग्यो । त्यसपछि मेयर राणा कसैको सल्लाहमा हिंडे । गुपचुपमा तेस्रो योजना बन्यो । त्यो थियो कान्जिहाउसका गाई ट्रकमा लोड गर्ने र दैलेखको श्रीस्थान जङ्गलमा छोड्ने । यो योजनामा पनि त्यहाँको गाउँपालिका र राजनीति गर्नेहरुलाई लोभ देखाइयो ‘दुध दिने खाले गाई छन् अनि हलो जोत्ने खालका गोरुहरु छन् जनतालाई बाँड्दा तपाईहरुलाई फाईदानै हुन्छ भनेर’ । टेलिफोनबाट मौखिक रुपमा गाउँपालिका गाई–गोरु ल्याउन दिनेमा सहमत भयो । अनि मेयर राणाले ट्रकको व्यवस्था गरि कान्जिहाउसमा गाई–गोरु लोड गर्न पठाए । व्यवस्थापनको उपाए आफैले अपनाउन छोडेर दैलेख लगेर गाई–गोरु छोड्ने मेयर राणाको निर्णय यहींनिर गलत थियो ।
गत बिहिवार राति ८ वटा ट्रक कान्जिहाउस पुगे । ट्रक, चालक र सहचालक पशु लोड गरिरहेका जानकार थिए । ट्रकका चालक र सहचालकका अनुसार, ती ट्रकमा राम्रासँगै मर्न थालेका, विरामी, अशक्त गाई–गोरु, बाच्छा, बाच्छी पनि लोड गरियो ।

लापरबाहिको शुरुवात नै यहींबाट हुन्छ, कुन योजनामा बिरामी र मर्न लागेका गाई–गोरुलाई ट्रकमा लोड गर्न पठाए मेयर राणाले ? गाईलाई आमा मान्ने अनि घरमा बिरामी परेकी आमालाई उपचार गर्नुको साटो मशानघाटमा लगेर फाले जस्तै भएन र मेयर साब ? गाई अंकित झण्डा र्फफराउने, गाई अंकित पोष्टर र पम्पलेट भित्तामा टाँसेर चुनावको प्रचार–प्रसार गरेर चुनाव जित्नु भयो, विरामी गाईको उपचार गर्न छोडेर ट्रकमा लोड गरी त्यहि गाईलाई कसरी मार्न पठाउन सक्नु भयो मेयर साव ?

यसरी ८ वटा ट्रकमा क्षमता भन्दा बढी लोड गरी २ सय ९१ गाई –गोरु जसरी मेयर राणाले पठाए, ती मध्ये बिरामी अशक्त गाई–गोरु बाटो भरी मर्दै गए । अनि ट्रक चालकले मरेका गाई–गोरु केही भिरबाट फाले त केही समथर ठाउँमा फाले । सुर्खेतको भेरी पुल छेउबाट दैलेख जाने बाटोमा पर्ने कट्कुवा वरिपरिसम्म ६ ठाउँमा ३७ वटा मरेका गाई–गोरु ट्रकवालाले फाले । बाँकी जीवत गाई–गोरु कट्कुवाको पिपलचौतारी छेउको चौउरमा झारे । दैलेख लग्न भनि नेपालगन्जबाट लोड गरिएका गाई–गोरु किन बिचबाटो मै झारियो ? कसको निर्देशनमा झारियो ? यो गम्भीर बिषय हो ।

नेपालगन्जबाट छाडा गाई–गोरु व्यवस्थापन गर्ने मेयर राणाको तेस्रो योजना पनि सफल हुन सकेन । काञ्जिहाउसमा रहेका गाई–गोरु नेपालगन्जबाट दैलेख पठाउने मेयर राणाले निर्णय गर्नु, उपचार गर्नुको साटो मर्न लागेका बिरामी अशक्त गाई–गोरु ट्रकमा लोड गरिनु, बिचबाटो मै ३७ गाई–गोरु मर्नु, बाटोभरि फाल्दै जानु र दैलेख नपु¥याई बिचबाटोमै सबै गाई–गोरु झारिनु यसको सम्पूर्ण जिम्मेवारी मेयर राणाले लिनु पर्छ । मेयरका कारण नै यति धेरै संख्यामा गाई–गोरु मर्न पुगेका छन् ।

काञ्जिहाउसमा करिब ७ सयको संख्यामा अझै गाई–गोरु छन् । तर, दयनीय अवस्थामा छन् । उचित व्यवस्थापन नहुँदा काञ्जिहाउसमै गाई–गोरुहरु अहिले पनि मरिरहेका छन् ।

छाडा गाई–गोरु नेपालगन्जबाट डाँडो कटाउन खोज्नु उचित समाधान थिएन । समाधान यहिँ खोजिनु पथ्र्यो । चारैतिर आलोचना छ, निर्दयी मेयर भनेर । कतिले त भिरबाट गाई–गोरु खासालेको पनि मेयरमाथि आरोप लगाएका छन् । आफुलाई मेयर पदमा पु¥याएको त्यहि गाई मेयर राणाको लागि अहिले गलाको पासो बनेको छ ।