सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ परे

लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान गरिने


सेतोखरी सेतोखरी   ३ घण्टा अगाडि
सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ परे

नेपालगन्ज २ असोज : सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रिय कार्यालयबाट शुक्रबार बेलुका लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरो खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

लामिछानेलाई शुक्रबार बुलेका नै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ ।

Kanti Aarogya Hospital Nepalgunj

सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्वअध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो । पीडितहरुले २२ माघ २०८० मा सभापति लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा फेरि पुरक जाहेरी दिए ।

सहकारीको रकम ग्यालेक्सी टिभीमा लगेर अपचलन गरेको खुलेपछि उनीहरुले लामिछानेसहितलाई प्रतिवादी बनाएर अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकृतले बताए । यद्यपि, त्यसबेला अनुसन्धान अघि बढेको थिएन ।

त्यहीबीच प्रतिनिधिसभामा नेपाली काँग्रेसले सहकारी ठगीको मामलामा संसदीय समिति गठन गरेर छानबिन हुनुपर्ने माग निरन्तर राखिरह्यो ।

लामो गतिरोधपछि एमाले सांसद् सुर्य थापाको नेतृत्वमा १५ जेठमा सहकारी समस्याबारे छानबिन गर्न एमाले सांसद् सुर्य थापाको नेतृत्वमा संसदीय विशेष समिति गठन भयो । समितिले सहकारीको रकम अपचलनमा लामिछानेलाई समेतलाई दोषी ठहर गर्दै ४ असोज २०८१ मा प्रतिवेदन बुझायो ।

प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै कास्की प्रहरीले यो मामलामा अनुसन्धान अघि बढाएको थियो । तर, लामिछाने नेतृत्वको रास्वपाले भने प्रतिवेदनले उनलाई ‘क्लीन चिट’ दिएको दाबी गरेको थियो ।

प्रहरीले भने प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई ६ असोजमा ‘जरुरी पक्राउ पूर्जी’ दिएर काठमाडौंबाट नियन्त्रणमा लियो ।

जोशीको परिवारले सर्वोच्च अदालतमा पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दिएको थियो । अदालतले १६ असोजमा उनलाई गैरकानूनी हिरासतमा राखेको भन्न नमिल्ने ठहर ग¥यो । यद्यपि, दशैं बिदा सुरु हुन लागेको भन्दै धरौटी वा तारेखमा छाड्न ध्यानाकर्षण गराएको थियो ।

तर, कास्की प्रहरीले जोशीलाई छाडेन । ग्यालेक्सी टिभीबाट रवि बाहिरिनु अघि नै छविलालले गोर्खा मिडिया नेटवर्क छाडिसकेका थिए ।

सहकारीको रकम आएका बेला लामिछाने पनि नेटवर्कमा सञ्चालक रहेको भन्दै संसदीय समितिको प्रतिवेदन समेतलाई आधार मानेर प्रहरीले पुरक अभियोग लैजाने तयारीसहित रविलाई पक्राउ गरेको हो ।

लामिछाने ‘स्वेट शेयर’का रुपमा १५ प्रतिशत शेयर लिँदै २०७७ सालमा सञ्चालकका रुपमा गोर्खा मिडिया नेटवर्कमा प्रवेश गरेका थिए । तर, संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उनले लिएको भनिएको स्वेट शेयरमाथि पनि प्रश्न उठाइएको छ ।

‘रवि लामिछानेले आफूलाई स्वेट शेयर दिएको भनी बताएता पनि प्रथमः स्वेट शेयर सम्बन्धी कानूनी प्रबन्ध नेपालमा रहे वा भएको नदेखिएको तथा निज सञ्चालकहरुका बीचमा एकापसमा श्वेट शेयर लिने–दिने सम्बन्धमा कुनै सम्झौता भएको लिखत प्रमाण समेत रहे भएको अवस्था देखिँदैन’, प्रतिवेदनमा भनिएको छ ।

लामिछानेले चुनाव लड्ने भन्दै १ असार २०७० मा गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टिभी छाडेका थिए ।

टिभीका मुख्य सञ्चालक एवं सहकारी ठगी प्रकरणका मुख्य आरोपी जिबी राई हालसम्म फरार छन् । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी छ । उनी मलेसियामा रहेको आशंका छ । यद्यपि, हालसम्म पक्राउ परेका छैनन् ।

लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको मुद्दा

रास्वपाका सभापति लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन भनिएको छ ।

कृष्णप्रसाद जैसीसमेतको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा अघि बढेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको पत्रमा उल्लेख छ ।

‘पक्राउ अनुमति प्राप्त भए पश्चात निज प्रतिवादीको खोजतलास गरी फेला परेमा पक्राउ गरी यस कार्यालयमा पठाइदिनु हुन सादर अनुरोध गरिएको छ’, कास्कीका डीएसपी वसन्तकुमार शर्माले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ ।

रविसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको छ।

कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जसमा लामिछानेका साथै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल छन् ।

त्यसैगरी देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजि पक्राउ पुर्जी जारी भएको हो ।