डुडुवाको एउटै वडाका ४७ जनामा मोतियाविन्दु


सेतोखरी सेतोखरी   ७ घण्टा अगाडि
डुडुवाको एउटै वडाका ४७ जनामा मोतियाविन्दु

नेपालगन्ज ४ कार्तिक : नेपालगन्ज सहरसँग जोडिएको बाँकेको डुडुवा गाउँपालिका–६ मा २२० जनाको निःशुल्क आँखा परीक्षण गर्दा ४७ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । 

भिजन आँखा अस्पताल नेपालगन्जको आयोजना, किभा फाउण्डेसन र डुडुवा गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा ९० जना पुरुष र १३० जना महिला गरेर कुल २२० जना बिरामीको आँखा जाँच गरिएको थियो ।

हिरमिनिया स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ४७ जनालाई मोतियाविन्दुको समस्या देखिएको कार्यक्रम संयोजक बिज्रेश मिश्रले जानकारी गराए । उनका अनुसार यो सङ्ख्यामा २७ जना पुरुष र २० जना महिला रहेका छन् ।

शिविरमा परिचालित स्वास्थ्यकर्मीका अनुसार सबैभन्दा बढी मोतियाविन्दुको समस्या देखिएको छ । अन्य बढी जसो सामान्य समस्या भएको बिरामीले सेवा लिएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रम संयोजक मिश्रका अनुसार डुडुवा गाउँपालिकाका विभिन्न स्थानमा नियमित रूपमा कात्तिक १५ सम्म कार्यक्रम सञ्चालन हुनेछ । आँखाको समस्या भएकालाई सम्बन्धित औषधी शिविरमै पाउने र चस्मा पनि सहुलियत मूल्यमा पाउने व्यवस्था गरिएको किभा फाउन्डेसनका उपाध्यक्ष रामदिन मोदीले बताए । उनले आँखाको अप्रेसन गर्नुपर्नेमा भिजन आँखा अस्पतालले ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने तरिकाले सहकार्य भएको बताए ।

यस्तै, अस्थायी स्वास्थ्य केन्द्र दलैपुर र कम्दी स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुनेछ ।